दल विभाजन अध्यादेशको सम्भावनाबारे महेश बर्तौला- सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ – Nepal Press

दल विभाजन अध्यादेशको सम्भावनाबारे महेश बर्तौला- सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ

'ओली-देउवाको हिजोको भेट नियमितमात्रै'

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले सरकार संविधान दिएको अधिकार प्रयोग गरेर आवश्यक परेको बेलामा अध्यादेश ल्याउनसक्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले नेकपा एससहित केही साना दल विभाजनलाई सहज बनाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चाका बीच बर्तौँलाले सरकारले संविधानभित्र रहेर आफ्नो काम गर्ने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘संसद नचलेको बेलामा संविधानले दिएको अधिकार प्रयोग गरेर शासन प्रशासन सञ्चालनको क्रममा अध्यादेश आउने कुरा स्वाभाविक हो । तर, सरकारले कहिले आवश्यकताको आधारमा ल्याउने कुरा हो । आजै आउँछ, भोलि आउँछ भन्ने कुरा होइन । संविधानले दिएको अधिकारभित्र बसेर सरकारले गर्नपर्ने काम गर्छन् ।’

हिजो प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस-एमालेका शीर्ष नेताहरूबीच अध्यादेशसम्बन्धी छलफल भएको भनेर आइरहेका समाचारबारे पनि उनलाई हामीले सोध्यौं ।

बर्तौलाले थपे, ‘आवश्यकताको आधारमा सत्ता घटकहरूबीच सामान्य विषयमा छलफल भइरहेका छन् । हिजो शेरबहादुर देउवाजीसँगको भेट कुनै अध्यादेश ल्याउने भन्ने विषयमा समझदारी गर्न होइन । यो नियमित छलफल हो । यो नियमित छलफललाई अध्यादेशसँग जोडेर अतिरञ्जित गर्नु उपयुक्त होइन ।’

आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याउने तयारी भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर