आठ वर्षीया बालिकामाथि जबरजस्ती करणीः दोषी नसमातेपछि निरन्तर आन्दोलन – Nepal Press

आठ वर्षीया बालिकामाथि जबरजस्ती करणीः दोषी नसमातेपछि निरन्तर आन्दोलन

रुपन्देही । दाङ भालुबाङकी आठ वर्षीया बालिका जबरजस्ती करणीमा परेको १२ दिन बितिसक्दा पनि प्रहरीले संलग्न व्यक्तिको पहिचान गर्न नसकेको भन्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ ।

पीडित पक्षले प्रहरी कार्यालय अगाडि दैनिकजसो धर्ना दिँदै दवाव बढाउँदै आएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ ।

घटना गत असोज २४ गते फूलपातीको दिन भएको थियो । सशस्त्र प्रहरी क्याम्प नजिक टाँगिएको पिङ्ग खेल्न पुगेकी ८ वर्षीया बालिका करणीमा परेको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिका संगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ । दुवै बालिकासंग घटनाको बारेमा जानकारी लिने र शंकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ ।

‘पीडित बालिका प्रहरीको संरक्षणमा छन् सँगै रहेकी अर्का एक १५ वर्षीया बालिकालाई पनि प्रहरी कार्यालयमा राखेका छौं । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ’जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले भने,‘यो घटनालाई प्रहरीले गम्भीर रुपमा लिएको छ । सिआईवीको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो( सिआइबी)को टीमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि स्थानीय आक्रोशित भएका हुन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने स्थानीयको भनाइ छ ।

‘प्रहरी कार्यालयसँग निरन्तर छलफल गरिरहेका छौं । तर, प्रहरीले अझैसम्म संलग्न व्यक्ति पहिचान गर्न नसक्नु दुःखको कुरा हो । बालिकाको न्यायको लागि हामीले सार्वजनिक रुपमा दवाव श्रजना गर्न थालेका छौं’राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सुरज खड्काले भने,‘के कारणले हो अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसक्नु ? हामीले थालेको संघर्ष न्यायको संघर्ष हो ।’ घटनाको सत्यतथ्य छानविन गर्न माग राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर