बीपी स्मृति कप टी-२०: भारतको लाइफ केयर क्रिकेट क्लबले जित्यो उपाधि – Nepal Press

बीपी स्मृति कप टी-२०: भारतको लाइफ केयर क्रिकेट क्लबले जित्यो उपाधि

रुपन्देही । भारतको लाइफ केयर क्रिकेट क्लबले बीपी कोइराला स्मृति कप टी-२० अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भैरहवामा सम्पन्न सम्पन्न फाइनलमा नेक्सस रुपन्देही- ११ नेपाललाई २१ रनले पराजित गर्दै लाइफ केयरले उपाधि जितेको हो ।

जीतसँगै लाइफ केयरले ५ लाख रुपैयाँसहित ट्रफी पायो । उपविजेतामा चित्त बुझाएको नेक्ससले ३ लाख रुपैयाँ नगद र ट्रफी पायो ।

टस हारेर ब्याटिङ गरेको भारतको लाइफ केयरले ६ विकेट गुमाउँदै १६४ रन जोड्यो । उसका लागि शुभम लम्बाले ३९, दीपक पुनियाले ३८, एकान्स धोवलले २५ र दिपान्सु फोरेले २४ रन जोडे ।

बलिङमा नेक्सस रुपन्देहीका दीपेश कँडेलले २, शाहब आलम, वसिर अहम्मद, दिनेश अधिकारी र कृष्ण कार्कीले १-१ विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेक्सस रुपन्देही सबै विकेट गुमाउँदै १४३ रनमा सीमित भयो । उसका लागि कृष्ण कार्कीले ३५, वसिर अहम्मदले २५, शंकर रानाले २४, सुमित महर्जनले २०, मिर्नाल गुरुङले १५, प्रतीक श्रेष्ठले ११ रन बनाए पनि टीम उपाधि जित्नबाट चुक्यो । रुपन्देहीका तीन खेलाडीले खाता पनि खोल्न सकेनन् ।

बलिङमा लाइफ केयरका सक्षम शर्माले ३, योगेश कुमार र जस्मित नैनले २-२ तथा रोहित डङ्गवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले समान १-१ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच शुभम लाम्बा घोषित भए । उनले पाँच हजार रुपैयाँ पाए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लाइफ केयर क्रिकेट क्लबका दीपक पुनिया घोषित भए । उनले ३५ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै नेक्सस रुपन्देहीका शाहब आलम उत्कृष्ट बलर र लाइफ केयरका दीपक पुनिया उत्कृष्ट ब्याटर घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाए ।

विजेता टीम तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतबहादुर शालीलगायतले पुरस्कार प्रदान गरे ।

नेक्ससको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा ८ दिनसम्म चलेको प्रतियोगितामा ५ वटा दक्षिण एसियाली टेस्ट राष्ट्रका क्लब टीमहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर