नेपाल प्रेस समाचार प्रभाव: २५ वर्षअघि हराएका राजेशको यसरी भयो पारिवारिक मिलन (भिडिओ) – Nepal Press

नेपाल प्रेस समाचार प्रभाव: २५ वर्षअघि हराएका राजेशको यसरी भयो पारिवारिक मिलन (भिडिओ)

नागरिकता बनाएर तिहारपछि आउने सर्तमा रायमाझी परिवारलाई अंकमाल गर्दै पाल्पाबाट मोरङ हिँडे न्यौपाने परिवार

रुपन्देही । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं ३ खस्यौलीमा २५ वर्षदेखि बेपत्ता अवस्थामा बसेका मोरङका राजेश न्यौपानेको पारिवारिक मिलन भएको छ ।

पूर्वी नेपालको मोरङस्थित पथरी शनिचरे नगरपालिका वडा नं ६ स्थायी घर भएका उनी अहिले ३६ वर्षको पुगेको परिवारले देखाएको जन्मदर्ता विवरणमा छ । यो विषयमा नेपाल प्रेसले असोज १९ गते खोजमूलक विशेष समाचार प्रकाशन गरेको थियो । अहिले भेटिएका परिवारका अनुसार राजेश १० वर्षको उमेरमा २०५५ सालमा छिमेकी ठूलीआमा सीता पौडेलसँग भारतमा गएको बेला हराएका थिए ।

राजेशका बुवा लीलाधर न्यौपाने र आमा सरस्वती हुन् । बुवा ८ वर्षअघि बितिसकेका छन् । लीलाधर र सरस्वतीका दुई भाइ छोरामध्ये राजेश जेठा र कान्छा जीवन हुन् एक बहिनी छन् । भाइबहिनी दुवैको बिहेवारि भएर छोराछोरीसमेत छन् ।

समाचारमा प्रकाशित सबै विवरण हेरेपछि राजेशका परिवारले सम्पर्कका लागि वडा कार्यालयमार्फत पहल गरेका थिए । बुधवार मोरङबाट सबै कागजपत्र लिएर पाल्पाको खस्यौली पुगेका राजेशको परिवारले अहिलेसम्म उनलाई राख्ने परिवारलाई धन्यवाद दिए भने अहिलेसम्म राखेका परिवारले अंगालो मारेर बिदाइ गरे ।

खस्यौलीका रायमाझी परिवारले अहिलेसम्म उनलाई राखेका थिए । शारीरिक रूपमा सबै ठीक रहेका राजेश पाल्पामा आएर पनि पढ्न रुचि गरेनन् ।

नेपाल प्रेससँग राजेशले यसअघि ३५ वर्ष हराएका प्रकाश तामाङले घर भेटेर आफ्नो गाउँ फर्केर आमाबुबासँग बसेको समाचार सुनेपछि आफूलाई पनि रहर लागेको बताएका थिए । उनलाई लिनका लागि भाइ जीवन न्यौपाने बुहारी रिज्जु न्यौपाने, मामाको छोरी बहिनी जानुका फुयाँल श्रेष्ठ र छिमेकी ठूलीआमा सीता पौडेल मोरङबाट पाल्पा आएर लगेका हुन् ।

भारतबाट ०५५ सालमा हराएका उनी विभिन्न गाडी चढेर पाल्पा पुगेर झरेपछि त्यहाँ रहेको रायमाझी परिवारमा पुगेका थिए । राजेशलाई अहिलेसम्म राखेका गोपालजंग रायमाझीले राजेशका आफन्तले प्रहरीमा हराएको दिएको निवेदन, पत्रिकामा प्रकाशन गरेको सूचना, वडा कार्यालयको सिफारिस, जन्मदर्ताको प्रमाणपत्र लिएर आएको र धेरै सूचना मिल्दो रहेकाले यहाँको वडा कार्यालयबाट त्यहाँको वडा कार्यालयलाई साक्षी राखेर बुझाएको बताए ।

‘हामीले सबै आधार हेरेर पालिका अध्यक्ष, वडाध्यक्षलाई राखेर सिडियोलाई सल्लाह लिएर हस्तान्तरण गरेका हौँ, राजेका भाइले नागरिकता बनाएर तिहारपछि लिएर आउने र यहाँ उनको नाममा जम्मा भएको रकम, केही सामानहरु दिने समझदारी भएको छ, मेरो आमाले कान्छो छोराको रूपमा उनलाई राख्नुभएको थियो, केही रकम हामीलाई पनि सूचना नदिई जम्मा गरिदिनुभएको छ’ उनले भने–‘उनको उता व्यवस्थापन भएन भने हामीले नागरिकता बनेपछि यही ल्याएर घर बनाएर व्यवस्थापन गर्ने भनेका छौँ,उता व्यवस्थापन भए यहाँ जम्मा भएको सबै रकम,समान हस्तान्तरण गरेर पटाउँछौँ, अहिलेलाई आउने जाने बाटो खर्च परिवारबाट, र पालिकाबाटसमेत दिएर पठाएका छौँ ।’

२५ वर्ष एकै परिवारको सदस्य बनाएर राखेकी ७० वर्षीय गोपालकी आमा तिलकुमारी रायमाझी भने राजेशलाई पठाउँदा अनुहारमा खुसी थिइनन् । राजेशलाई लिन आएका उनका भाइ जीवन न्यौपानेले धेरैतिरको खोजीको प्रयासमा नभेटाएर आशा मारेको समयमा पछिल्लो पटक सार्वजनिक भएका समाचारअनुसार खोज्दै जाँदा यसरी भेटाएको बताउँदै यति लामो समय हराएको परिवारको सदस्य भेटिँदा खुसीको सीमा नभएको बताए ।

‘यसमा कस्तो खुसी हुन्छ त्यसको कुनै अनुमान नै हुँदैन, बुवा पति बितिसक्नुभयो, हामीले धेरैतिर खोजेका थियौँ, पछिल्लो समाचार हेरेर वडा कार्यालयबाट सिफारिस बनाएर आएका हौँ, अब घरमा पुगेर नागरिकता बनाएर तिहारपछि यहाँ आउने हो’ उनले भने, ‘हाम्रो सदस्य खोज्न मुख्य भूमिका खेल्ने पत्रकार तथा सञ्चार माध्यमलाई धेरै धेरै बधाई छ, यसको गुन हाम्रो परिवारले कहिले तिरेर सकिँदैन ।’

राजेशलाई लिन आएकी छिमेकी ठूलीआमा सीता पौडेलले ०५५ सालमा आफूसँग भारत गएको बेला राजेश हराएको, उनको बोलाउने नाम राजेश र वास्तविक नाम टेकनाथ न्यौपाने रहेको बताइन् । परिवारका सदस्य खोज्दै आएपछि सुरुमा अलमलजस्तै परेका राजेश पछि भने खुसी भएका थिए । बिहीबार रायमाझी परिवारले रिब्दीकोटा गाउँपालिका अध्यक्ष, वडा नं ३ का वडाध्यक्षसमेत स्थानीयलाई राखेर राजेशलाई जिम्मा लगाएको छ ।

वडाध्यक्ष नारायण जोशीले राजेशका आफन्त दाबी गरेका परिवारले ल्याएका सबै कागज मिल्दो देखिएकाले त्यहाँको वडाबाट पनि सिफारिस भएकाले जिम्मा लगाएको बताए ।

‘यहाँ पनि राम्रै तरिकाले रायमाझी परिवारले राख्नुभएको थियो, उहाँ पनि वडालाई जिम्मेवारी लगाएका छौँ, सबै कागजपत्र हेरेर सिडियोसापको सल्लाहमा जिम्मा लगाएका छौँ, उहाँ पुगेर राजेशको व्यवस्थापन कसरी हुन्छ समस्या भए यहाँ ल्याउने कुरा छ रायमाझी परिवारको’ उनले भने ।

रायमाझी परिवारलाई रिझाएर बसेका राजेशले स्मार्ट फोन राखेका छन् भने फेसबुक पनि चलाउँछन् । २५ वर्षअघि पाल्पामा अलपत्र परेका राजेशलाई त्यो बेला संरक्षण गरेर राख्ने मूली मान्छे धनवीर रायमाझीको मृत्यु भइसकेको छ ।

धनवीर र उनकी आमाले छिमेकीले अलपत्र अवस्थामा ल्याएको बच्चालाई स्याहार गरेर राखेका थिए । त्यसो त धनवीरका सन्तान नभएर भने होइन । ६ जना छोराछोरी रहेको उनको परिवारमा राजेश थपिएपछि ७ जना भए भन्दै धनवीरले उनका कोही आफन्त आए दिने नभए घरमै पालेर राख्ने भन्दै प्रहरीलाई पनि खबर गरेका थिए । अहिले धनवीरका एक छोरा र बुहारी स्थानीय विद्यालयको शिक्षक छन् गोपाल रायमाझी र रुपा रायमाझी ।

रिब्दीकोट गाउँपालिका वडा नं ३ मा रहेको सरस्वती माविमा अध्यापन गराउने शिक्षक गोपालजंग रायमाझी र रुपा रायमाझीले राजेशलाई बिदाइ गर्दा नराम्रो लागे पनि उनको पारिवारिक मिलनले खुसी लागेको बताए । अहिलेसम्म परिवार नभेटिँदा उनी वयस्क भए पनि नागरिकता पाउन सकेका छैनन् ।


प्रतिक्रिया

One thought on “नेपाल प्रेस समाचार प्रभाव: २५ वर्षअघि हराएका राजेशको यसरी भयो पारिवारिक मिलन (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर