सत्तारुढ दलका नेता कार्यकर्ता आपसमा जुधेर होइन, मिलेर काम गर्नुपर्छ : मन्त्री दाहाल – Nepal Press

सत्तारुढ दलका नेता कार्यकर्ता आपसमा जुधेर होइन, मिलेर काम गर्नुपर्छ : मन्त्री दाहाल

रामेछाप । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सत्तारुढ दलका नेता कार्यकर्ताहरू एक आपसमा जुधेर होइन, मिलेर काममा लाग्नु पर्ने बताएका छन् ।

रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदी माथि खुर्कोटको बेलीब्रिज निर्माणमा संलग्न नेपाली सेना लगायतलाई धन्यवाद दिन मंगलबार मन्थली नगरपालिकाले खुर्कोटमा आयोजना गरेको कार्यक्रमका बोल्दै मन्त्री दाहालले सरकारले गरेको काममा जस लिन हानाथाप गर्न आवश्यक नरहेको बताए ।

गत असोज १२ गतेको बाढीले बगाएको खुर्कोटको पुलमा बेलीब्रिज राख्ने काममा सबैको भूमिका रहेको दाहालले स्पष्ट पारे । ‘यो सरकार काम गर्नका लागि बनेको सरकार हो, यो सरकारले आफ्नो गतिमा काम गरिरहेको थियो, काम गर्दा गर्दै बाढी पहिरोले एउटा वितण्डा मच्चायो र एउटा नयाँ परिस्थितिको सिर्जना गरिदियो’, उनले भने ।

उनले सरकारका प्राथमिकता अब केही परिवर्तन भएका बताए । यस पटकको बाढी पहिरोले सडक र पुललाई बढी क्षति पुर्याएको उनले सुनाए । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत नै साढे ६ अर्ब रुपैँया बढीको क्षति भएको दाहालले जानकारी दिए । त्यसको पुनर्निर्माण लागि १५ अर्ब ३३ करोड बढी रकम लाग्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । त्यसैले अब सरकोले प्राथमिकता तोकेर काम गर्नुपर्ने स्थिति रहेको उनले स्पष्ट पारे ।

उनले बाढीले क्षति पुर्याएका संरचना मध्ये पहिलो प्राथमिकता खुर्कोटको पुललाई दिएर निर्माण गरेको बताए । बिपी राजमार्ग निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको उनले जानकारी दिए । बिपी राजमार्ग १२ किलोमिटर पुरै बगाएको बताउँदै उनले सडक निर्माणको लागि जापान सरकारलाई अनुरोध गरिने र उसले नगरे सरकारले आफैँले गर्ने उनले स्पष्ट पारे ।

बेलीब्रिज बनेका ठाउँमा स्थायी पुल निर्माणको काम अघि बढाउने उनले बताए । अब तत्कालको प्राथमिकता सुनकोशी नदीकै फोक्सिङटारको पुल निर्माण गर्ने रहेको उनले जानकारी दिए । त्यस्तै ताप्लेजुङको हेवाखोला पुल सरकारको तेस्रो प्राथमिकतामा रहेको उनले बताए ।

जनताको जिम्मा सरकारले लिनु पर्ने बताउँदै उनले सरकारले बाढी पहिरो प्रभावितको उद्धारको काम सकिएकोले अब राहत र पुनर्स्थापनाको काम हुने पर्नेमा जोड दिए । अहिले अस्थायी पुनर्स्थापनाको काम भइरहेको बताउँदै उनले अब स्थायी पुर्नस्थापनाको काम अघि बढ्ने बताए ।

अब आवास निर्माण गर्दा नदी र खोला किनारमा आवास बनाउन नहुने पाठ सिकिएको दाहालले बताए । जोखिमपूर्ण ठाउँमा बस्ती बसाउन नहुनेमा उनले जोड दिए । सरकारले नागरिकलाई रोजगारसँग जोडेर पुनःर्स्थापनाको काम अघि बढाउने दाहालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *