‘पारस सरकार ‘पूर्वयुवराज’ होइनन्’ – Nepal Press
नेपाल टक

‘पारस सरकार ‘पूर्वयुवराज’ होइनन्’

‘कमेडी च्याम्पियनले दिएको गाडी मेरो नाममा नामसारी भएको छैन’

काठमाडौं । युरोपका विभिन्न देशमा ११ शो गरेर नेपाल फर्किएका कमेडियन भरतमणि पौडेल मंसिरबाट प्रशारण हुने टेलिभिजन कार्यक्रमको तीव्र तयारीमा छन् । कमेडी च्याम्पियन- २ का विजेता पौडेल एक दशकदेखि हास्यव्यंग्य क्षेत्रमा सक्रिय छन् ।

उनै पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश-

– युरोप टुर कस्तो रह्यो ?

कमेडी कलाको फरक विधा हो । कमेडीको पनि टुर हुन्छ भनेर दर्शकलाई बुझाउन गाह्रो भएको अवस्थामा मामा इभेन्टस्ले विश्वास गरेका कारण युरोपभरि ११ ठाउँमा टुर गर्‍यौं । पोल्यान्डबाट सुरु भएको टुर पोर्चुगल पुगेर टुंगियो । युरोपको दर्शक हास्नलाई कुरेर बस्नुभएको रहेछ । हामी हँसाउनलाई पर्खेर बसेका थियौं । दुवैको चाहना मिल्यो ।

– आर्थिक पाटो कस्तो रह्यो ?

भोको पेटले क्रान्ति त हुँदैन । यद्यपि अहिले नै पैसामुखी भइसकेका छैनौं । हामी आफ्नो काममा खुसी छौं । सेभिङ छैन । म बाँचिरहेको छु, यसैमा खुसी छु ।

– अनि ११ वटा शो आर्थिक हिसाबले चाहिँ कस्तो रह्यो ?

(लामो हाँसो) एक्जाक्ट भन्यो भने अरु देशमा धेरै लिएको पनि हुनसक्छु । सम्बन्धको हिसाबले कुनै ठाउँमा कम पनि लिएको हुनसक्छु । भोलि युरोप जाँदा अलिकति भए पनि बढ्छ । किनभने हामीले पहिलो पटक युरोपमा बस्नुहुने नेपाली भाषीलाई मज्जाले पेट मिचिमिची हँसायौं । उहाँहरुले यस्तो प्रोग्राम वर्षमा दुईपटक भइदिए हुन्थ्यो भन्नुभयो । पैसाभन्दा पनि दर्शक र प्रेम कमाइयो ।

– हसाउनु कत्तिको चुनौतीपूर्ण छ ?

मेरो सन्दर्भमा लास्टै गाह्रो हो । कुनै पनि तयार पारिएको चिज समयमा पस्किन सकिएन भने त्यो बासी भइदिन्छ । र, एकपटक पस्किसकेको चिज पुनः पस्किन सकिँदैन ।

– दर्शकहरुले के कुरामा बढी रमाइलो मान्दा रहेछन् ?

पात्रको हिसाबले पारस सरकारकै गरें । धेरै दर्शकले रुचाएको प्रस्तुति हो कमेडी च्याम्पियनमा । मेरो मिमिक्री पनि मन पराउनुहुन्छ । कन्टेन्टको हिसाबमा अहिलेको राजनीतिक अस्तव्यस्ततालाई नै हामीले मध्यनजर गरेर कमेडीमार्फत खबरदारी गरेका थियौं ।

– ‘पारस शाह’को पात्रमा युरोपमा पनि प्रस्तुति दिनुभयो । एउटै पात्र रिपिटेडली बोकेर हिँड्दा बोर लाग्दैन ?

व्यक्तिगत रुपमा चाहिँ एकै पात्रमा धेरै प्रस्तुति दिइरहँदा नयाँ केही गर्न मन लागिरहेको छ, तर दर्शकका लागि पारस सरकार पहिलो टेस्ट हो । म पो धेरै देश घुमेकाले एकै पात्र धेरै पटक गर्दा थाकेको हुनसक्छु । दर्शकलाई त्यही हेर्न मनलाग्दो रहेछ ।

कुनै पनि तयार पारिएको चिज समयमा पस्किन सकिएन भने त्यो बासी भइदिन्छ । र, एकपटक पस्किसकेको चिज पुनः पस्किन सकिँदैन ।

म कुनै पनि ठाउँमा जाँदा कन्टेन्ट र क्यारेक्टर दोहोर्‍याउँदिनँ, तर दर्शकलाई पारस सरकारमै मजा आइरहेको छ । दर्शकलाई मजा आएसम्म मैले प्रस्तुति दिइरहनुपर्छ ।

– ‘पारस शाह’लाई दर्शकले के कारणले मजा माने जस्तो लाग्छ ?

राजनीतिक वितृष्णा ! पारस सरकारमार्फत् नेपालको राजनीति अस्तव्यस्ततालाई मज्जैले घोचपेच गरेको छु । विदेशमा रहनुभएका नेपालीहरुमा अहिलेका कुनै न कुनै नेताहरुका पालामा बाध्यतावश देश छाड्नु परेको पीडा छ । नेपालप्रतिको राजनीतिक अस्तव्यस्ततालाई हामीले मजैले घोचपेच गरेका छौं । त्यो पीडालाई समय सान्दर्भिक रुपमा कमेडीमा जोडेको हुँ ।

पारस सरकारको आफ्नो निजी जिन्दगी छ । मैले अभिनयमार्फत उहाँको भूमिका बनाएँ । अभिनयमार्फत राजनीतिक कुराहरुलाई जोकको माध्यमबाट सुसूचित गर्ने कोसिस गरेको छु । दर्शकले त्यो मनपराइ दिनुभएको हो ।

– राजनीतिक अस्तव्यस्तताको कारण त अहिलेको केन्द्रीय राजनीतिका पात्रहरु होलान् नि ! पूर्वयुवराज पारस नै किन ?

म चाहिँ पारस सरकारलाई युवराजमात्रै भन्न रुचाउँछु । मैले अभिनय गरेको पात्र चाहिँ पारस सरकार हो । तपाईंले भनेकै कुराहरु पारस सरकारको मुखबाट जाने हो । जस्तै मैले केपी ओलीका कुरा, प्रचण्ड, बाबुरामका कुरा गर्छु । पात्रमात्रै पारस सरकार हो ।

– तपाईंले निर्वाह गरेको पारस शाहको पात्रलाई राजनीतिक कारणले भन्दा पनि उनको जीवनशैली, उनीसँग जोडिएका सन्दर्भ र प्रसंगहरुका कारण दर्शकले मनपराएका हुन् कि ?

अवश्य ! म आफैं पारस सरकारको ठूलो शुभचिन्तक हो । त्यो भएर पनि उहाँको पात्र गर्न सहज भएको हो । व्यक्तिगत जीवनशैलीका कारण पनि उहाँ चर्चामा हुनुहुन्छ । त्यही कारण उहाँको माध्यमबाट खबरदारी गरिरहेको चिजलाई जनताले मनपराइ दिएको हो ।

– उहाँको व्यक्तिगत जीवन चाहिँ कस्तो लाग्छ ?

मलाई त एकदमै राम्रो लाग्छ । राजाको छोरो भएर पनि हामी जस्तो सामान्य भएर हिँडिरहनु भएको छ ।

– सामान्य भएर हिँड्नुमा त नेपालको संविधानभन्दा माथि त कोही पनि छैन नि ?

यसलाई जसरी पनि व्याख्या विश्लेषण गर्न मिल्छ । म राजनीतिज्ञ त होइन । अघि तपाईंले ‘पूर्वयुवराज’ भनिरहँदा म चाहिँ ‘पूर्वयुवराज’ भन्न चाहन्नँ । त्यसपछि कोही युवराज भएको भए म पूर्व भन्थें । त्यसपछि कोही युवराज नै भएनन् । त्यसकारण म युवराज नै मात्र भन्न चाहन्छु ।

म आफैं पारस सरकारको ठूलो शुभचिन्तक हो । त्यो भएर पनि उहाँको पात्र गर्न सहज भएको हो । व्यक्तिगत जीवनशैलीका कारण पनि उहाँ चर्चामा हुनुहुन्छ । त्यही कारण उहाँको माध्यमबाट खबरदारी गरिरहेको चिजलाई जनताले मनपराइ दिएको हो ।

– अनि संविधानभन्दा माथि हो र पारस शाह ?

त्यै त, म राजनीतिज्ञ होइन । म उहाँलाई युवराज भन्छु । कानून, न्याय, संविधानप्रति त उच्च सम्मान छ । म यही व्यवस्थामा रमाइरहेको छु, तर मलाई लागेको कुरा यही हो । मेरो व्यक्तिगत विचार पनि हुन जाला कतिपय कुराहरु । मलाई कानूनले चाहिँ पूर्वयुवराज नै भन भनेर ल्याप्चे हनाउँदैन होला !

– पूर्व राजसंस्थालाई कसरी हेर्नुहुन्छ ?

राजसंस्थाप्रति उच्च सम्मान छ । म कुनै पार्टीसँग आबद्ध पनि छैन । साधारण सदस्यसम्म लिएको छैन । पार्टीमै लागेर कलाकारिता गर्नुपर्छ भन्ने पनि लाग्दैन ।

– अनि हेलमेट नलगाई हिँड्नेलगायत पारस शाहले गरेका हर्कतहरुलाई चाहिँ कसरी लिनुहुन्छ ?

उहाँको व्यक्तिगत जीवन हो त्यो । देशमा न्याय छ, संविधान छ । कुनै समय उहाँको विशिष्ट जीवन थियो, अहिले साधारण जीवन बाँचिरहनु भएको छ ।

– त्यो साधारण जीवन पारस शाहले चाहेर बाँचेको हो कि नेपालको संविधानले बाँच्न बाध्य बनाएको हो ?

उहाँले चाहेरै बाँच्नुभएको हो जस्तो लाग्छ । एकडेढ वर्षअघि उहाँलाई भेटेको छु । त्यसरी धेरै नेतासँग बसेको छु, तर उहाँसँग बस्दा बेग्लै भाइब्स आएको हो । बेग्लै कुरा भयो, जे होस् । अरुले गर्ने कुरा र उहाँले गर्ने कुरामा आकाश-पतालको भिन्नता देखेको छु । त्यहाँबाट पनि उहाँको शुभचिन्तक भएको हुँ ।

– त्यसो भए २०६२/६३ को जनआन्दोलनलाई कसरी हेर्नुहुन्छ ?

परिवर्तनको संवाहक आन्दोलनको रुपमा बुझेको छु । जे जे हुँदै जान्छ, राम्रैको लागि हुँदै जान्छ ।

– अहिले ‘राजा आऊ देश बचाऊ’ भन्ने पनि सुनिन्छ । राजाले नै देश बचाउलान् त ?

मैले तीन वर्षअघि कमेडी च्याम्पियनमा पनि भनेको थिएँ, व्यवस्था खराब होइन, व्यवस्थापन खराब हो । व्यवस्थापकहरु सुध्रन आवश्यक छ, तर व्यवस्थापक पनि नसुध्रने, व्यवस्थापन पनि नसुध्रने हो भने विकल्प के त ?

– भनेपछि राजा आउनैपर्‍यो ?

विकल्प के त ?

– प्रसंग बदलौं, तपाईंहरुको प्रस्तुतिमा पन्च लाइनहरु हुन्छन् । कहिलेकाहीँ पन्च लाइनहरुमा दर्शक नहाँसिदिन सक्छन् । पन्च लाइन काम नलाग्दा कस्तो महसुस हुन्छ ?

त्यस्तो जीवनमा एक पटक भएको छ । प्रस्तुति स्टार्ट गरें । ३५-४० मिनेटको सेट थियो होला । ३० मिनेटसम्म मान्छेहरु सुनसान छन् । अगाडि बसेका भीआईपीहरु वेलावेला ताली पड्काउँछन् । पछाडि बस्नेहरुले पड्काउँदैनन् ।

मैले तीन वर्षअघि कमेडी च्याम्पियनमा पनि भनेको थिएँ, व्यवस्था खराब होइन, व्यवस्थापन खराब हो । व्यवस्थापकहरु सुध्रन आवश्यक छ, तर व्यवस्थापक पनि नसुध्रने, व्यवस्थापन पनि नसुध्रने हो भने विकल्प के त ?

त्यसमा कमजोरी मेरै हो । दर्शक कस्तो, कुन उमेर समूहको आउँछ भनेर अध्ययन नगरी जाँदाको दुर्घटना हो । त्यसवेला रातोपिरो भइन्छ, होपलेस भइन्छ, तर आफ्नो धर्म त निभाउनुपर्‍यो । जतिसुकै होपलेस भए पनि ताली नपड्किँदा पनि जोक्सहरु भनेरै आउँछु ।

– होपलेस हुँदा स्टेज छाडिदिऊँ जस्तो लाग्दैन ?

लाग्छ नि ! पैसा लिइएको हुन्छ । भोलि आयोजकसँग सम्बन्ध बनाउनुपर्ने हुन्छ । दर्शकसँग सम्बन्ध बनाउनुपर्ने हुन्छ । खराब माहोल भयो भनेर माइक छाडिदिन मन लाग्छ, तर रोजीरोटी नै त्यही हो । यो जोक चलेन, अर्को चल्ला कि भन्ने हुन्छ । अचेल दर्शकको वर्ग, सामाजिक परिवेश हेर्छु । उनीहरुको रुचिको विषय के छ भनेर अध्ययन गरेर जान्छु ।

– पछिल्लो पुस्ताका तपाईंहरु क्यारिकेचर र रोस्टमा मात्रै रमाएको देखिन्छ । कमेडीका अरु विधाहरुमा किन कोसिस नगरेको ?

नेपालमा रोस्ट आएको धेरै भएको छैन । कमेडी च्याम्पियनबाट आएको हो । हाम्रो स्कुलिङ मह जोडी, सीताराम कट्टेल, केदार घिमिरे, मनोज गजुरेल, जितु नेपाललगायत दाइहरुलाई हेर्दै भएको हो । अलि फरक सन्दीप क्षेत्री दाइले गर्नुभएको हो ।

मलाई चाहिँ के लाग्छ भने हामीले कमेडीका फरक फरक विधाहरु सिक्नु पनि पर्ने हो । यहाँ सिकाउनलाई कुनै कलेज छैन । जति सिकिन्छ, नेट इन्टरनेटबाट हो ।

– प्रयोग त गर्न सकिन्छ नि ?

हाम्रो समाज रोस्ट त मजाले पचाउने भइसकेको छैन । एकै पटक पर पुग्दा पनि त त्यो चिज नबिक्ला नि ! कन्फर्म बिक्छ भन्ने थाहा भएको भए प्रयास गर्थ्यौं होला । अहिले रोस्ट त गाह्रो मान्छन् मान्छेले ।

– जे बिक्छ, त्यहीमात्रै बेच्ने हो त ?

हो नि ! हामी जोकको व्यापारी हौं । दर्शकले जे मन पराउनुहुन्छ, त्यही दिने हो ।

– तपाईंहरु रोस्ट गर्दा सन्तोष पन्तलाई मदिरा, मनोज गजुरेललाई निजी जीवनमात्रै कोट्याएर बस्नुहुन्छ । एकै विषयमा मात्रै रोस्ट हानिरहनुको कारण के हो ?

मलाई पनि बढी उडाउने भनेको ड्रिंक्समा हो, तर उनीहरुले भने जस्तो म धेरै ड्रिंक्स गर्दिनँ । रोस्टले सन्तोष सर, मनोज दाइमाथि केपरिरा’छ, उहाँलाई नै थाहा होला । अब कमेडियनहरुको कोणबाट हेर्दा चाहिँ स्थापित भइसकेको कुरालाई जोक बनाउन सजिलो हुन्छ । अर्को चाहिँ पछि आउने साथीहरुले नयाँ कुरा खोज्न नसकेको पनि हो ।

मलाईभन्दा बढी तनाव त विशाल दाइको कम्पनीलाई हुनुपर्छ । पाउनुपर्ने चिज पाइयो, नामसारी छैन । उहाँहरुकै बिलबुक लिएर हिँडिरहेको छु । उहाँहरुले जहिले पास गरिदिनुहुन्छ, उहाँहरुको इच्छा ।

– हिमेश पन्त, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, बिक्की अग्रवाल, सीता न्यौपाने कस्तो लाग्छ ?

पछिल्लो समय हिमेश पन्तको ग्रोथ देखिएको छ । फिल्म पनि गरिसक्नुभयो । उहाँका कमेडी पनि मलाई मनपर्छ । उहाँको कमेडी कसैलाई मन पर्ला, कसैलाई नपर्ला । के गर्दा चाहिँ दर्शकले मनपराइ दिनुहुन्छ भनेर हामी घोटिइरहेका हुन्छौं ।

सुमन कार्की चाहिँ भर्सटाइल कमेडियन हो । मेरो प्रिय साथी पनि हो, हाम्रो संघर्षको धरातल पनि एकै हो । हामीले रेडियोबाटै यात्रा सुरु गरेका हौं । ऊ पनि क्यारिकेचर गर्ने, म पनि । म पनि क्यारेक्टर गर्ने, ऊ पनि । हाम्रो सबै उस्तै छ ।

सुमन कोइराला ट्यालेन्ट मान्छे हो । उसले गर्ने व्यंग्यको तीर अर्कै तहको लाग्छ । मभन्दा खत्रा हो भन्ने लाग्छ । मेक्सम गौडेल चाहिँ धेरै प्रतिभाको खानी हो । ऊ गाउँछ, नृत्य पनि गर्छ । अनि कमेडी पनि गर्छ । कमेडीको प्याकेज हो ऊ ।

बिक्की अग्रवाल दाइले अहिले कमेडी दरबार लिएर बस्नुभएको छ । उहाँहरुको बेग्लै टीम छ । उहाँ र म कमेडी च्याम्पियनमा प्रतिस्पर्धामा पनि थियौं । उहाँ कमेडियनभन्दा पनि बिजनेसम्यान बढी हो । उहाँ कलाकार त हो नै, सँगै व्यवसायी पनि हो ।

सीता न्यौपाने चाहिँ पछिल्लो पुस्तामा मैले देखेको महिला कमेडियन नै हो । उहाँको एउटा प्रस्तुति मैले तीनचार पटक हेरेको छु ।

– अनि तपाईंले कमेडी च्याम्पियनको गाडी पाएको, ब्ल्यु बुक नपाएको प्रसंग के हो ?

गाडी मेरो नाममा पास भएको छैन । मैले जुन डेटमा गाडी पाउनुपर्थ्यो, त्यही डेटमा पाएको हो । पुरस्कार रकम पनि पाएको हो, गाडी पनि पाएको हो । ब्ल्यु बुक नपाउँदा मेरो नाममा गाडी चाहिँ छैन, तर कुदाइरा’छु भनेको थिएँ ।

कमेडी विधा एकदमै ध्यान दिनुपर्ने विधा हो, तर महोत्सवहरुमा ड्रिंक गरेर नाच्नमात्रै खोजिरहेको दर्शक पनि पाउँछु । उफ्रिने, ज्याकेट खोल्ने, धूलो उडाउने मान्छेहरु भेट्छु । उहाँहरुलाई गीतै ठीक छ, त्यहाँ म फिट छैन जास्तो लाग्छ । त्यसैले म इन्डोर प्रोग्राम नै गर्छु ।

– तपाईंको नाममा पास किन नभएको हो ?

एउटा कमेडियन भएर के सोच्छु भने मैले यावत चिजमा धेरै सोच्नुहुँदैन । मैले टाउको दुखाउने विषय भनेको कसरी धेरै मान्छे हसाउने भन्नेमात्रै हुन्छ । मलाई के हुन्छ त गाडी पास भएन भने ? केही समस्या छैन । जुन दिन समस्या पर्छ, सम्बन्धित निकायले हेर्छ ।

मलाईभन्दा बढी तनाव त विशाल दाइको कम्पनीलाई हुनुपर्छ । पाउनुपर्ने चिज पाइयो, नामसारी छैन । उहाँहरुकै बिलबुक लिएर हिँडिरहेको छु । उहाँहरुले जहिले पास गरिदिनुहुन्छ, उहाँहरुको इच्छा ।

– गाडी पास होस् भन्ने चाहनुहुन्छ ?

मैले भनेको छु, तपाईंहरुलाई गाह्रो पर्छ वा पर्दैन थाहा छैन । दिने सामान दिइसक्नु भयो, कागजमा पास गरिदिँदा के समस्या पर्छ र भनेको थिएँ । उहाँहरुले हाम्रो हिसाबकिताब मिलिरहेको छैन, व्यवहारिक पाटो सल्टेपछि मिल्छ भन्नुभयो । ‘तनाव नलेऊ, तिमीले तनाव लिने कुरै होइन’ भन्नुभएको छ ।

– अन्त्यमा, एउटा शोको कति चार्ज लिनुहुन्छ ?

सम्बन्धको कारण, चिनजानको कारणले पनि शो गर्नुपर्छ । म चाहिँ आउटडोर प्रोग्राम गर्दिनँ खासमा । म इन्डोरमात्रै गर्छु । मेला महोत्सवबाट बढी फोन आउँछ । त्यहाँ विभिन्न क्याटागोरीका दर्शक हुन्छन् । कमेडीलाई इन्जोय नगर्ने पाउँछु, इन्जोय गर्ने पनि पाउँछु ।

तीन वर्ष अघिसम्म त आउटडोर प्रोग्राम गरेरै आएको हो । अहिले चाहिँ गर्दिनँ । कमेडी विधा एकदमै ध्यान दिनुपर्ने विधा हो, तर महोत्सवहरुमा ड्रिंक गरेर नाच्नमात्रै खोजिरहेको दर्शक पनि पाउँछु । उफ्रिने, ज्याकेट खोल्ने, धूलो उडाउने मान्छेहरु भेट्छु । उहाँहरुलाई गीतै ठीक छ, त्यहाँ म फिट छैन जास्तो लाग्छ । त्यसैले म इन्डोर प्रोग्राम नै गर्छु । अहिलेसम्म एक शोको एक लाख ५० हजार रुपैयाँ लिएर काम गरिरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *