गुणस्तरीय शिक्षाको लागि पनि संविधान संशोधन आवश्यक छ : पूर्वमन्त्री देउवा – Nepal Press

गुणस्तरीय शिक्षाको लागि पनि संविधान संशोधन आवश्यक छ : पूर्वमन्त्री देउवा

कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण गर्ने अवस्था रहेको बताएका छन् ।

कैलालीको धनगढीमा दुई दिनसम्म सञ्चालन भएको नेपाल शिक्षक सङ्घ महासचिव र सचिव स्तरीय राष्ट्रिय भेला समापन समारोहका पूर्व मन्त्री देउवाले देशका ठूला दुई दल मिलेर सरकार सञ्चालन गर्नुको एउटा उद्देश्य संविधान संशोधन पनि रहेको बताएका थिए । शिक्षामा पनि थुप्रै समस्या रहेको भन्दै संविधान संशोधन मार्फत ती समस्याहरू हल गर्नुपर्नेमा उनले जोड दिए ।

‘अहिले नेपाली काँग्रेस र नेकपा (एमाले) दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार सञ्चालन भइरहेको छ । दुई राजनीतिक दलका बिचमा राष्ट्रिय हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिने र संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेको सबल र दुर्लभ पक्ष तथा जटिलताको समीक्षा गरि राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गरि सोही अनुसार कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने कुरा छ’, उनले भने, ‘अहिले शिक्षाको लागि आवश्यक संविधान संशोधन गर्नु पर्ने कार्यको लबिङ शिक्षक सङ्घले खेल्नु पर्छ भने नेतृत्वदायी भूमिका नेपाली काँग्रेसले खेल्नु पर्छ । म यसका लागि प्रयास गर्नेछु ।’

२०२८ सालको शिक्षा ऐनलाई सङ्घीय संरचना अनुसार संशोधन गरी गर्न, अस्थायी, करार, राहत, बाल विकास, साबिक उच्च मावि, प्राविधिक धार, विद्यालय कर्मचारीलाई सबैलाई एक पटकलाई आवश्यक प्रबन्ध गरि स्थायी गरि एकै थरीका शिक्षकको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

विद्यालय शिक्षा विधेयकका कतिपय प्रावधानलाई सांसदबाट परिमार्जन गरेर अघि बढ्ने सहमति अनुसार अगाडी बढ्नु पर्नेमा उनले जोड दिएका थिए ।

गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार भन्ने मूल नाराका साथ मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सम्मेलन समारोह समापनमा उपस्थित पूर्व मन्त्री देउवाले राष्ट्रिय सम्मेलनले नवीनतम ऊर्जा र उत्साह थपेको विश्वास व्यक्त गरेका थिए ।

‘यो ऊर्जा र उत्साहलाई सङ्गठन,आफ्नो पेसा र समाजमा सकारात्मक भावना विकास गराउनु हुनेछ . यही अठोट, ऊर्जा र उत्साह लिएर धनगढीबाट फर्किँदै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु । साथै यहाँहरूले सार्वजनिक गर्नु भएको धनगढी घोषणापत्रको कार्यान्वयनमा लागु हुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।

महासचिव र सचिव स्तरीय राष्ट्रिय भेलामा शिक्षक नेपाल शिक्षक सङ्घका सङ्घीय अध्यक्ष सोमनाथ गिरि, महासचिव तथा सङ्गठन विभाग प्रमुख ज्ञानेन्द्र रावल, सङ्घीय पदाधिकारी, प्रदेश अध्यक्ष तथा पदाधिकारी, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर