कञ्चनपुर : दम्पती हत्या क्षेत्रमा सुरक्षा चुनौती, प्रहरी बिट स्थापनाको माग – Nepal Press

कञ्चनपुर : दम्पती हत्या क्षेत्रमा सुरक्षा चुनौती, प्रहरी बिट स्थापनाको माग

कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका वडा नम्बर १ बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी बिट स्थापनाको माग गरिएको छ । स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको बीभत्स हत्या भएको तीन दिनसम्म पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन ।

बिहीबार राति घरमा सुतेकै अवस्थामा दुवै जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । शनिवार घटनास्थलमा पुगेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङसहितको टोलीले उक्त क्षेत्रमा सुरक्षा निकाय पुग्न नसकेको भन्दै तत्काल प्रहरी बिट स्थापना गर्नु पर्ने बताएका छन् । उनले आफूले त्यसकालागि पहल गर्ने समेत बताए ।

‘दुई जनाको हत्या भएको घटनाले थप सुरक्षा चुनौती बढाएको छ’ उनले भने, ‘पहिलेबाटै यो क्षेत्रमा सुरक्षा निकाय पुग्न सकेको थिएन अब यो विषयमा थप गम्भीर हुनुपर्ने देखिन्छ । मैले सरकारसँग आग्रह गरेको छ ।’

इलाका प्रहरी कार्यालय शंकरपुरमा न दरबन्दी अनुसारको जनशक्ति छ नत स्रोत साधन नै छ रु सई नेतृत्वमा २३ जना प्रहरी रहने दरबन्दीमा अहिले असई को नेतृत्वमा जम्मा ६ जना मात्रै प्रहरी छन् । एक जना बिदामा जाँदा अहिले प्रहरी चौकी कुर्ने र सुरक्षा जाँचमा जाने प्रहरीकै अभाव देखिएको छ ।

यो पनि पढ्नुहोस्- कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या : अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ?

डोकेबजार प्रहरी चौधरीले हेर्ने क्षेत्र हुँदा उक्त क्षेत्रबाट पनि घटनास्थल निकै टाढा रहेको छ । त्यसैमाथि सडक गतिलो नहुँदा समयमा प्रहरी पुग्नै सकस हुने गरेको देखिन्छ ।

हाल संघीय सांसद रहेका तामाङ यसअघि सुदूरपश्चिम प्रदेश सभा सदस्य हुँदै आर्थिक मामिला मन्त्री बनेका थिए । उनकै पहलमा परेको लालझाडी पच्कडीया सडक पनि निर्माण सुरु हुन सकेको छैन ।

सडकको बिच भागमा रुखहरू रहेको र बनले कटानी आदेश नदिँदा, इआइए रिपोर्ट नआउँदा सडक कालोपत्रे हुन नसकेको हो । उक्त सडक निर्णय नहुँदा पनि प्रहरीलाई घटनास्थल पुग्न समय लाग्ने गरेको छ ।

‘सडक राम्रो छैन । गाउँमा प्रहरी बस्दैनन् त्यसले गर्दा यहाँ सुरक्षा चुनौती थपिएको हो । प्रहरीको उपस्थिति भएपछि यस्ता घटनाहरू नहोलान् ’ सांसद तामाङले भने ।

यो पनि पढ्नुहोस्- कञ्चनपुरमा दम्पती हत्या : दुई दर्जन बढीसँग सोधपुछ, ‘सीडीआर’मार्फत पनि अनुसन्धान

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसी पनि शनिवार घटनास्थलमा पुगेका थिए । उनीसँग सिङ्गो प्रहरी टोली थियो । उक्त टोलीसँग पनि सांसद तामाङले गाउँमा सुरक्षा चुनौती रहेको भन्दै प्रहरी बिट स्थापनको लागि पहल गर्न आग्रह गरेका थिए । प्रहरी प्रमुख केसीले सुरक्षा निकायको आवश्यकता महसुस भएको हुँदा जिल्ला सुरक्षा समितिले निर्णय गरे सुरक्षा पोष्ट स्थापना हुन सक्ने बताए ।

‘त्यहाँ प्रहरी चाकी नभएको स्थानीयले भन्नु भएको छ । माननीय ज्यूले पनि त्यो विषयमा कुरा राख्नु भएको छ जिल्ला सुरक्षा समितिले निर्णय गरे हामी केन्द्रमा सिफारिस गर्छौ र त्यसपछि केन्द्रले प्रहरी कार्यालय स्थापना गर्छ’ उनले भने ।

प्रहरी चौकी राख्ने ठाउँ,भौतिक संरचना र अन्य विषयमा पनि थप छलफल हुन आवश्यक रहेको उनी बताउँछन् । प्रहरी कार्यालय स्थापना भएपछि गाउँका यस्ता जघन्य अपराध नहुने स्थानीयले अपेक्षा राखेका छन् ।

‘प्रहरीको उपस्थिति नहुँदा यस्तो घटना भएको हो ’ पूर्व गाउँपालिका अध्यक्ष मदनसिंह बडायकले भने ‘हामीले प्रहरी कार्यालय स्थापनाको माग गरेका छौँ । प्रहरी कार्यालय स्थापना भएपछि यस्ता घटना हुने थिएनन् ।’

केही वर्ष पहिले पनि लालझाडीमा एक जनाको हत्या भएको थियो । अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन् । स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरी तत्काल दोषी पक्राउको माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी केसीले अनुसन्धान साघुँरिँदै गएको भन्दै केही दिनमा दोषी पक्राउ गर्ने दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर