सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड – Nepal Press

सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ‘आफ्ना’ लाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको टिप्पणी गरेका छन् ।

आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको उनले बताए ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् ।

बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै प्रचण्डले भने, ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं । तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङ्गै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’

सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको आरोप प्रचण्डले लगाए । सरकारको ‘हनिमुड पिरियड’ लाई ध्यान दिंदै अहिलेसम्म माओवादी सडकमा नआएको भए पनि अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनका कार्यक्रम अघि सार्ने उनले जानकारी दिए ।

भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै प्रचण्डले अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिए ।

‘उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनस्र्थापनामा ध्यान नदिनेदेखि जग्गादान प्रकरणसम्म आउँदा सरकारले आफैंलाई भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गरेको छ,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाइ गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताए ।

‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोच हो । अहिले पनि कतै न कतै गठवन्धनभित्र यस खालको सोच हटेको छैन,’ उनले भने, ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’


प्रतिक्रिया

One thought on “सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर