पाशुपत क्षेत्रलाई ईसाईकरण गरिएको आरोप, सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराएको दाबी – Nepal Press

पाशुपत क्षेत्रलाई ईसाईकरण गरिएको आरोप, सुदन किराँतीले पशुपतिको जग्गामा चर्च सञ्चालन गराएको दाबी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको जग्गामा क्रिश्चियन मिसनरी र चर्च सञ्चालन गर्न दिएको भन्दै हिन्दू राष्ट्र स्वाभीमान जागरण अभियानले सरकारसमक्ष विरोध जनाएको छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिको जग्गामा रहेको कालोपुलको ज्ञानेश्वर चर्च फेरि सञ्चालन गराएको अभियानले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली अध्यक्ष रहेको सो अभियानले आइतबार संस्कृतिमन्त्री बद्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै आराध्यदेव पशुपतिनाथ क्षेत्र र त्यसअन्तर्गतको जग्गाजमिन ईसाईहरुका लागि दिइएकोमा फिर्ता गर्न माग गरेको छ ।

पशुपति क्षेत्र विकास कोषको नेतृत्वले विवादास्पद र बेथितिपूर्ण काम गरिरहेको भन्दै अभियानले सनातन धर्मका साथै नेपाल-भारत सम्बन्धलाई समेत नकारात्मक प्रभाव पर्ने कार्य रोक्न मन्त्रीको ध्यानाकर्षण गराएको महासचिव देवेश झाले जानकारी दिए ।

सो अभियानले पशुपति क्षेत्र विकास कोषको मातहत रहेको त्रिशुल÷डमरु अकित जग्गालाई मदर टेरेसा ट्रस्टअन्तर्गत पर्ने मिसनरी अफ च्यारिटी चर्च, ज्ञानेश्वर चर्च सञ्चालन गर्न दिएको दाबी गरेको छ ।

त्यस्तै कालोपुलको ज्ञानेश्वर चर्चलाई स्थानीय हिन्दू समाजबाट सञ्चालन रोक लगाएकोमा तत्कालीन मन्त्री सुदन किराँतीबाट फेरि सञ्चालन गराएको दाबीसमेत अभियानको छ ।

सर्वोच्च अदालतबाट निषेध भए पनि पाशुपत क्षेत्रभित्र रहेको मृगस्थलीमा ईसाईहरुलाई चिहान बनाउन दिएको तथा पशुपति मन्दिर परिसरभित्र बाइबल वितरण गर्न खोज्दा पनि कारबाही नभएको आरोप छ ।

सो अभियानले पशुपति परिसरभित्र क्रिश्चियन धर्मावलम्बीहरुलाई कर्मचारी नियुक्त गरेर मन्दिरको पवित्रता संकटग्रस्त बनाएको आरोप लगाएको छ ।

सो अभियानले पशुपति विकास कोषका विकृति र धर्मविरोधी क्रियाकलापकै बीच गौशाला धर्मशालालाई विघटन गराएर सनातन धर्मलाई कमजोर बनाउन खोजिएको आरोपसमेत लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर