बीपी स्मृति कपः सेमीफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो – Nepal Press

बीपी स्मृति कपः सेमीफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

रुपन्देही । भैरहवामा जारी ‘बीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ ।

बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ ।

जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेको हो । पास्तिानसँग पराजित भएसँगै श्रीलंकन टिम भने प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो खेलमा दुई खेलाडीको अर्धशतकको मद्दतमा भारतको लाइफ केयर क्रिकेट क्लबले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ६३ रनको सहज जित निकाल्यो ।

यी दुवै टीम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । मेसिफाइनल पुग्नेमा नेक्सस रुपन्देही–११ पनि छ ।

बुधबार सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद गोहारले निर्धारिता खेलमा ६ विकेटको नोक्सानीमा १ सय ३७ रन बनायो ।

उसका लागि अली हुसेनले ५९ बलमा ७ चौकाको मद्दतमा ५८ रनको इनिङ खेले । यस्तै, ऋषभ जोशीले अविजित १६, इमरान नाजिरले १४, वष्मन सफीले १२ र रमिस्नले १० रन जोडे । बलिङमा श्रीलंका राज्य सेवाका समन कुमारा र तुसारा लक्ष्मीपागले २–२ तथा ननी वासुपाली र इन्दुमल प्रसादले १–१ विकेट लिए ।

१ सय ३८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको श्रीलंका राज्य सेवा १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो र प्रतियोगिताबाट बाहिरियो । उसलाई सस्तैमा रोक्न बलिङमा पाकिस्तानको जावेद गोहारका समोनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट हात पारे । यस्तै, ऋषभ जोशी र रामिसले २–२ तथा जेम खान र अली अन्सारीले १–१ विकेट लिन सफल भए । श्रीलंका राज्य सेवाका समन कुमाराले ३९ र तुसारा लक्ष्मीपागले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम सेमिफाइनल पुग्नबाट चुक्यो ।

दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लाइफ केयरले ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि जस्मित नैन र विपुलले अर्धशतक प्रहार गरे । जस्मितले अविजित ७२ र विपुलले ७१ रन जोडे । यस्तै, दीपक पुनियाले २० र शुभमले नटआउट १० रनको योगदान गरे । बलिङमा साइक्यूका मोहम्मद ओमरले २ तथा कृष्ण कुमार र राकिव अहम्मदले १–१ विकेट लिए ।

१ सय ९० रनको लक्ष्य पछ्याएको साइक्यूले ९ विकेटको क्षतिमा १ सय २६ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सहदाज रहमानले २७, कृष्ण कुमारले १८ र आषिश पजाहकले १४ रन बनाए । बलिङमा लाइफ केयरका दीपक पुनिया, योगेश कुमार र रोहित डङ्गवालले २–२ विकेट लिए । खेलमा जस्मित नैन म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर