रास्वपालाई विश्वप्रकाशको आग्रह- अदालतको फैसला कुरौँ, सडक विलापको जगहँसाइ नगरौँ – Nepal Press

रास्वपालाई विश्वप्रकाशको आग्रह- अदालतको फैसला कुरौँ, सडक विलापको जगहँसाइ नगरौँ

'रास्वपाकै प्रतिनिधिले हस्ताक्षर गरेको प्रतिवेदन अनुसार प्रक्रिया अघि बढाउँदा प्रतिशोध भन्नु संसदकै अपमान हो'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपालाई अदालतको फैसला कुर्न आग्रह गरेका छन् । सहकारी प्रकरणमा सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि सरकारले प्रतिशोध राखेको भनेर सडकमा उत्रिएपछि महामन्त्री शर्माले सडकमा उत्रिएर विलाप नगर्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘काँग्रेसका दुई चार, एमालेका दुई चार, माओवादी, राप्रपा र रास्वपाका दुई चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ। अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ, सडक विलापको जगहँसाइ नगरौँ ।’

दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता रहेको भन्दै स्पष्ट हुन आग्रह गरेका छन् ।

उनले थपेका छन्, ‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ- प्रचलित कानुन बमोजिम कारबाही गर्नू तर प्रक्रिया शुरु भएपछि- राजनैतिक प्रतिशोध भन्नु संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी गरेको उनको टिप्पणी छ।’

‘अन्धभक्तहरूले न पार्टी सुधार्न सक्छन् न देश बनाउन एक मित्रको अभिव्यक्ति सम्झन्छु, निश्चय नै लोभ र डरले जब कसैको इमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ’ उनले थपेका छन्, ‘मेसिनबाट मान्छेमा फर्किँदासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर