चार्ज गर्न घन्टौं कुराउँछन् विद्युतीय सवारीसाधन, छैन यात्रुको आकर्षण – Nepal Press

चार्ज गर्न घन्टौं कुराउँछन् विद्युतीय सवारीसाधन, छैन यात्रुको आकर्षण

डोटी । ‘न भाडा सस्तो छ, न समयमा पुर्‍याउनु छ न त सीट क्षमताअनुसार बसेर जान सकिन्छ । अनि किन त्यही बिजुली गाडीमा चढ्नु ? बाटोमा झन बढी समय लाग्छ ।’

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका विमल बोहराले विद्युतीय सवारीसाधनले आफूलाई आकर्षित गर्न नसकेको गुनासो गरे । सुरुका दिनमा सबैले विद्युतीय गाडी चढ्न रहर गरेको भए पनि अचेल भने भरसक तेलबाटै चल्ने गाडी खोज्ने गरेको उनको भनाइ छ ।

डोटी दिपायल सिलगढी नगरपालिका- ६ का योगेश मल्लको भनाइ पनि त्यस्तै छ । उनी भन्छन्, ‘कि भाडा सस्तो गरिदिएको भए यात्रुलाई थोरै राहत हुने थियो कि त सीट क्षमताअनुसार मात्रै यात्रु बोक्ने गरेको भए पनि यात्रा सहज हुने थियो ।’

तेलवाला साधनमा पनि उत्ति नै भाडा तिर्नुपर्ने, अनि उस्तै कोचाकोच हुने भएपछि विद्युतीय सवारीसाधनप्रति यात्रुको चासो नभएको उनको भनाइ छ ।

डोटीको केआई सिंह गाउँपालिका- ५ का दशरथ ताम्राकारको बुझाइ पनि उस्तै छ । ‘बाटोमा चार्ज गर्न करिब एक घण्टा रोक्छन्, भाडा पनि पूरा लिन्छन्’, दशरथ भन्छन् ‘आफूले चिनेको मान्छे थोरै भाडा घटाएर लैजान्छन्, अरुका लागि त तेलवाला गाडी जतिकै भाडा लिने गरेका छन् ।’

उनी पनि कि सीट क्षमताअनुसार मात्रै यात्रु बोकेर सुविधा दिनुपर्ने कि त भाडा घटाउनुपर्ने सुझाव दिन्छन् ।

तेलबाट चल्ने गाडी सञ्चालकहरुका कारण आफूहरुले भाडा घटाउन नसकेको डडेल्धुरा धनगढी रुटमा चल्ने विद्युतीय सवारी चालक बताउँछन् ।

उनी भन्छन्, ‘पहिले हामीले भाडा घटाउने कुरा गरेका थियौं, त्यसो गर्दा विवाद सिर्जना भयो, पछि जिल्ला प्रशासन कार्यालयमा बसेर विवाद समाधान भयो र भाडा पुरानै कायम भयो ।’

विद्युतीय सवारीसाधनमा अचेल यात्रु चढ्न नमान्ने गरेको बैतडी शाहिलेकका हरिश ओड बताउँछन् । उनी भन्छन्, ‘बाटोमा चार्ज गर्नुपर्छ, चार्ज गर्ने ठाउँमा भीडभाड भए कुर्नुपर्ने हुन्छ, सामान्य लाग्ने समयभन्दा डेढदुई घण्टा ढिलो पुगिन्छ ।’

यही कारण अचेल विद्युतीय गाडीमा यात्रु नचढ्ने गरेको ओडको भनाइ छ । ‘विद्युतीय गाडीको विषयमा एउटा भ्रम पनि छ’, हरिश भन्छन्, ‘गाडीको व्याट्री पड्किन्छ र करेन्ट लागेर यात्रु मर्न सक्छन् भन्ने हल्ला छ । त्यसैले पनि अचेल विद्युतीय गाडीमा चढ्न मान्दैनन् ।’

विद्युतीय सवारीसाधन व्यवस्थित गर्नुपर्ने बताउँछन् दिपायल सिलगढी नगरपालिका- ६ का राजु नेपाली । ‘विद्युतीय सवारीसाधन आजको आवश्यकता हो, यसले पेट्रोलियम पदार्थको आयातलाई न्यून गर्छ’, उनी भन्छन्, ‘त्यसैले यसको प्रवर्द्धन गर्न जरुरी छ ।’

उनले विद्युतीय सवारीसाधन धनीहरुले पनि यात्रुको सहज यात्राका लागि भूमिका खेल्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर