बुटवलको कोलाहल रोक्ने आकर्षक गन्तव्य नुवाकोटगढी – Nepal Press

बुटवलको कोलाहल रोक्ने आकर्षक गन्तव्य नुवाकोटगढी

रुपन्देही । नेपालीले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको मुख्य स्थान हो पाल्पा नुवाकोटगढी । पाल्पाको तिनाउ गाउँपालिका वडा नं २ मा अवस्थित यस ठाउँमा पुग्न बुटवलको बेलबास तथा पाल्पाको दोभानबाट पक्की मोटरबाटो बनेको छ पुरानो बुटवल नजिकैबाट केबलकार संचालनमा आएको छ ।

इतिहासका जानकारहरुका अनुसार गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका ऐतिहासिक तथा पुरातात्विक क्षेत्र पाल्पा र रुपन्देहीको सीमा नुवाकोटगढी हो । नुवाकोटमा भगवती मन्दिर, भैरवकामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने र लुकाउने खरखजाना घर छ ।

बुद्धकालीन संरचना झल्काउने राजा शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थल, रानीकुवालगायत ऐतिहासिक र पुरातात्विक संरचना रहेको र यो पुराना पुर्खाहरुको हिँड्ने बाटोको आराम गर्ने स्थल रहेको इतिहासविद् राजेन्द्रकुमार आचार्य बताउँछन् ।

यो क्षेत्रको प्रचारमा पैरवी गर्दै आएको पूर्वशिक्षक दलबहादुर गुरुङका अनुसार लुम्बिनीसहित रुपन्देही आउने आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्ने प्रशस्त आधार नुवाकोटमा रहेकाे छ ।

बुटवल आसपासका दृश्य हेर्ने प्राकृतिक भ्यूटावर रहेको नुवाकोटगढी हुँदै परापूर्वकालदेखि नै बुटवल, भैरहवा भएर भारतीय भूमिमा आउजाउ गर्ने मुख्य पदमार्ग रहेको उनको भनाइ छ । इतिहासबारे जान्न खोज्ने पर्यटकहरुले आफ्ना पूर्वजले यात्रा गरेको पदमार्गको स्मरण गर्न पनि यहाँ आउने गरेका छन् ।

इतिहासविद् आचार्यका अनुसार अर्घाखाँची, बाग्लुङ, पर्वत, स्याङ्जा, गुल्मी र पाल्पाका मानिसहरु पाल्पाको मस्याम लेक हुँदै सिस्नेखोला, मरेक, रानीबास, बोटेगाउँ भएर कचला खोला हुँदै दोभान निस्कन्थे र दोभानबाट उकालो चढदै नुवाकोटगढी भएर जितगढी ओर्लेर बटौली पुगेर वस्तु विनिमय गरेर आवश्यक नुन,तेल, कपडा लैजाने गर्दथे ।

अङ्ग्रेजलाई हराएका नेपाली सेनाको आश्रयस्थलदेखि प्राचीन पुर्खाहरूले नुन बोक्दा रेकर्ड राख्ने भन्सार डाँडाको इतिहास बोकेको नुवाकोट ऐतिहासिक महत्वसँग पनि जोडिएका कारण पर्यटकहरुका लागि अध्ययनको थलो हो । सिद्धार्थ राजमार्ग निर्माण भएपछि अहिलेको पुस्तालाई ती कुरा कथाजस्तै भएको छ । अहिले यहाँ पुग्ने पक्की मोटरबाटो मात्रै होइन केबुलकार चढेर जना पाउँछन् ।

यहाँ निर्माण भएको सिद्धार्थ केबलकारले यो सेवा सुरु गरेको छ । बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि–मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेशन बनाएर सिद्धार्थ केबुलकार संचालनमा आएको हो । केबुलकारको पूर्वाधार निर्माण गर्दा नुवाकोटगढीका सबै ऐतिहासिक गढीका सम्पदाहरु संरक्षण र पुनःनिर्माण भएका छन् ।

केबुलकारसँगै नुवाकोटगढीमा कालभैरवको मन्दिर निर्माण, बुद्धको मूर्ति, मणिमुकुन्द सेन उद्यान, सांस्कृतिक संग्रहालय, ऋषि कालदेवलको मन्दिर निर्माण भएको छ । नुवाकोटगढी प्राकृतिक भ्यूटावर भए पनि पर्यटकहरुका लागि अलग्यै भ्यूटावर र बालाजीको मन्दिर पनि निर्माण गरिएको पर्यटन व्यवसायी माधव नेपाल बताउँछन् ।

पूर्वपश्चिम राजमार्गको बेलबास शान्तिचोकदेखि उत्तरतर्फ ८ किलोमिटर पक्कीबाटो र पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल सडकबाट पुगिने नुवाकोटगढी अहिले आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको त्यहाँका पर्यटन व्यवसायी कृष्ण कुमाल बताउँछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्गबाट करिब साढे दुई घण्टामा नुवाकोट पुग्न सकिन्छ ।

शहरको कोलाहलभन्दा छुट्टै र शान्त वातावरणसहित सहजै बुटवल, भैरहवा, देवदह तथा लुम्बिनीसम्मका दृश्य अवलोकन गर्न सकिने पाल्पाको नुवाकोटमा चहलपहल दिन प्रतिदिन बढिरहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । गर्मी मौसममा चिसो हावा र जाडो मौसममा घाम ताप्न पाइने भएकाले बाह्रै महिनाजसो यस ठाउँमा पर्यटकको भिड लाग्ने गरेको छ ।

शहरको व्यस्त जीवन शैली र थकान मेट्नका लागि तराईदेखि छोटो दूरीमै आरामको बिसौनीका लागि साथीभाई तथा परिवारसँग सहजै पुग्न सकिने गन्तव्य भएका कारण नुवाकोटमा चहलपहल बढेको हो । नुवाकोटमा केवलकारको टप स्टेशन र कमलको फूलसहितको बगैचा,गौतमबद्धको मुर्ति तयार भइसकेको छ ।

नुवाकोटमा सानाठूला २० भन्दा बढी होटलमा १ अर्बभन्दा बढी लगानी भइसकेको व्यवसायीहरुको भनाइ छ । नुवाकोटगढी विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटले अझै फड्को मार्ने गरी योजनाहरु कार्यान्वयनको चरणमा रहेको र केबलकारको संचालनपछि आएका पर्यटकले आफूहरुलाई हौसाएको बताउँछन् । नुवाकोटमै सिद्धार्थ केवलकारको टिमले पाँचतारे होटल निर्माणकै क्रममा रहेको छ । नुवाकोटमा समस्याक रुपमा रहेको खानेपानी समाधानका लागि लिफ्टिङ खानेपानी निर्माण सम्पन्न भइसकेको छ ।

नुवाकोटको पर्यटकीय गन्तव्यमा स्वागतका लागि दुई जना युवा व्यवसायीहरुले ‘नुवाकोटगढी रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् । बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्त लगानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवलबाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने रिसोर्ट समुन्द्र सतह देखि ९५० मिटर उचाईमा रहेको छ ।

बुटवलको चर्को गर्मीबाट केही शीत्तलता प्राप्त गर्न र रमाउन चाहनेहरुका लागि मध्यनजर गर्दै दुई युवाहरुले डेढ करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्टले एग्रो फार्म पनि सञ्चालन गरेको छ । रिसोर्ट सञ्चालक कृष्ण कुमालले बुटवलको कोलाहलबाट केही टाढा रहेर रम्नेहरुका लागि रिसोर्ट उत्कृष्ट गन्तव्य रहेको बताए ।

रिसोर्टबाट रात्रिकालीन बुटवल पूरा देख्न सकिन्छ । गाउँले परिवेश रहेको रिसोर्टमा गुन्द्रीमा पलेटी कसेर खानपिन, घोडा सवार गर्न पनि रिसोर्टमै उपलब्ध रहेको उनले बताए । १२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा हाल १२ वटा मात्र कोठा छन् । रिसोर्ट बाहिर क्याम्पियन फायर गर्ने व्यवस्था समेत छ । त्यस्तै २५ वटा टेन्ट राखेर बाहिरै ग्राहकले रातीमा सुत्न पाउँछन् ।

अहिले रिसोर्टमा दैनिक सेवाग्राही पुग्ने गरेका छन् । सञ्चालक कुमालले यो अवस्थामा पनि रिसोर्टले गतिलिनु सुखद भएको बताए । उनले अझै केही संरचना थप गर्न बाँकी रहेको बताए । रिसोर्टमा मौलिक परम्पराका वस्तुहरु राखिएको, गुन्द्री, लान्टिन, डोका, थुम्सीले रिसोर्टलाई थप आर्कर्षित बनाएको छ ।

व्यवसायी प्रतिक भट्टराईले नेपाली मौलिकतापन झल्काएर गाउँले परिवेशमा बनेको रिसोर्टको धेरै पर्यटकलाई लोभ्याउने गरेको बताए । बुटवलमा व्यवसाय गर्नेहरु साँझ आराम गर्नका लागि यहाँ विकल्प हुने भएकाले पछि त्यहीँ बस्ने योजना बनाएर जग्गा किनेर राखेको व्यवसायी उमेश कुँवर बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *