डेडिकेटेड लाइनको बक्यौता उठाउनेमा मन्त्रालय र प्राधिकरणबीच मतभेद छैन : मन्त्री खड्का (भिडिओ) – Nepal Press

डेडिकेटेड लाइनको बक्यौता उठाउनेमा मन्त्रालय र प्राधिकरणबीच मतभेद छैन : मन्त्री खड्का (भिडिओ)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन् ।

बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको वक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् । उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे ।

उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताए । उनले उद्योगीहरुले विद्युत उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको बताए ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्नेकुरा हास्यास्पद रहेको बताए । उनले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महशुस नगरेको बताए ।

‘डेडिकेटेड लाइनको कुरा संसदमा प्रवेश गरिसकेको विषय भएको र लेखा समितिमा छलफल चलिराखेको उनले बताए । त्यहाँबाट केही निर्णय आउने उनको भनाइ छ ।

प्राधिकरण मन्त्रालय तथा व्यवसायीहरुबीच पनि छलफल भइराखेको खडठ्काले जानकारी दिए ।

‘व्यक्तिगत ढङ्गले अथवा समूह–समूहले, कम्पनी कम्पनीमा प्रयोग गरेको विषय भएका कारणले उहाँहरुसँग व्यक्तिगत ढङ्गले पनि कसरी असुल उपर गर्न सकिन्छ, कसरी तिराउन सकिन्छ उहाँहरुले उपभोग गरेको कुरा । अर्थात उहाँहरुलाई कसरी चित्त बुझाउन सकिन्छ, यो तपाईले उपभोग गरेकै हो । त्यसको प्रमाण जुटाउने पनि कामहरु भइराखेको छ । हामी छलफलमा छौँ । यो अतिरिक्त हो । कुनै उहाँहरुले दैनिकी तिर्नुपर्ने बिल नतिरेको विषय पनि होइन’, मन्त्री खड्काले भने, ‘जतिखेर लोडसेडिङ भयो त्यतिखेर एउटा सम्झौता भयो त्यसकारण उहाँहरुले अतिरिक्त विद्युत उपभोग गर्नुभयो र अतिरिक्त रकमको विवाद भयो । त्यसलाई पनि मन्त्रालय र प्राधिकरण बसेर एउटा टुंगोमा पुर्याउँछ । यहाँहरुले लेखेको बेलाबेला मैले पढ्न पाइरहेको छु, प्राधिकरण मन्त्रालय बीचमा एकदम मतभेद छ, यि सब कुराहरु खालि समाचारका शिर्षकहरु हुन् । त्यस्ता कुराहरु नरहेको कुरा जानकारी गराउँछु । कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद कुरा हो । (पत्रकारको प्रश्नको जवाफ दिँदै) । उहाँलाई(कुलमानलाई) सोध्नुभए पनि हुन्छ । उहाँले मैले यस्तो अनुभुति नै गरेको छैन भन्नुभएको छ । मैले पनि त्यो सोँच बनाएको छैन । टिम मिलेको छ । सबैले उत्साहपूर्वक काम गरिरहनु भएको छ । हटाइरहनुपर्ने आवश्यकताको महशुस गरेको छैन ।’

उनले मन्त्रालय मातहतका सबैले उत्साहपूर्वक काम गरिरहेका भन्दै मन्त्रालयमा राम्रो टिम रहेको उल्लेख गरे ।

मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिमा सहयोग गर्ने क्षेत्रका रुपमा विकास गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *