मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड जम्मा गर्नेसहित यस्ता छन् कोशी सरकारका निर्णयहरु – Nepal Press

मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड जम्मा गर्नेसहित यस्ता छन् कोशी सरकारका निर्णयहरु

विराटनगर । गत असोज १२ र १३ गते भएको अविरल वर्षाले भएको क्षतिको पुनःनिर्माण र सर्मतसम्भार गर्नका लागि मर्मत तथा पुनःनिर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले निर्माण गरेको कोषमा ४० करोड रुपैयाँ जम्मा गरी काम गर्न सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले जानकारी दिए ।

कोशी प्रदेश सरकार आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले कटौति गर्न नमिल्ने रकम बाहेक प्रदेश सरकार र वित्तिय समानिकरण अनुदान श्रोतमा चालू खर्च शीर्षकहरुमा बिनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको बताए ।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई पनि कोषमा सहयोग गर्न आव्हान गर्ने निर्णय भएको मन्त्री अधिकारीले जानकारी दिए ।

बाढी पहिरोको कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर ४ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । क्षति भएका संरचनालाई दीर्घकालिन र तत्काल गर्ने काम छुट्याएर पुनःनिर्माण र मर्मतसम्भारको काम दू्रतगतिमा अगाडि बढाउने सरकारको तयारी छ ।

त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । आजको बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययिता सम्बन्धी दोश्रो संसोधन निर्देशिका स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर