सरकार भ्रष्टाचारीको संरक्षक भएको प्रधानमन्त्रीले नै पुष्टि गरे : प्रचण्ड (भिडिओ) – Nepal Press

सरकार भ्रष्टाचारीको संरक्षक भएको प्रधानमन्त्रीले नै पुष्टि गरे : प्रचण्ड (भिडिओ)

'हनिमुन पिरियड सकिएपछि सरकारविरोधी कार्यक्रम सुरू गर्छौं'

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने प्रधानमन्त्रीले नै पुष्टि गरेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको भन्दै आएको दोहोर्‍याए ।

‘मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाइँहरूले सबै देखिरहनुभएको छ । मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमिन जबर्जस्ती व्यक्तिमा नाममा लैजाने जस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरकेो छ, तिनै व्यवसायीबाट जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् ।’

सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै उनले अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताए ।

प्रचण्डले भने, ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौं । आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरुपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदका पहिलो र दोस्रो दलले अस्वाभाविक र अप्राकृतिकरूपमा आफूलाई हटाएको उनले जिकिर गरे ।

‘देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बुढानिलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वाभाविकरूपमा सरकार बनाइयो’, उनको टिप्पणी छ ।

आफ्नो पालामा दुई छिमेकी देशको भ्रमणमा ऐतिहासिक समझदारीहरु भएको प्रचण्डले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर