ओछ्यानबाटै हर्क साम्पाङको चुनौती- यो जुत्ताको १३ लाख पर्छ भन्नेलाई उपहार दिन्छु, एयरपोर्ट आइराख्नु – Nepal Press

ओछ्यानबाटै हर्क साम्पाङको चुनौती- यो जुत्ताको १३ लाख पर्छ भन्नेलाई उपहार दिन्छु, एयरपोर्ट आइराख्नु

काठमाडौं । बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालमा रहेका समर्थक/शुभचिन्तकहरुलाई आफ्नो न्यास्रो लाग्न दिएका छैनन् । उनी नेपालमा छँदाजस्तै सामाजिक सञ्जालमार्फत आफ्ना अपडेटहरु दिइरहेका छन् । केवल ढुंगा बोकेको फोटो आएको छैन ।

आज त उनी विहान ओछ्यानबाटै नउठिकन साम्पाङ लाइभमा आए । उनको साथमा एक जोर जुत्ता पनि थिए । सिरक ओढीओढी उनले आफ्नो जुत्ता देखाएर सोधे, ‘यो जुत्तालाई १३ लाख पर्छ ?’

खासमा केही आलोचकले साम्पाङ लन्डन जाँदा लगाएको जुत्ता १३ लाख रुपैयाँ पर्ने भनेर लेखिदिएका रहेछन् । त्यसैको जवाफ दिन उनी बिहान आँखा पनि नपखाली लाइभमा आएका थिए ।

स्केचर्स ब्रान्डको जुत्ता आफूलाई दाइले किनिदिएको उनले खुलाए । ‘पार्टी सुज लगाएर आएको थिएँ । तर, यसले सबैतिर हिँड्दा कम्फर्टेबल हुँदैन भनेर दाइले किनिदिनुभएको हो’, उनले प्रष्ट्याए ।

त्यसपछि उनले आफ्नो मोबाइल निकालेर अमेजनमा जुत्ताको मूल्य चेक गर्न थाले । हर्कका अनुसार त्यसमा मूल्य ५९ डलर लेखिएको थियो ।

‘५९ डलर भनेको नेपालीमा कति हो ?’ साम्पाङले आफैंलाई सोधे । तर जवाफ दिएनन् ।

त्यसपछि आफ्नै पारामा भुत्भुताए, ‘जुत्ता यही हो । आफैंले अमेजनमा गएर चेक गर्दा हुन्छ । ५९ डलर लेख्या छ । कति करोडको घडी लगाए भन्नेसँग दाँज्न खोजेको होला ।’

उनले १३ लाखको भन्नेहरुलाई नै जुत्ता दिन तयार रहेको समेत बताए ।

‘जसले १३ लाख–१३ लाख भनेर गीत गइरहेका छन्, र मेरो बदनाम गरिरहेका छन्, म उसैलाई यो जुत्ता दिन तयार छु । म फर्किँदा एयरपोर्टमा आइराख्नु । मैले नै बदनाम गरेको हो भन्नुस म दिन्छु ।’
हर्कले आफूलाई १३ लाखको जुत्ता लगाएको भनेर बदनाम गर्न खोजिएको भन्दै ब्याक टु ब्याक स्टाटस पिन लेखेका छन् ।

उनले भनेका छन्, ‘पब्लिकले लगाएर फालेको थोत्रे लुगा धोएर सिलाएर लगाएर भए पनि देश र जनताको लागि सेवा गर्न तयार व्यक्ति हुँ म ! मलाई मेरो सादगी र आत्मसम्मानमा चोट पुग्ने गरी लेख्नु र बोल्नु अघि धेरै सोच्ने गर्नु ! म आफ्नो लागि राजनीति गर्न आएको व्यक्ति होइन !’

अर्को स्टाटस छ, ‘मात्र ५९ डलर पर्ने जुत्तालाई १३ लाखको जुत्ता लगायो भन्दै मेरो सादगीमा खोट लगाएर मलाई आरोप लगाउने व्यक्तिलाई अनुरोध ‘कृपया एयरपोर्टमा आइराख्नु ! तपाइँलाई नै उपहार दिने छु त्यो जुत्ता !’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर