रास्वपा नेता–कार्यकर्ताले भरिए पोखराका होटल, तर किन खुशी छैनन् व्यवसायी ? – Nepal Press

रास्वपा नेता–कार्यकर्ताले भरिए पोखराका होटल, तर किन खुशी छैनन् व्यवसायी ?

पोखरा । अहिले पोखराको माहोल अशान्त छ । यहाँ सडकदेखि प्रहरी प्रशासन व्यस्त छन् । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर ल्याएसँगै पोखरा अशान्त बन्दै आएको छ ।

सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा चलाइएको छ ।

सभापति लामिछानेलाई गरिएको पक्राउविरुद्ध रास्वपा सडकमा छ । सरकार जोगाउन लामिछानेलाई पक्राउ गरिएको रास्वपाले दाबी गर्दै आएको छ । रास्वपाले रविलाई रिहा नगर्दासम्म आन्दोलन गर्ने चेतावनी दिइराखेको छ । सहकारी बचतकर्ता पनि रकम फिर्ताका लागि सडकमै आन्दोलन गरिरहेका छन् ।

देशभरबाट रास्वपाका कार्यकर्ता पोखरा आएका छन् । रास्वपाले प्रदर्शनमा सहभागिताका लागि कार्यकर्तालार्य पोखरा आउन आह्वान गरेको छ । चितवनसहित नजिकका कार्यकर्ता पोखरा आइसकेका छन् भने केही आउने क्रममा छन् ।

सिजनका समयमा पनि खाली भएको पोखराका होटललाई देशभरबाट रास्वपाका कार्यकर्ता पोखरा भित्रिँदा केही राहत मिलेको छ । तर, दैनिक हुने प्रदर्शनले पर्यटक नआउने र आएका पर्यटकले समेत समय छोट्याएर फर्किने डर पनि पोखराका व्यवसायीलाई छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी रास्वपाका कार्यकर्ताले एकदुई दिन होटल चलेपनि प्रदर्शनका कारण अन्य पर्यटक नआउने डर पैदा भएको बताउँछन् ।

‘यो आन्तरिक पर्यटक आउने समय हो । उहाँ (रास्वपा कार्यकर्ता)हरु आउँदा होटलहरु त केही त चलेका छन् । उहाँहरु एकदुई दिनमा गइहाल्नुहुन्छ । यसले व्यवसायीमा खासै ठुलो प्रभाव पार्दैन,’ उनी भन्छन्, ‘भएका प्रदर्शनले अरु पर्यटक नआउने हुन् की भन्ने डर पैदा भएको छ ।’

उनकाअनुसार पर्यटकको सिजन भएपनि सोचेअनुसार पर्यटक भित्रिएका छैनन् पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय पर्यटकको संख्या घट्दै गएको छ । दशैं–तिहारको बिदाको छेको पारी आन्तरिक पर्यटक पर्यटकीय राजधानी पोखरा घुम्न आउने गर्छन् । यसपाली रास्वपाका प्रदर्शन गर्दा आन्तरिक पर्यटक नआउने चिन्ता व्यवसायीमा छ ।

सडकमा हुने प्रदर्शनले सवारी चाप त बढाएको छ नै थप जोखिम समेत निम्तिाएको छ । ट्राफिकलाई सवारी व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेले गत शुक्रबारयता पोखरा भित्रिने सवारीको संख्या बढेको बताइन् ।

‘गत शुक्रबारदेखि पोखरा भित्रिनेको संख्या बढ्दो छ । दैनिक एकदेखि डेढ सय बढी मोटरसाइकल पोखरा भित्रिएको छ,’ उनले भनिन्, ‘पोखराको सडकमा सवारीको चाप बढ्दो छ ।’ विरोध र प्रदर्शनका लागि सवारी व्यवस्थापनसमेत प्रहरीलाई असहज बन्दै आएको छ । ‘सडकमा विरोध प्रदर्शन हुँदा डाइसर्भन गर्नुपरिरहेको छ । जसले गर्दा अर्को ठाउँमा सवारी चाप बढ्छ र जाम हुन्छ,’ ट्राफिक प्रमुख पाण्डेले भनिन् ।

रास्वपा गण्डकीका सभापति राजन गौतमले पर्यटकलाई दुख दिने कुनै पनि गतिविधि नगरेको दाबी गरे । उनले पर्यटकलाई मध्यनजर गर्दै दिउँसो समयमा प्रदर्शन गरेको बताए ।

‘पर्यटक हाम्रा पाहुना हुन् । हामीले पर्यटकलाई दुख दिने कुनै क्रियाकलाप गरेका छैनौं । सडकको एक छेउमा प्रदर्शन गरेका हौं । बिहान, साँझ पर्यटकको चाप बढी हुने भएकाले दिउँसोमा मात्र प्रदर्शन गरिरहेका छौं,’ उनले भने । अन्य ठाउँबाट आएका कार्यकर्ताले आफ्नै तरिकाले व्यवस्थापन गरेको सभापति गौतमले उल्लेख गरे ।


प्रतिक्रिया

One thought on “रास्वपा नेता–कार्यकर्ताले भरिए पोखराका होटल, तर किन खुशी छैनन् व्यवसायी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *