१७ औं गाेदावरी प्रदर्शनी मेला सुरु, प्रवेश शुल्क मंहगो भएकाे गुनासाे – Nepal Press

१७ औं गाेदावरी प्रदर्शनी मेला सुरु, प्रवेश शुल्क मंहगो भएकाे गुनासाे

काठमाडौं । १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ आजदेखि सुरु भएकाे छ ।

“रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजदेखि (कार्तिक ८ देखि ११ गतेसम्म )जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन भइरहेकाे फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले  जनाएकाे  छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायिक विकास बिस्तार तथा प्रबर्द्धन गर्ने उद्धेश्यले२०५१ सालदेखि लगातार रुपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आइरहेकाे आयाेजकले  जनाएकाे छ ।

तिहार तथा छठ पर्व नजिकिदै गर्दा आँगन बगैचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुऱ्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको फ्यानले जनाएको छ ।

यस प्रदर्शनीमा व्यवसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरुका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने फ्यानका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिए ।

यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर, २० स्पाईडर, ३० रिफ्लेक्स, ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती रहेकाे छ।

साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा बिधागत उत्कृष्ठ हुने नर्सरीरफर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।

यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुदै आएको बिबिध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केहि नयाँ प्रजातीका फूल बिरुवाहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनेछन् । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश छन् ।

पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्रदान गरिने छ । ४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

साथै फ्यानको आयोजना र लाईन्स क्लब अफ ग्लोवल फ्लोरिकल्चर संगको सहकार्यमा मेला अवधि भित्र रक्तदान कार्यक्रम समेत हुँदैछ ।
मेलामा प्रवेश शुल्क सर्वसाधरणलाई १०० र विद्यार्थीलाई ५० रुपैयाँ तोकेको छ । प्रवेश शुल्क मंहगो भएको उपभाेक्ताहरुले गुनासाे गरेका छन् । मंहगाे शुल्कमा फूल किन्नुपर्ने त्यसमाथि प्रवेश शुल्क पनि मंहगाे गरेकाे  उपभाेक्ताहरुकाे भनाइ छ ।  उनीहरुले प्रवेश शुल्क नि: शुल्क हुनुपर्ने माग  गरेका छन्।

  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर