नेपाल ग्रे जोनमा नजाने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन – Nepal Press

नेपाल ग्रे जोनमा नजाने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो ।

बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ । अनुसन्धान र अभियोजनलाई तीव्र पारी नियमावली पारित गरे नेपाल ग्रे जोनमा नपर्ने बैठकका सहभागीहरूको थियो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताले अनुसन्धान र अभियोजनका कार्यलाई अघि बढाउने उल्लेख गर्दै नेपाल ग्रे जोनमा नजाने गरी कार्यहरू गर्न निर्देशन दिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ग्रे जोनमा नपर्नका लागि आवश्यक कानून बनाउन र भएका कानूनमा सुधार गर्न मन्त्रालय सक्रिय रहेको बताए ।

बैठकमा महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, मन्त्रालयका सचिवहरू, नियमनकारी निकायका प्रतिनिधिलगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर