घुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता – Nepal Press

घुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आइतबार पोखराको प्रदर्शनका क्रममा घुसपैठियाको आरोपमा कुटपिट गरेका व्यक्ति सोही पार्टीका नेता रहेको खुलेको छ ।

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो ।

पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको स्वीकार गरेका छन् । मुक्का प्रहारबाट मुख फुटेपछि २ टाँका लगाइएको पौडेलले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

उनलाई कांग्रेस एमालेको घुसपैठिया भन्दै रास्वपा सांसद हरि ढकालकै सामुन्ने निर्घात कुटपिट गरिएको थियो । प्रहरीले जोगाएर लैजान खोज्दा पनि रास्वपा कार्यकर्ताले उनलाई लखेटी लखेटी कुटेका थिए ।

प्रहरीमाथि पानीको बोतल प्रहार गरेपछि उनी घुसपैठिया भएको आशंकामा नियन्त्रणमा लिइएको र त्यसक्रममा केही व्यक्तिले कुटपिट गरेको रास्वपा नेताहरूले बताएका छन् ।

यसैबीच घुसपैठीयाको नाममा कुटिएका पौडेललाई स्वर्णिम वाग्ले लगायतका नेताहरूले गएर भेटेका छन् । आफ्नै कार्यकर्ताको कुटाइबाट घाइते भएका पौडेललाई रास्वपा सांसद डा.तोसिमा कार्कीले घरमै पुगेर स्वास्थ्य जाँच गरेकी छन् । पौडेलले आफू बेड रेष्टमा रहेको भन्दै पार्टीको आन्दोलनलाई समर्थन रहेको प्रष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर