राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट – Nepal Press

राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभा विपक्षी दलका नेताहरुले राष्ट्रपति निवास शीतल निवासमा भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

भेटमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिन शीतलनिवासमा आएको जानकारी दिएका थिए ।

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार विपक्षी दलका नेताहरूले संविधानको मर्मविपरीत र बहुलवादमा आधारित मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन राष्ट्रपति विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकारले १०० दिन पूरा गरेकै दिन संसदका विपक्षी दलका नेताहरुले राष्ट्रपति पाैडेल भेट्नुलाई अर्थपूर्ण मानिएकाे छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चासमेत भइरहेकाे बेला राष्ट्रपति पाैडेलसँग विपक्षी दलहरुले भेटेका हुन् ।

विपक्षी दलहरुले मंगलबारमात्रै सरकारलाई विविध विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।

 


प्रतिक्रिया

One thought on “राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट

  1. यी नैतिकहिनहरू एमालेलाई फुटाउने बेलामा उफ्रि उफ्रि हिडने अहिले रूँदै रूँदै ढोका ढोका चाहार्न हिडने । यस्ता अनैतिकहरूले देश चलाएमा के होला ? यी दक्षिणका टटु्हरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर