सुनको मूल्यभन्दा महत्वपूर्ण छ महिलाको आन्तरिक सौन्दर्य र आत्मसम्मान – Nepal Press
ब्लग

सुनको मूल्यभन्दा महत्वपूर्ण छ महिलाको आन्तरिक सौन्दर्य र आत्मसम्मान

सुनको मूल्यवृद्धिसँगै महिलाहरूमा सुनको क्रेज घट्दै गएको छ । आजका महिलाहरूले नक्कली गरगहना लगाउन थालेका छन्, जसले पारिवारिक र सामाजिक दृश्यमा परिवर्तन ल्याएको छ । विगतमा सुनको गहना लगाउनु उच्च इज्जतको प्रतीक थियो, तर अहिले गहना भएका र नभएका दिदीबहिनीहरू उस्तै देखिन्छन् । कतिको विवाह पनि सुनविना भएको छ, जसले समाजमा रहेका पुरातन विचारहरुको बहिष्कारको सन्देश दिएको छ । महिलाहरूले अब बाह्य सौन्दर्यको सट्टा आन्तरिक मूल्य र आत्मसम्मानलाई प्राथमिकता दिन थालेका छन् ।

सुन भन्ने बित्तिकै हामी महिलाहरुको सौन्दर्यलाई लिने गर्छौं । पछिल्लो समय सुनको मूल्य निकै चर्किंदै गएको छ । सुनको मूल्य बढेसँगै अधिकांश महिला दिदीबहिनीहरुले नक्कली गरगहना लगाउन थालेका छन् । बजारमा सुनको भाउ दैनिक रूपमा बढ्न थालेपछि नेपाली समाजमा सुनप्रतिको क्रेजमा कमी आएको छ । विगतमा सुन लगाउने प्रचलन अत्यधिक थियो । सुनका गहना धेरै लगाउने व्यक्तिहरूलाई उच्च घरानाको प्रतीक मानिन्थ्यो, तर आजको समयमा गहना भएका र नभएका दिदीबहिनीहरू उस्तै देखिन्छन् । महिलाहरुमा गहना लगाउने उत्साह घट्दै गएको छ ।

पछिल्लो समय केही जोडीले सुनविना पनि विवाह गर्न सुरु गरेका छन् । सुनविना नै विवाह गरेर समाजमा रहेको गलत संस्कारको बहिष्कार गर्ने सन्देश दिन चाहेका छन् । उनीहरुले सुन बनाउने पैसा नभएर होइन । नितान्त आफ्नो व्यक्तिगत कुरा अरूसँग तुलना गरेर जीवनयापन गर्न त्यागेर जीवन जिउन जान्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । यसमा निकै पृथक सुगन्ध पनि भेटिन्छ ।

यसरी सुनको मूल्यवृद्धिसँगै नेपाली समाजमा गहना र यसको प्रयोग गर्ने तरिकामा उल्लेख्य परिवर्तन आएको छ । यो परिवर्तनले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ । सुनको बढेको मूल्यले गहना र सौन्दर्यको परिभाषामै परिवर्तन आइरहेको छ ।

निरन्तर मूल्य बढेपछि अधिकांशले सुरक्षा समस्याका कारण घरमा रहेका सुनचाँदीका गरगहना बैंकको लक्करमा राख्न थालेका छन् । सुनका गरगहनाले अनेक किसिमका घटना पनि निम्त्याउन सक्छ । कतिपयको सुनका गरगहनाले गर्दा ज्यान नै गएको छ । त्यसैले अहिले बजारमा नक्कली सुनका गरगहना लगाउनेको संख्या बढेको छ । एक पटक लगाएको गहना र पहिरनको फोटो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनः त्यसलाई लगाउन चाहँदैन भन्ने मनोविज्ञानले पनि गहनाको मोह घटाएको देखिन्छ । सुनको क्रेज घट्दा महिलाहरूमा गहना लगाउने चाहना पनि घटेको देखिन्छ । सुनचाँदी पसलेहरूका अनुसार गरगहना बनाउनेहरुमा ५० प्रतिशतले कमी आएको छ ।

यसरी सुनको मूल्यवृद्धिसँगै नेपाली समाजमा गहना र यसको प्रयोग गर्ने तरिकामा उल्लेख्य परिवर्तन आएको छ । यो परिवर्तनले समाजमा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ । सुनको बढेको मूल्यले गहना र सौन्दर्यको परिभाषामै परिवर्तन आइरहेको छ । आजको समाजमा गहना लगाउने कुरा केवल व्यक्तिगत चासो र चाहनामा मात्र महत्वपूर्ण भइसकेको छ ।

बाह्य सौन्दर्यको सट्टा आन्तरिक मूल्य र आत्मसम्मानलाई प्राथमिकतामा राख्न थालेका छन् । सुनका गहना र पहिरनमा भन्दा आफ्ना व्यक्तिगत अनुभव र मूल्यहरूमा ध्यान दिन थालेका छन्, जुन महत्त्वपूर्ण परिवर्तन हो । समानता, आत्मनिर्भरता र व्यक्तिगत सन्तोषको सन्देश फैलाउन एकअर्कालाई सहयोग गर्नुपर्छ । सुनका गहनामात्र होइन, हाम्रो आन्तरिक सौन्दर्य र विचारहरूको कदर गर्नुपर्दछ । समृद्ध र समतामूलक समाज निर्माण गर्न सबैले हातेमालो गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *