सुप्रिम सहकारी ठगीबारे छविलाई १३ घण्टामा ५७ प्रश्न, बयान सकिएकाले भोलि नै पोखरा पठाइने  – Nepal Press

सुप्रिम सहकारी ठगीबारे छविलाई १३ घण्टामा ५७ प्रश्न, बयान सकिएकाले भोलि नै पोखरा पठाइने 

रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानको लागि पोखराबाट रुपन्देही ल्याइएका पूर्वडिआईजी छविलाल बन्जाडे जोशीलाई सोमबार ५ र मंगलबार करिब ८ घण्टा लगाएर ५७ वटा प्रश्न सोधिपछि बयान सकिएको छ । मंगलबार अबेर बयान सकिएकाले यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धि छानविनका लागि बुधबार पुनः पोखरा लगिने भएको छ ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन उपाधयक्ष रहेका छविलालसँग मंगलवार दिनभर लगाएर बयान पूरा गरिएको हो । उनीसँग रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले उनीसँग बयान लिएका हुन् ।

छविलाललाई बिहान ११ बजेदेखि बेलुका पौने ७ बजेसम्म बयान लिइएको र बयान सकिएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए। उनले ५७ वटा विभिन्न प्रश्न सोधिएको र त्यसको जवाफ जोशीले दिएको तर उत्तर के दिए भन्ने विषय बताउन नमिल्ने जनाए ।

पौडेलका अनुसार जोशीसँग सहकारीका विषयमा लिनुपर्ने बयान लिइसकिएको हो ।

उनले भने, ‘हाम्रो अनुसन्धानका लागि आवश्यक बयान सकिएको छ, अब प्रहरीले अनुसन्धान गर्नेछ । मैले अनुसन्धानका विषयमा अरु कुरा बोल्न मिल्दैन’, उनले भने, ‘उहाँको अवस्था सामान्य थियो, हामीले सुरुमा सबै प्रश्नको उत्तर दिनसक्ने बताएकाले सोध्न सुरु गरेका थियौं, सहज अवस्थामा उत्तर दिनुभयो, अब यो विषयमा अहिलेलाई बयान सकियो ।’

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी रन्जितसिंह राठौरले जोशीको बयान सकिएकाले उनलाई बुधवार नै पोखरा पठाइने बताए । बयानमा छविलालले पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषय बोलेको बताइए पनि सबै खुलेको छैन ।

जोशीको बयान लिइरहेको बेला जिल्ला अदालतनजिकै सहकारीपीडितहरूले योजनाबद्ध तरिकाले सहकारी ठगी गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शनसमेत गरेका थिए ।

सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले नागरिकको निक्षेप फिर्ता र दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको बताए ।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रुपैयाँ रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ ।

त्यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ । प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप लागेपछि छानविन गरिएको हो । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।

जोशी, लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर भएको छ ।

प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । पूर्वअध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन् । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *