सहकारी ठगी प्रकरणमा ज्योतिद्वयविरुद्ध रेडनोटिसका लागि पत्राचार, धनराजलाई के हुन्छ ? – Nepal Press

सहकारी ठगी प्रकरणमा ज्योतिद्वयविरुद्ध रेडनोटिसका लागि पत्राचार, धनराजलाई के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल कन्ट्रोल ब्युरो (एनसिबी) ले इन्टरपोललाई रेड नोटिस जारीका लागि पत्राचार गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

ललितपुरको मितेरी सहकारीको बचत अपचलनमा सीआईबीले अनुसन्धान गरिरहेको छ । गुरुङ उक्त सहकारीको तत्कालीन प्रबन्ध निर्देशक थिइन् ।

मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

ज्योतिसँग धनराजले २०७६ फागुनमा कागजी सम्बन्धबिच्छेद गरेका थिए । तर, सहकारी ठगीबाट उम्किनका लागि धनराजले पत्नीसँग नक्कली डिभोर्स गरेको र व्यवहारिक रूपमा अझै पति–पत्नी नै रहेको चर्चा छ । धनराजले कथित सम्बन्धबिच्छेदपछि पनि पूर्वपत्नीको नाममा ऋण तिरिरहेका थिए ।

प्रहरीको सूचना अनुसार धनराजकी पत्नी ज्योति अहिले अमेरिकामा छन् । सामान्यतया कुनै पनि देशको प्रहरीले पत्राचार गरेपछि इन्टरपोलले नोटिस जारी गर्छ । इन्टरपोलमा आबद्ध १९६ राष्ट्रमा उक्त नोटिस पुग्छ । तर, त्यो बाध्यकारी भने हुँदैन । सम्बन्धित देशको प्रहरीले आवश्यक नठानेमा नोटिसलाई नजरअन्दाज पनि गर्न सक्छन् । यसअघि जीवी राईलाई पनि इन्टरपोलले नोटिस जारी गरेको थियो । तर, मलेसियाको प्रहरीले उनलाई पक्राउ गर्न चाहेन ।

धनराजको अझै पनि श्रीमतीसँग सम्बन्ध र सम्पर्क रहेको बताइए पनि प्रहरीले उनलाई छानबिनमा तानेको छैन । जबकि मितेरी सहकारीबाट अपचलन गरेको पैसा उनकै घरमा भित्रिएको हो ।

धनराजकी पत्नी ज्योति प्रबन्ध निर्देशक भएको समयमा नै आन्तरिक छानबिन गर्दा १२ करोड ९० लाख रुपैयाँ अपचलन भएको खुलेको थियो । त्यसको करिब एक वर्षपछि ज्योति फरार बनेकी थिइन् । २९ फागुन २०७६ मा धनराजले ज्योतिसँग कागजी डिभोर्स गरे पनि २०७७ सालमा थप कर्जा लिँदा उनले हकवालामा ज्योतिलाई श्रीमतीकै हैसियतमा राखेका थिए ।

सत्ताधारी पार्टी कांग्रेसको पदाधिकारी भएकाले धनराजले राजनीतिक संरक्षण पाएको आरोप लागिरहेको छ । प्रहरीले भने धनराजविरुद्ध प्रमाण अपर्याप्त रहेको बताउने गरेको छ ।


प्रतिक्रिया

One thought on “सहकारी ठगी प्रकरणमा ज्योतिद्वयविरुद्ध रेडनोटिसका लागि पत्राचार, धनराजलाई के हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर