सरकारले सय दिनमा राम्रो काम गर्‍यो, डेढ वर्ष मैले चलाउने भनेको छः देउवा (भिडिओ) – Nepal Press

सरकारले सय दिनमा राम्रो काम गर्‍यो, डेढ वर्ष मैले चलाउने भनेको छः देउवा (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको काममा कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उनको प्रष्टोक्ति छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए ।

सबै किसिमबाट सरकारले गति लिएको भन्दै उनले विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको टिप्पणी गरे । वर्तमान सरकार पूरा कार्यकाल जाने र ओली २ वर्ष प्रधानमन्त्री बनिसकेपछि बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने देउवाले बताए ।

 

उनले भने, ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि ! राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । कहाँ काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो । त्यस्तो केही छैन ।’

सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर