विराटनगरबाट शेखरले भने- सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ (भिडिओ) – Nepal Press

विराटनगरबाट शेखरले भने- सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने बताएका छन् ।

बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा उनले करिब दुई तिहाइको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याए ।

 

‘हाम्रो संख्या कति पुग्छ त्यसमा भर पर्छ । कांग्रेस र एमालेको संसदको संख्या भनेको झण्डै-झण्डै २ तिहाइको बहुमतको संख्या छ । जबसम्म कांग्रेसले हात झिक्दैन तबसम्म त यो सरकार चलिरहन्छ नि ! नेपाली कांग्रेसले पनि हात झिक्नुपर्ने अवस्था म चैँ देख्दिनँ’, कोइरालाले भने ।

सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उनको भनाइ छ । जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको कोइरालाले टिप्पणी गरे ।

रास्वपाप्रति लक्षित गर्दै उनले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएकोले न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताए । सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको शेखरले बताए ।

उनले आफूलाई पार्टीभित्र विभेद गर्ने कार्यबारे संवेदनशील रहेको र यसबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए । प्रदेश सरकार विस्तारबारे आफूसँग छलफल नगरिएको उनले गुनासो गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर