मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध – Nepal Press

मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध

नारायणगढ । मौरीपालन विकास केन्द्र भण्डार चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।

हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न हुने गरेकाले कार्यालयले यसका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाल निकायहरुसँग अनुरोध गरेको हो ।

कार्यालयका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत सुजन अङ्गाईले हाल मौरीपालकले एपिस मेलिफेरा जातको मौरीलाई विभिन्न जिल्लामा चरनमा लैजाने समय आएको बताए। उनले मौरीले बोटबिरुवामा परागसेचन गर्न सहयोग गर्ने भएकाले बाली तथा बोटबिरुवाको वंश संरक्षणमा समेत भूमिका खेल्ने उल्लेख गरेका छन् ।

उनले भने, “अन्य देशहरुमा बिरुवाहरुको फूल खेल्ने समयमा मौरीलाई भाडामा ल्याएर चराइन्छ, तर यहाँ मौरीपालक किसानले उल्टो पैसा तिरेर चराउन लैजाँदा पनि समस्या आउने गरेको किसानको गुनासो हुन्छ, यो कुरा सबैले बुझ्न जरुरी हुन्छ कि मौरी चराउँदा बिरुवाको उत्पादनमा वृद्घि हुन्छ, यसले कुनै पनि हानि गर्दैन ।”

मौरीहरू विभिन्न प्रकारका फूल फुल्ने बिरुवामा भ्रमण गर्दा जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम हुने, धेरै बिरुवा प्रजातिको परागसेचनमा योगदान पु¥याई बोटबिरुवाको वंश संरक्षणमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

विभिन्न फूल फुल्ने बोटबिरुवामा खेर जाने पुष्प रस र परागलाई मौरीले सङ्कलन गरी मह तथा कुट बनाउने गर्छ । परागसेचनमा विभिन्न परागसेची जीवमध्ये ७० देखि ८० प्रतिशत कीरा वर्गको भूमिका हुन्छ । त्यसमध्ये मौरीको मात्र योगदान ८० प्रतिशत रहेको उनले जानकारी दिए।  धेरै बाली परागसेचनमा निर्भर हुने हुँदा मौरीको सङ्ख्यामा कमी भएमा कृषि उत्पादन तथा उत्पादकत्वमा प्रतिकूल प्रभाव पर्न सक्ने प्रमुख अङ्गाईले बताए ।

लामो समयदेखि मौरीपालन गर्दै आउनुभएका कालिका नगरपालिका–६ का मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले मौरीपालन गर्दा चरनको निकै समस्या हुने बताए  । उनले भने“मौरीलाई चराउन देशका धेरै स्थानमा डुलाउनुपर्छ, विभिन्न स्थानमा लैजाँदा दुःख झेल्नुपर्छ, विभिन्न स्थानीय तह, टोल र घरमा समेत समन्वय गर्नुपर्ने हुँदा निकै झन्झटिलो हुन्छ ।”

व्यावसायिक मौरीको सङ्ख्या बढी हुँदा चरन क्षेत्रको अभाव पनि हुने गरेको उनले बताए । चरनका लागि नयाँ स्थान खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेपाल मौरीपालन महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले महको मूल्य राम्रोे रहेको तर बिचौलियाले किसानबाट सस्तोमा खरिद गरी महँगोमा बेच्ने गरेको गुनासोसमेत गरे ।

हाल चितवनमा करिब पाँच सय ५० मौरीपालक किसानले २० हजारभन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने गर्दछन् । जिल्लामा वार्षिक रुपमा नौ सय ‘मेट्रिकटन’ मह उत्पादन हुँदै आएको कार्यालयका प्रमुख अङ्गाईले जानकारी दिए। यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक रुपमा पालन हुँदै आएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर