कमल थापाको पब्लिक डिप्लोमेसी: डा. भोला रिजाल पुत्रमार्फत बेलायती कानूनमन्त्रीसँग द्रुत भेट – Nepal Press

कमल थापाको पब्लिक डिप्लोमेसी: डा. भोला रिजाल पुत्रमार्फत बेलायती कानूनमन्त्रीसँग द्रुत भेट

काठमाडौं । राज्यका ठूल्ठूला कामहरुमा राज्यसत्ताकै ठूल्ठूला मान्छेहरुको मात्रै भूमिकाले काम हुँदैन । गैरराज्य पक्षका वा राज्य पक्षकै भए तापनि व्यक्तिगत सम्बन्धले कामहरुमा सहज हुन्छ । यसको एक उदाहरण हुन् भेषबहादुर थापा । थापा नेपालमा अरब क्षेत्रको देश कुवेतबाट पहिलो अनुदान ल्याउन सफल भएका थिए ।

कुबेतले ५० लाख दिनार सहयोग दिनुको कारण अमेरिका पढ्दाका थापाका साथी अब्दुल लतिफ हुन् । उनी कुवेत सरकारको वित्तीय निकायको निर्देशक हुँदा त्यो रकम आएको थियो । भेषबहादुर थापाको किताब ‘राष्ट्र परराष्ट्र’का अनुसार राजा वीरेन्द्रको राजकीय भ्रमणमा हेलन भान्डमको तथा भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि हुँदा अमेरिकामा समकक्षी भारतीय राजदूत भएर बसेका केआर नारायणनसँग व्यक्तिगत निकटता भएको थापाले लेखेका छन् ।

नेपालका चर्चित टेक्नोक्रेट भेषबहादुर थापाको जस्तै अनुभव छन् राजनीतिज्ञ तथा तीन पटकका परराष्ट्रमन्त्री कमल थापाको । खासगरी भारतीय नाकाबन्दी खोल्नमा उनले खेलेको पब्लिक डिप्लोमेसीमा बाबा रामदेवका सहपाठी आचार्य बालकृष्णदेखि रविशंकरसम्म जोडिएको कुरा उनको पुस्तक ‘नाकाबन्दी र भूराजनीति’मा उल्लेख गरिएको छ ।

किताबमा कमल थापाले बेलायतमा थुनिएका नेपाली कर्णेल कुमार लामाको रिहाइको लागि उच्चस्तरीय पहल गर्नमा पब्लिक डिप्लोमेसी प्रयोग गरेको खुलाएका छन् । नेपालका चर्चित डाक्टर भोला रिजालका पुत्र डाक्टर कपिल रिजालसँगको सम्बन्धले त्यो सहज भएको थापाले लेखेका छन् ।

थापा २०७२ मंसिर २९ गते बेलायत पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली हुँदाताका परराष्ट्रमन्त्रीको हैसियतमा उनी नेपाल र बेलायतको २०० वर्ष पुरानो सम्बन्ध पुगेको कार्यक्रमको अवसरमा त्यहाँ पुगेका थिए । त्यही बेला थापाले बेलायती समकक्षी फिलिप हेमोन्डसँग भेट गरे । पुस्तकको छैटौं अध्यायको प्रथम शीर्षक ‘बेलायत भ्रमण : कुमार लामाको रिहाइको पहल’मा थापाले आफूले बेलायती समकक्षीसँग दुई कुरा राखेको बताएका छन् । दुवै कुरा सैनिक मुद्दा थिए । एक- नेपाली सेनाका कर्णेल कुमार लामा पक्राउ भएकाले रिहाइ । दुई- बेलायती सेनामा काम गरेका नेपाली भूतपूर्व सैनिकहरुको सुविधाबारेमा ।

नेपाली सेनाका कर्णेल लामा प्रकरणमा बेलायती विदेशमन्त्रीले थापालाई ‘अदालती प्रक्रियामा रहेको विषयमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, तर ढिलो भएकोबारे भने न्यायमन्त्रीसँग कुरा गर्ने’ बताए ।

अदालती प्रक्रियाको कुरा भए तापनि कानूनमन्त्रीसँग केही कुरा जोडिएको थापाले थाहा पाए । संयोगवस त्यही समयमा नेपालका चर्चित डाक्टर भोला रिजाल बेलायतमा थिए । श्रीमतीको उपचार गर्न गएका उनलाई भेट्न थापा भोलाका पुत्र डाक्टर कपिल रिजालको लण्डनस्थित घरमा पुगे । त्यहाँ पुग्दा थापालाई ढुङ्गा खोज्दा शालिग्राम भेटे जस्तै भयो । किनभने डाक्टर कपिल रिजालले बेलायती कानूनमन्त्री माइकल गोभ आफ्नो साथी भएको बताउँदै भने, ‘तपाईं भेट गर्ने भए म उनीसँग समय मिलाउन सक्छु ।’

डाक्टर कपिलसँग भेट भएको भोलिपल्टै कानूनमन्त्रीसँग उनको कार्यालयमा भेट भएको थापाले लेखेका छन् । उनले तीन वर्षसम्म कर्णेल लामाको कुनै कानूनी प्रक्रिया अगाडि नबढेको अवस्था रहेकोमा बेलायत जस्तो कानूनी शासन भएको देशमा यो सुहाउने नभएको र गोरखालीहरुले बेलायतको पक्षमा रगत बगाएको कुरा उल्लेख गरेर चाँडै निरुपण गर्न मन्त्रीलाई थापाले आग्रह गरे । मन्त्रीले गम्भीर भएर आफ्नो कुरा सुनेको भन्दै थापाले लेखेका छन्, ‘उनले यत्तिमात्रै भने- यस विषयमा म सक्दो प्रयास गर्छु । कुमार लामाले न्याय पाउनेछन् ।’

यो जानकारी आफूले लामालाई पनि दिएको भन्दै थापाले लेखेका छन्, ‘यी सबै घटनाक्रमबारे मैले फोनबाटै कर्णेल लामालाई जानकारी गराएको थिएँ ।’

कमल थापाले कानूनमन्त्रीसँग भेट गरेको ९ महिनापछि कर्णेल लामाले बेलायती हिरासतबाट छुटकारा पाए । तीन वर्ष थुनिएका उनलाई रिहा गरियो । यसबारेमा पनि थापाले एक्लो जस आफूले नखाइकन लेखेका छन्, ‘सबैको प्रयत्नबाट उनले न्याय पाए ।’

के थियो कर्णेल कुमार लामा प्रकरण ?

सन् २०१३ जनवरी ३ को बिहानै संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा पक्राउ परे । उनलाई कपिलवस्तुको गोरुसिंगे ब्यारेकमा हुँदा सन् २००५ को अप्रिल १५ बाट मे १ सम्म जनकबहादुर राउतलाई यातना दिएको पहिलो कसुर थियो । दोस्रो कसुर उनले सोही ब्यारेकमा हुँदा सन् २००५ अप्रिल १५ बाट अक्टोबर ३१ सम्म अर्का एक युवा करम हुसेनलाई यातना दिएको कसुर थियो । त्यही कसुरमा उनी साढे तीन वर्षभन्दा धेरै जेलमा बसे । सन् २०१६ सेप्टेम्बर ६ मा निर्दोष प्रमाणित भएपछि उनी कसुरबाट मुक्त भएका थिए ।

कर्णेल लामा प्रकरणले नेपालको युद्धकालका गतिविधिहरुलाई नेपालमै समाधान नगरे विदेशमा पुग्ने नजिरमात्रै पेस गरेको थिएन, नेपाल र बेलायतको सम्बन्ध तथा व्यक्तिगत रुपमा लामाको मनोविज्ञानमा पनि धेरै असर गरेको थियो । बेलायती विश्व च्यानल बीबीसीसँग कुरा गरेका लामाका वकिल जोनाथम ग्रिम्सले रिहा भएपछि भनेका थिए, ‘पछिल्ला साढे तीन वर्ष कर्णेल लामा र उनको परिवारलाई तनावग्रस्त र चिन्ताग्रस्त समयको चरण थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *