सडक अदालतले फैसला गर्ने दिन गयो : प्रदीप ज्ञवाली – Nepal Press

सडक अदालतले फैसला गर्ने दिन गयो : प्रदीप ज्ञवाली

बिर्तामोड । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सडक अदालतले फैसला गर्ने दिन गएको बताएका छन् । नेकपा एमाले झापाले बिहीवार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले रास्वपाले सडक अदालतबाट फैसला गर्न चाहेको बताए ।

नेता ज्ञवालीले रास्वपालाई अदालतले फैसला गर्ने भन्दै सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए । उनले रास्वपाले ‘क्लिन चिट’ पाएको भन्दै हुर्रे गरिसकेकाले अदालतबाट पनि क्लिन चिट ल्याउन सुझाव दिएका छन् । सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ’, ज्ञवालीले भने, ‘कसैलाई कानून लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुदैन ।’

कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीसहित अन्य धेरै नेताहरु पक्राउ पर्दा कुनै पनि पार्टीले जुलुस ननिकालेको ज्ञवालीको भनाइ छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धान चलिरहेको बेला प्रदर्शन गरेर कानून कार्यान्वयन गर्ने निकायलाई प्रभावित बनाउन खोजेर गल्ती गरेको बताए ।

‘राज्यका निकायलाई काम गर्न दिनुपर्छ’, उनले भने, ‘यो सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्नेछ । संलग्नता भए कानूनी कारबाही हुन्छ, नभए सफाइ पाइनेछ ।’ एमालेले संविधानसभा सदस्य इच्छाराज तामाङ देखि बहालवाला बाग्लुङका मेयरलाई भइरहेको कारबाहीमा अवरोध नगरेको बताए ।

केन्द्र तह, जिल्ला, पालिका र जनवर्गीय संगठनका नेताहरु सहभागी भएको कार्यकर्ता भेलामा समसामयिक विचार प्रस्तुत गर्दै नेता ज्ञवाली गल्ती नगर्नेहरु डराउनु नपर्ने बताएका छन् ।

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उनले व्यवस्थाकै विरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेसले सरकार बनाएको धारणा राखे । यो सरकारले अस्थिरताको अन्त्य गर्ने नेता ज्ञवादीको भनाइ छ ।

देश बन्दैन, बंगलादेश जस्तो बनाइदिन्छौ भन्दै देशमा निराशा फैल्याउने काम भइरहेकोले सचेत हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । गणतन्त्र मन नपराउनेहरुले बंगलादेश बनाइदिन्छौ भन्दा राजाबादीहरुले पनि मुख मिठ्याएको उनको प्रतिक्रिया थियो ।

नेता ज्ञवालीले पार्टी र सरकार बारेमा धारणा बनाउदा राम्रो बुझेर मात्र बनाउन सूझाव दिएका छन् । ‘पार्टीबाट पनि कमजोरी हुन्छ, हुन सक्छ’, उनले भने, ‘त्यो बेला पनि धारणा बनाउदा यथार्थ बुझेर बनाउन आग्रह गरेका छन् । पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिँदै आत्मबल बलियो बनाएर काम गर्न भनेका छन् । आत्मबल नै कमजोर भयो भने मात्र समस्या हुन्छ, नत्र केही हुने वाला छैन ।’

प्रशिक्षणका क्रममा उनले माओवादीको प्रसंगलाई पनि जोडे । माओवादी अध्यक्ष प्रचण्डले ३२ सिटे जादुमयी नम्बरबाट कांग्रेस एमालेलाई घुमाइरहने सपना देखेपछि उनको नेतृत्वले अस्थिरता बढाउदै लैजाने निष्कर्ष निकालेको बताए ।

नेता ज्ञवालीले माओवादीले एमाले–कांग्रेसलाई घुमाइरहने अवस्थालाई बन्द गर्न पनि राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिएको बताए । उनले कांग्रेस एमाले सरकारमा भए पनि निर्वाचनमा एकअर्काको प्रतिष्पर्धी भएको जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर