६ महिनामा राष्ट्रपतिका दुई सल्लाहकार विवादित, चिरञ्जीवी जसरी राजीनामा दिन बाबुरामलाई दबाब – Nepal Press

६ महिनामा राष्ट्रपतिका दुई सल्लाहकार विवादित, चिरञ्जीवी जसरी राजीनामा दिन बाबुरामलाई दबाब

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले विवादमा परेर राजीनामा दिएको ५ महिना नपुग्दै अर्का सल्लाहकार झन् ठूलो विवादमा परेका छन् ।

राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवर जीवी राईको कोर ग्रुपका सदस्य रहेको खुलासा नेपाल प्रेसले मङ्गलवार सप्रमाण गरेपछि उनी विवादमा परेका हुन् । सो विषयलाई बुधवारका अन्य पत्रिका र मिडियाले समेत फलोअप गरेका छन् ।

सहकारी ठगी गिरोहका फरार मुख्य अभियुक्तसँगको अपारदर्शी कारोबारमा कुँवरको संलग्नता देखिएकाले उनीमाथि पनि छानबिन गर्न दबाब बढेको छ । रास्वपाले राष्ट्रपतिका सल्लाहकारमाथि अनुसन्धान गर्न चुनौती दिइसकेको छ । जीवी राईसँगकै सम्बन्धका कारण रास्वपा सभापति अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

कुँवरमाथि राजीनामाको दबाब परेको छ,उनले आजै दिउँसो आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । कानून व्यवसायीका हैसियतले जोसुकै व्यक्ति वा फर्मको पक्षमा पेशागत मर्यादा र आचारसंहिताभित्र रहेर काम गर्नु स्वभाविक भएकाले जीविका ठगी शृङ्खलासँग सरोकार नरहेको कुँवरको तर्क छ ।

यसअघि गत वैशाखमा राष्ट्र बैंकले निकाल्ने नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयको आलोचना गरेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. नेपाल विवादमा परेर राजीनामा दिएका थिए । कुँवर त्यो भन्दा विवादास्पद प्रकरणमा मुछिएकाले उनले राजीनामा नदिँदा राष्ट्रपति समेत विवादमा पर्ने भएकाले राजीनामाको दबाब परेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर