वीपी स्मृति कप : नेक्सस रूपन्देही र भारतको लाइफ केयर सेमीफाइनलमा – Nepal Press

वीपी स्मृति कप : नेक्सस रूपन्देही र भारतको लाइफ केयर सेमीफाइनलमा

रुपन्देही । नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा नेक्ससले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ७ विकेट र भारतको लाइफ केयरले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई १ सय १४ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जितका लागि पाएको १ सय २१ रनको लक्ष्य नेक्ससले १७ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । नेक्ससको जितमा शंकर रानाले ३७, मिर्नाल गुरुङले २६, आकाश त्रिपाठीले अविजित १९, विपिन विक्रम शाहीले १६ र वसिर अहमदले नटआउट १५ रनको योगदान दिए ।

बलिङमा साइक्यू क्रिकेट एकेडेमीका सहदाज रहमान, अकस शाहउद्दिन र शाहबाज चाहउहाले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यू क्रिकेट एकेडेमीले निर्धारित खेलमा ९ विकेटको नोक्सानीमा १ सय २० रन बनायो ।

उसका लागि मोहद उमारले ३६, साद इन्ब मोशरफले २९, मुनिम सानरिअर र तनिर हुसेन रानाले समान ११–११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नेक्सस रुपन्देहीका बसिर अहमदले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए ।

यस्तै, दिपेश कँडेल र शाहब आलमले समान २–२ तथा कृष्ण कार्कीले १ विकेट हात पार्न सफल भए । खेलमा वसिर अहमद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको भारतको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ३६ रनको विशाल योगफल बनायो । उसका लागि दीपक पुनिया र राजेश शर्माले अर्धशतकीय पारी खेले ।

दीपकले ६६ र राजेशले ६१ रन बनाए । यस्तै, जस्मित नैनले अविजित ३३, दीपांन्सुले २३ रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका इन्दुमल प्रसाद र रवि किरणले २–२ तथा तुसाराले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको श्रीलंका राज्य सेवा ८ विकेट गुमाउँदै १ सय २२ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि विनोद कुमारले २३ र तुसाराले २१ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४, रोहित डङ्गाल २ तथा योगेश कुमार र दीपक पुनियाले १–१ विकेट लिए । दीप पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।

प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *