बिपी राजमार्गः ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरू – Nepal Press

बिपी राजमार्गः ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरू

काठमाडौं । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो। पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ।

विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरू अधिकांश पूर्ण रूपमा नै सञ्चालनमा आइसकेका छन्। तर बिपी राजमार्ग भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

पूर्ववर्ती क्षेत्रबाट संघीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो। तर लामो पर्ने भएकाले पाँच घण्टाभन्दा बढी जाममा बसेर भए पनि बिपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन्।

बिपी राजमार्गको यात्राका क्रममा पर्यटकहरू पनि सास्ती व्यहोरिरहेका छन्। सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ। त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ। स्थलगत रिपोर्टिङका क्रममा न्युज एजेन्सी नेपालले बिपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उनले ४र५ घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताए।

तत्काल बाटो बन्छ जस्तो उनलाई लागेको छैन। चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले बिपी राजमार्ग हुँदै नै जान छिटो हुने बताए।

उनले भने, ‘४र५ घण्टा कुरेर बस्नुपर्छ। बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ। सुरूमै यस्तो जाम परिसक्यो, बीच बीचमा अझ कति बाँकी छ। उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ।’

सोही क्रममा भेटिएकी रूसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गरिन्। उनले काठमाडौंका लागि आफू हिँडे पनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताइन्।

उनले भनिन्, ‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन। म काठमाडौंका लागि हिँडेको हो। मेरो घर रसिया हो।’

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिएका मोटरसाइकल चालकसँग कुरा गर्दा उनले आफू झापाबाट काठमाडौं हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताए।

उनले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिए।

उनले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गरे।

नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझाव समेत दिए।

उनले भने, ‘म झापाबाट हिँडेको। बाटो उता पनि धेरै नराम्रो छ। त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको। विगतमा यो बाटो धेरै राम्रो थियो। अहिले दुई दिन लाग्छ। खोलाले आफ्नो क्षेत्र ओगटेको छ। उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनु पर्छ।’

बाढी, पहिरोका कारण बिपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ। तर काम पूरा गर्नका लागि १५ अर्ब बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ। —न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *