यूएईमा आममाफी: १७ वर्षपछि नेपाल फर्किए परिवारले आश मारेका उजुर – Nepal Press

यूएईमा आममाफी: १७ वर्षपछि नेपाल फर्किए परिवारले आश मारेका उजुर

यूएई । रोजगारिका लागि झन्डै १८ वर्ष पहिले यूएई आएका उजुरसिङ लिम्बू हराइरहेका भन्दै खोजी गरिदिन किराँत याक्थुङ चुम्लुङ यूएईका पूर्वअध्यक्ष गजबहादुर लिम्बूले नेपाली समाज यूएईलाई सन् २०२४ को जनवरी दोस्रो सातामा जानकारी गराए । कागजातमात्रै होइन, राहदानी नम्बरसम्म पत्तो नभएका उजुरसिङ परिवारको सम्पर्कमा नआएको वर्षौं भएको थियो ।

सन् १९९९ मा ५ वर्षे हस्तलिखित राहदानी बनाएर मलेसिया उडेका उजुर २००७ मा यूएई छिरेकोबाहेक परिवारसँग अरु कुनै जानकारी र अभिलेख थिएन । परिवारले सबैतिर खोज्यौं, कहीँ केही भेट्टाउन सकेन । केही सीप नलागेपछि परिवारले आश मारिसकेका थिए । मिक्वाखोला- ५ ताप्लेजुङका उजुरसिङको घरमा उनको कुनै विवरण थिएन ।

नेपाली समाज यूएईले सूचना पाएलगत्तै नेपाली दूतावास आबुधावी र अन्य विभिन्न निकायमा समन्वयको प्रयास गर्‍यो, तर हस्तलिखित ढड्डामा नागरिकता र राहदानी भेटिएन । पहिलो पटक उजुरसिङ सन् २००४ मा राहदानी नवीकरण गरेर सन् २००७ मा यूएई छिरेका रहेछन् । सन् २००४ मा मलेसियास्थित नेपाली दूतावासमार्फत उनले हस्तलिखित राहदानी नवीकरण गरेको तथ्य आबुधावीस्थित नेपाली दूतावासमा राहदानी फाँट हेर्ने द्वितीय सचिव तिलबहादुर सुनारले फेला पारे, तर थप अन्य कुनै विवरण र कागजात भने भेटिएन ।

मलेसिया र आबुधावीमा रहेको दूतावासले राहदानीको रेकर्ड भेट्टाउन संयुक्त रुपमा प्रयास गरिरहे । नेपालका विभिन्न निकायहरुमा पुगेर ढ्ड्डा केलाउँदा पनि उजुरको कागजात कहीँकतै पत्तो लागेन ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्की आफैं परराष्ट्र, कन्सुलर, अध्यागमन, श्रम, जिल्ला प्रशासन सबैतिर पुग्दा पनि केही मेसो नलागेपछि उजुरसिङलाई नेपाल फर्काउन सकिने आशा मारिसकेका थिए । नेपाली समाज यूएईले आबुधावीमा रहेको नेपाली दूतावाससँग समन्वय गरिरहेको थियो ।

यसैबीचमा यूएई सरकारले आममाफी दिने योजना गाइँगुइँ सुनियो, तर यसअघिका २ वटा आममाफीमा एक्लै प्रयास गर्दा नेपाल फर्किन नपाएका उजुरलाई यसपटक पनि खासै आशा थिएन ।

यूएईले आममाफी योजना ल्याएको र त्यहाँ नेपाल हेल्प डेस्क राख्नेबारे नेपाली दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदी, स्थानीय जनसम्पर्क अधिकृत इरफान आलम र नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याललगायत यहाँको सम्बन्धित निकायसँग बैठकमा गएको बेला उजुरसिङको सम्बन्धमा चासो राखियो । केही उपाय अपनाउन सकिएला भन्ने यूएईको सकारात्मक जवाफ पाएपछि नेपाल फर्काउने प्रयासले बल्ल आशा जगाएको अध्यक्ष अर्यालले बताए ।

उनका अनुसार यूएईको उच्च निकायले उजुरसिङको बायोमेट्रिक सिस्टममार्फत राहदानी नम्बरसहित विवरण फेला पारेको थियो ।

‘सन् २००७ को मे २ तारिख रसअल खेमाको अल मदार बिल्डिङ कन्स्ट्रक्सन कम्पनीमा काठमाडौंबाट दुबई विमानस्थलमा उजुरसिङ लिम्बू आएको विवरण भेटिएपछि थप प्रक्रिया अगाडि बढाउन सजिलो भयो’, उनले भने, ‘झन्डै १० महिनाको प्रयासमा कैयौं पटक रसअल खेमा, कहिले दुबई अल अविअर इमिग्रेसन, कहिले दुबईका विभिन्न प्रशासनमा उजुरसिङलाई लिएर हिँडें ।’

उनका अनुसार उजुरलाई नेपाली दूतावाससहित रस अलखेमामा कार्यरत रेशम लामाले पनि सहयोग गरेका छन् । कैयौं पटक नेपाली दूतावासका प्रतिनिधि आफैंले उनलाई लिएर यहाँका विभिन्न निकाय धाएका थिए । ५ हजार १५९ औं दिनसम्म यूएईमा अवैधानिक बसेका उजुरसिङ बिहीबार बिहानमात्रै नेपाल पुगे ।

यूएईमा उजुरसिङको १७ वर्ष

झन्डै १८ वर्ष पहिले यूएई आउँदा उजुरसिङ अग्लो कद, हसिलो चम्किलो अनुहारमा थिए । कम्पनीमा ६०० धिराम मासिक तलबमा आएका उनले त्यो तलब पाएनन् । यूएई आएको ३ महिनामा उनले कम्पनी छोडे । कम्पनीले फरार सूचीमा राखिदियो । कम्पनी छोडेर हिँड्ने बेला उजुरसँग ३ जोर कपडा र नेपालबाट आउँदाको सुर्केनी झोलामात्रै थियो । हिँड्दै खोज्दै साथीहरु भेट्दै कहिले कहाँ, कहिले कहाँ पुग्दा यूएईका सातै वटा राज्यमा उनी पुगे । उनको त्यो सुर्केनी झोला र भएका कपडा पनि हराए । यूएईको पश्चिमी क्षेत्र साउदी नाकामा ग्यास तथा तेल उत्पादन हुने क्षेत्रमा उनी पुगे ।

झन्डै ३ जर्ष उनले त्यही बसेर काम गरे । कम्पनीभन्दा बाहिर आफूले रोजेको काम गर्दा उनले त्यहाँ राम्रै कमाउनु पनि भयो । त्यो बेलासम्म उनी परिवारको सम्पर्कमा पनि थिए, तर त्यसपछि फेरि उनी ४-५ वर्ष परिवारको सम्पर्कबाट हराए । वृद्ध बुवाआमा र दाइले उजुरसिङलाई धेरै ठाउँमा खोजी प्रयास गरिरहे, केही पत्तो नलाग्दा परिवारले समेत उजुर जिउँदै फर्किएला भन्ने आशा मार्न लागे ।

१७ वर्षमा उजुरलाई ठूलो रोगले च्यापेन, तर कहिले कसो बिरामी हुँदा अरबमा अवैध भएर बसेकालाई भनिने ‘खल्लीबल्ली’मा बसेका साथीभाइहरुले सहयोग गरिरहे । जेनतेन उनले गुजारा गरिरहे । कहिले आबुधावी, कहिले दुबई ! कहिले कहाँ, कहिले कता उनी जता काम पाइन्छ त्यतै दौडिरहे । कहिले ठेक्कापट्टा, कहिले लोड अपलोड काम गरिरहेका उजुर पछिल्लो समय महिनाको साता १० दिनमात्रै काम गरेर गुजारा गर्दै थिए ।

यसअघिका दुई वटा आममाफी योजनामार्फत नेपाल जान खोज्दा जहिल्यै उनको कागजात मागिन्थ्यो, तर परदेशमा उनको बारे बोलिदिने र खोजिदिने कोही नहुँदा उजुरले नेपाल फर्किन पाएएन् । बुधबार राति फ्लाई दुबईको उडानमार्फत बिहीबार बिहान काठमाडौं पुगेका उजुरसिङलाई प्रवासी नेपाली समन्वय समितिले स्वागत गर्दै संस्थाकै सेल्टरमा खानेबस्ने व्यवस्था गरिएको छ । शनिबार साँझमात्रै उनलाई ताप्लेजुङमा रहेको घरसम्म पुग्नेगरी बिदाइ गरिएको छ ।

२० वर्षदेखि गुमनाम रामबहादुरलाई पनि फर्काउने तयारी

यूएईले अहिले आममाफी (अध्यागमन)सम्बन्धी योजना चलाइरहेको छ । आप्रवासी कामदारलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय मानव अधिकार तथा विभिन्न सन्धिको कार्यान्वयनस्वरुप यूएईले चलाएको आममाफी प्रक्रियामा अवैधानिक रुपमा बसेका धेरै देशका श्रमिक आफ्नो घरदेश फर्किएका छन् । कतिपय यूएई सरकारले दिएको सुविधाअनुरुप यूएईभित्रै वैधानिक बसिरहेका छन् ।

आबुधावीमा रहेको नेपाली दूतावासले दुबईको अल अविर अध्यागमनसँगको सहयोगमा नेपाल हेल्प डेस्क (सहायता केन्द्र) राखेर सहयोगसमेत गरिरहेको छ । सहायता केन्द्रमा नेपाली समाज यूएई, एनआरएन यूएई तथा विभिन्न संघसंस्थाले स्वयम्सेवक खटाएर दैनिक सहयोग गरिरहेका छन् । नेपाली दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र तथा कानूनी सहयोग गरिरहेको छ । आममाफी अभियान यही अक्टोबर ३१ मंगलबार सकिँदैछ ।

पछिल्लो समय १७ वर्षदेखि अड्किएका उजुर फर्किएपछि उनकै समूहका अर्का एक नेपाली पनि उनीमार्फत नेपाली समाज यूएईको सम्पर्कमा आएका छन् । सन् २००४ मा यूएई आएर अवैधानिक रुपमा २० वर्षदेखि गुमनाम रहेका प्यूठानका रामबहादुर बुढा (नाम परिवर्तन)लाई पनि नेपाल फर्काउने प्रयास भइरहेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

सितगंगा- ९ अर्घाखाँचीका तोमलाल ।

त्यस्तै ८ वर्षदेखि यूएईमा अड्किएका सितगंगा- ९ अर्घाखाँचीका तोमलाल भुसाल पनि नेपाल फर्किएका छन् ।

नेपाली दूतावास आबुधावी र नेपाली समाजको सहकार्यमा आममाफी प्रक्रियामार्फत करिब एक हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको र कतिपय वैधानिक बनेर यूएईमै बस्न नेपाली दूतावासको सहयोग लिएको नेपाली दूतावासकी प्रवक्ता उपनियोग प्रमुख रञ्जिता दाहालले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *