अनुमति नवीकरण नभएको थाइ एयर एसियाको जहाज अवतरण, आजै चार्टर गरेर फर्किने – Nepal Press

अनुमति नवीकरण नभएको थाइ एयर एसियाको जहाज अवतरण, आजै चार्टर गरेर फर्किने

प्राधिकरण भन्छः यात्रुको सुरक्षा जोखिम हेरेर ओर्लन दियौं

काठमाडौं । नेपालमा उडान अनुमति अवधि सकिएको थाई एयर एसियाको जहाजलाई आज केहीबेर होल्ड गराएर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्न दिइएको छ । थाइल्याण्डको बैंककबाट आएको उक्त जहाज आज २ बजे अवतरण गर्नुपर्ने तालिका भए पनि त्रिभुवन विमानस्थलमा अनुमति नपाएपछि होल्ड गराइएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी उपप्रबन्धक ज्ञानेन्द्र भुलले विमानमा सवार यात्रुको सुरक्षा जोखिमलाई ध्यान दिएर अवतरणको अनुमति दिइएको बताए ।

उनले भने, ‘थाई एयरको उडान अनुमतिको समय सीमा सकिएको थियो । नवीकरण गर्नुपर्नेमा गरेको थिएन । तर, अनुमति नहुँदा नहुँदै अवतरणका लागि आयो । त्यसलाई केही समय हामीले होल्ड गर्‍यौं । धेरै समय होल्ड गरेपछि विमानमा सवार यात्रुको सुरक्षालाई मध्यनजर गरेर अवतरण गराइयो । अब उक्त विमान चार्टरमार्फत आजै फर्किन्छ । सबै प्रक्रिया पूरा गरेर अनुमति नलिएसम्मका लागि उडानको अनुमति दिइँदैन र अवतरण गराइँदैन ।’

थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो । प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो । अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारवाही गरेको क्यानले जनायो ।

प्राधिकरणले (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका सार्वजनिक गरेको छ । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनःउडान सुरु गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *