‘तराईको काठे भालुलाई अस्ट्रेलियाको कंगारु जस्तै पर्यटनमा जोड्न सकिन्छ’ – Nepal Press

‘तराईको काठे भालुलाई अस्ट्रेलियाको कंगारु जस्तै पर्यटनमा जोड्न सकिन्छ’

काठमाडौं । नेपालमा हिमाली क्षेत्रमा रातो भालु पाइन्छ । पहाडी क्षेत्रमा कालो भालु र तराई क्षेत्रमा काठे भालु । राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रमेशप्रसाद पौडेलले आफ्नो खोजको विषय तराईको काठे भालु बनाए । यसमा पनि उनलाई कोषका सुपरभाइजर डाक्टर नरेश सुवेदीले जापानी अनुसन्धानकर्तासँग जोडिएर सहज भएको हो । जापानी अनुसन्धानकर्ता सुबोटासँग जोडिएर उनले यसतर्फ काम सुरु गरे । यो सुरुवातले उनलाई विद्यावारिधिसम्म पुर्‍यायो ।

जापान सरकारले दिएको मेक्स्ट छात्रवृत्तिबाट उनले काठे भालुमै विद्यावारिधि गरे । जापानको होकाइदो विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले शोध काठे भालुमै गरे । पौडेलले विभिन्न खोजमूलक लेखहरु लेखेका छन् ।

पौडेल नेपालमा बाघ तथा गैंडाको जस्तो स्तरमा काठे भालुको क्षेत्रमा काम नभएको बताउँछन् । चितवन, पर्सा र बर्दिया राष्ट्रिय निकुञ्जमा नेपालमा पाउने काठे भालु दक्षिण एसियामा भारत र श्रीलंका पाइन्छ । यसलाई जोगाउन त्यति धेरै काम नभएको पौडेल बताउँछन् । भन्छन्, ‘बाघ र गैंडा जोगाउनलाई काठे भालुको संरक्षण जरुरी छ । हाम्रो संरक्षणका कदम र प्राथमिकताहरुले यथार्थमा धेरै परिवर्तन गरेका छैनन् ।’

काठे भालुलाई संकटापन्न हुनको लागि प्राकृतिक तथा मानवीय कारण दुवै छन् । जल सतहको परिवर्तन, घाँसै मैदानको ह्रास र मिचाहा प्रजातिको कारण काठे भालुमा समस्या भएको पौडेल बताउँछन् । काठे भालुलाई शिकार गर्ने बाघमात्रै भएको भन्दै बाघको संख्या बढ्दा त्यसले समस्या हुने उनको भनाइ छ । उनी भन्छन्, ‘बाघको क्षेत्रमा बाघ संख्या बढ्दा काठे भालुको संख्यामा गिरावट हुनसक्छ ।’

काठे भालुले सातदेखि नौ महिना आफ्नो बच्चा ढाडमा बोकेर हिँड्छ । यो कताकता कंगारुको जस्तै चरित्र देखिन्छ । गुफामा बच्चा जन्माउन पसेको काठे भालुको पोथी तीनदेखि आठ हप्तासम्म बाहिर ननिस्किने आनीबानी देखिन्छ । काठे भालुको अगाडिका दाँत हुँदैनन् । यीबाहेक काठे भालुका अरु अनौठा बानीहरु हुन्छन् । जस्तैः काठे भालुले मौहा नामको जंगली फल खाएर मात्ने गर्छन् ।

एक पटक चितवनको माडीमा काठे भालुले ९० बाख्रापाठा खायो । काठे भालुले बाघ तथा चितुवा जस्तो शिकार गरेर खाने बानी नहुने भएकोले यो घटनालाई पौडेल दुर्लभ घटना मान्छन् । भन्छन्, ‘मेरो अध्ययनमा ९० प्रतिशत खानपानमा काठे भालुले धमिरा, कमिलाहरु खान्छ । नाकमा भएको रौंले यसले धमिरा र कमिलालाई भित्र जान दिँदैन ।’

काठे भालुको औसत आयु ४० वर्ष हुन्छ । तौल ८० किलोभन्दा धेरै हुने देखिएको छ । पौडेल अस्ट्रेलियाले कंगारुलाई देखाएर पर्यटन कमाइ गरे जस्तै नेपालमा काठे भालुलाई बनाउन सकिने बताउँछन् । खासगरी कंगारु जस्तै बच्चालाई ढाँडमा बोकेर हिँड्ने कुरालाई प्रचार गर्न सकिने उनी बताउँछन् । अस्ट्रेलियाले कंगारु र कोआलाको खानपान, बासस्थान र गतिविधि सबैको अध्ययन गरेर देशको राष्ट्रिय मानक बनाएको भन्दै पौडेलले नेपालमा काठे भालुलाई पर्यटनमा जोड्न त्यस्तै गर्न सकिने बताउँछन् ।

अस्ट्रेलियामा सफारी र पैदलयात्रामा कंगारुहरु देखाउन लगिन्छ । विभिन्न उद्धार केन्द्रहरु छन् । चिडिया घरहहरु छन् । तिनीहरुलाई तिनीहरुकै बासस्थानमा राखिएको छ । यस्तै गर्न काठे भालु एक पर्यटनको अंग नेपालमा बन्नसक्ने बताउँछन् पौडेल । भन्छन्, ‘काठे भालु हिँड्ने मार्ग, उनीहरुको गुफा पहिचान गरेर नेचर गाइडहरु, पर्यटन उद्यमीहरु मिलेर काठे भालुको दर्शन, पैदल यात्रा र अरु नवप्रवर्तनात्मक तरिकाले पर्यटनलाई विकास गर्नुपर्छ ।’

पौडेल घाइते भएका काठे भालुलाईसंरक्षण केन्द्रमा लगेर शैक्षिक पर्यटन विकास गर्न सकिने बताउँछन् । काठे भालु पर्यटनमा जोड दिएमा त्यसले चितवनमा मात्रै नभएर चुरिया क्षेत्रमा पनि पर्यटनको हाँगा फैलने भन्दै पौडेल त्यसमा धेरै लगानी र समय लगाउनुपर्ने बताउँछन् ।

तर काठे भालुमा खासै लगानी नभएको गुनासो गर्दै उनी भन्छन्, ‘अहिले काठे भालुमा भएको लगानी शून्य छ र धेरै सन्तुष्टि हुने खालको छैन । बाघ संरक्षणको छायाँबाट काठे बाघलाई बाहिर ल्याउन अत्यावश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *