बाढीले क्षति गरेको खिम्ती-लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै – Nepal Press

बाढीले क्षति गरेको खिम्ती-लामोसाँघु प्रसारण लाइन इआरएस टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । गत असोजको १२ र १३ गतेको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपतकालीन पुनर्स्थापना गरी टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ ।

तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका-१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो ।

टावर बगेपछि ४ वटा टावरको तार (कन्डक्टर) मा पनि क्षति पुगेको थियो । टावर बगाएपछि उक्त लाइनबाट १३ असोजबाट विद्युत् प्रवाह बन्द छ । यसबाट खिम्तीबाट काठमाडौं उपत्यकाको प्रसारण लाइन लिङ्क टुटेको छ । उक्त लाइनबाट करिब २०० मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण प्रसारण लाइन हो । उक्त लाइनबाट आएको विद्युत्लाई लामोसाँघु–भक्तपुर प्रसारण लाइन हुँदै काठमाडौं उपत्यकामा आपूर्ति गरिन्छ ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी नदी जनाधार क्षेत्रमा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत् लामोसाँघु–खिम्ती–ढल्केबर हुँदै भारततर्फ निर्यात हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘खिम्ती-लामोसाँघु प्रसारण लाइन बन्द हुँदा विद्युत् प्रणालीको विश्वसनीयतामा असर परेको छ । भारततर्फको विद्युत् निर्यातसमेत प्रभावित भएको छ । त्यसैले इआरएस संरचनाको प्रयोग गरी लाइनलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन लागिएको हो । अहिले इआरएसमार्फत लाइन चलाएर बाढीले बगाएको टावरको सट्टा अर्को स्थायी टावर निर्माण गरिने छ ।’

प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि इआरएस टावर जडान गरिसकिएको छ । इआरएस टावर राख्न लागेपछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै काममा अवरोध गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर