रेफ्रीकाे ‘झेल’ ले बिथोलिएको खेल, यसरी टर्‍यो सम्भावित ‘दुर्घटना’ – Nepal Press

रेफ्रीकाे ‘झेल’ ले बिथोलिएको खेल, यसरी टर्‍यो सम्भावित ‘दुर्घटना’

काठमाडौं । नेपालले बहादुरीपूर्ण खेल खेल्दै साफ वुमन्स च्याम्पियनसीपको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतलाई पाखा लगाउन सफल भयो । यो खेल नेपाली फुटबलप्रेमीले लामो समयसम्म विर्सिन नसक्ने थुप्रै कारणहरु छन् ।

नेपाली महिला फुटबलप्रति पछिल्लो समय पुरुष फुटबलकै हाराहारीको क्रेज देखिन थालेको छ । चीरपरिचित प्रतिद्वन्द्वी भारतसँगको खेल हेर्न रंगशालामा घरेलु दर्शक भेलसरी उर्लेका थिए । रंगशालाको क्षमताभन्दा धेरै बढी दर्शकहरु छिराइएकाले गर्दा सुरक्षा खतरा एकतर्फ थियो नै, त्यसमाथि खेलको बीचमा भुटानी रेफ्री ओम चुकीको अपरिपक्वता र त्यसप्रति नेपाली टिमको प्रतिक्रियाले अर्को ‘दुर्घटना’ को जोखिम बढेको थियो ।

खेलको पहिलो हाफ सामान्य र प्रतिस्पर्धात्मक रह्यो, जसमा दुवै टीमले गोल निकाल्न सकेनन् । दोस्रो हाफ भने असामान्य बन्न पुग्यो । रेफ्रीले सन्तुलित भूमिका निभाउन नसक्दा नेपाली टिमले कडा प्रतिरोध जनायो । फलस्वरुप खेल १ घन्टा ६ मिनेटसम्म अवरुद्ध हुन पुग्यो । यति लामो व्यवधान अन्तर्राष्ट्रिय फुटबलमा विरलै उत्पन्न हुने गर्छ ।

५१ औं मिनेटमा नेपाली टीमकी स्टार खेलाडी रेखा पौडेललाई अम्पायरले अन्यायपूर्वक दोस्रो पहेँलो कार्ड देखाएपछि तनावको सुरुवात भएको हो । यस प्रतियोगितमा नेपालकी उच्च गोलकर्ता रहेकी रेखाले खेलमा यसअघि नै एउटा पहेँलो कार्ड खाएकी थिइन् । उनलाई दोस्रोपटक, त्यो पनि बिनाकारण रेफ्रीले पहेँलो कार्ड देखाइदिइन्, जसले गर्दा रेखा आक्रोशित बनिन् । उनले रेफ्रीकाे कडा प्रतिवाद गरिन् । तर, अम्पायरको निर्णय अन्तिम हुने नै भयो । दुई पहेँलो कार्डपछि उनी मैदानबाट बाहिरिन बाध्य भइन् । रिप्लेमा हेर्दा रेखाले कुनै फल नखेलेको स्पष्ट देखिन्छ ।

रेखा बाहिरिनुपर्दा दर्शक दीर्घामा निराशा र आक्रोश छायो । होहल्ला सुरु भयो । केही दर्शकले मैदानमा बोतल फ्याक्न थाले । तर, तनावकै बीच खेल अगाडि बढ्यो । ७२ औं मिनेटमा नेपाली समर्थकलाई थप स्तब्ध पार्दै भारतले एक गोलको अग्रता लिन सफल भयो । त्यसपछि झन् नाटकीय दृष्यहरु देखिए ।

भारतीय खेलाडीहरु गोलको ‘सेलिब्रेसन’ गर्दै थिए । रेफ्रीले हतारमा खेल सुचारु गर्न सिटी फुकिदिइन् । सावित्रा भण्डारीले बल चलाइन् । प्रिति राईले बललाई अगाडि बढाउँदै सिधै गोल पोस्टमा प्रहार गरिन्, जतिबेला भारतकी गोलकिपर पोस्टमा थिइनन् ।

भारतीय खेलाडीले बल रोक्ने प्रयास गरेका थिए, तर गोल भएपछि उनीहरु प्रोटेस्टमा उत्रिए । आफ्ना खेलाडीहरु तयार नहुँदै खेल सुचारु गरिएको भन्दै उनीहरुले विरोध जनाए । अम्पायरले पनि गोललाई मान्यता दिइनन् । आफैंले सिटी फुकेर खेल सुचारु गरेकी रेफ्रीले नेपालले गरेको वैध गोललाई मान्यता नदिएपछि रंगशाला अशान्त बन्यो । नेपाली टीमका खेलाडीहरुको धैर्यको बाँध टुट्यो । उनीहरुले आफ्नो गोलले मान्यता पाउनुपर्ने अडान लिए । लामो खिचातानी भयो । खेल अवरुद्ध बन्यो ।

फुटबलमा रेफ्रीकाे सिटी नै सबैभन्दा महत्वपूर्ण मानिन्छ । रेफ्रीले सिटी बजाइसकेपछि सबैजना खेलमै हुनुपर्छ, कुन टिमका खेलाडी कहाँ छन् भन्नेले अर्थ राख्दैन । त्यसैले उक्त गोललाई मान्यता नदिनु रेफ्रीकाे ठाडो गल्ति भएको बताउँछन् फुटबल विशेषज्ञहरु ।

एएफसीका प्रतियोगिताहरुमा काम गरिसकेका गौरव थापाले यो विषयलाई फेसबुकमा यसरी प्रष्ट पारेका छन्ः

खेलाडीहरु तयार नभइकन रेफ्रीले खेल सुचारु गराउन सक्छन् ?

सरल जवाफ हो- सक्छन् । यदि कुनै टिमले खेलमा फर्किन ढिलाइ गरे वा लामो समय सेलिब्रेट गरिरहे भने यस्तो हुन्छ ।

हिजोको घटनामा रेफ्रीले नेपाललाई स्पष्टरुपमा खेल सुचारु गर्न अनुमत दिएका छन् । विपक्षी खेलाडीहरु तयार थिए कि थिएनन् भन्ने नेपालको सरोकार होइन । फुटबलमा भन्ने गरिन्छ- ह्वीसलअनुसार खेल । त्यसैले छोटकरीमा– नेपालको गोल कायम रहनुपर्थ्यो ।

यो खेलमा रेफ्रीले गल्तिमाथि गल्ति गरिन् र खेललाई नै झण्डै बर्बाद बनाइदिइन् ।

यो एउटा पाटो भयो । तर, अर्को पाटो के पनि छ भने कुनै पनि खेलमा अन्तिम निर्णायक रेफ्री नै हुन्छन् । यदि रेफ्रीबाट गलत निर्णय भएको छ भने त्यसमा खेलपछि उजुरी गर्न सक्ने वा कारबाहीमा पर्न सक्ने हुन्छ । तर, खेलका क्रममा टीमले जतिसुकै प्रतिरोध गरेतापनि रेफ्रीकाे निर्णय बदलिएका उदाहरण धेरै कम छन् ।

हिजो पनि रेफ्रीले नेपालको गोललाई मान्यता दिन सुरुमै अस्वीकार गरिन् । नेपालले विरोध जनाए पनि टसमस भइनन् । यो क्षणसम्म आइपुग्दा नेपाली टिम र दर्शक रेफ्रीले सन्तुलित भूमिका ननिभाइरहेकोमा आश्वस्त बनिसकेका थिए । मध्यान्तरअघि पनि नेपालले पाउनुपर्ने एउटा निश्चित पेनाल्टी उनले खारेज गरेकी थिइन् ।

गोलले मान्यता नपाएपछि नेपाली टिमले विरोध जनायो । केही मिनेट होइन, एक घन्टाभन्दा बढी । टीमको लागि र समग्र नेपाली फुटबलका लागि यो एउटा संवेदनशील अडान थियो । नेपाली टिमले खेल पूर्णरुपमा परित्याग गरेर हिँडेको भए भने भारतलाई विजेता घोषणा गरिन्थ्यो । नेपालको प्रोटेस्ट अझै लम्बिएको भए पनि भारतले जितेको घोषणा गर्न रेफ्रीलाई बाधा थिएन । त्यो अवस्थामा नेपालले फाइनल सम्भावना मात्रै गुमाउने थिएन, भविष्यमा कारबाहीको भागिदार पनि बन्नुपर्थ्यो । टीम निलम्बनमा पर्न सक्थ्यो ।

अर्कोतर्फ अत्यधिक ठूलो भीड र कमजोर व्यवस्थापनका कारण रंगशालामा सुरक्षा खतरा पनि थियो ।

एन्फाका एक पूर्वपदाधिकारी भन्छन्, ‘यदि नेपालले नखेलेर भारतलाई विजयी घोषणा गरिएको भए रंगशालामा उपस्थित हजारौं दर्शक उत्तेजित भएर मैदानमा उर्लिन सक्ने र अप्रिय अवस्था उत्पन्न हुने थियो । यसलाई नियन्त्रण गर्न सक्ने सुरक्षा व्यवस्था रंगशालामा थिएन ।’

नेपाली टीमले अडान लिएपछि प्रशिक्षक र टीम म्यानेजरले पनि उनीहरुलाई साथ दिए । एन्फाले अन्तिम निर्णय लिनुपर्ने अवस्था आयो । फेरि यही बेला एन्फाका अध्यक्ष र महासचिव दुवै देशबाहिर छन् । साफ च्याम्पियनसीपजस्तो महत्वपूर्ण प्रतियोगिताका बेला उनीहरु दुवै एक कार्यक्रमका लागि कोरिया पुगेका हुन् । रंगशालामा एन्फाका पदाधिकारीहरु थिए । उनीहरु द्वीविधाग्रस्त देखिए । खेलाडीलाई दबाब दिएर मैदानमा पठाउन सक्ने अवस्था थिएन । खेल हुन नसक्दा त्यसपछिको परिस्थितिको जिम्मेवारी उनीहरुले लिनुपर्थ्यो । त्यसैले उनीहरु अनिर्णयको बन्दी बनिरहे ।

एन्फाभित्र अध्यक्ष र महासचिव नै सर्वेसर्वा छन् । आधा पदाधिकारीलाई ठोस जिम्मेवारी नै दिइएको छैन । यो प्रतियोगितामा वरिष्ठ उपाध्यक्षदेखि विभिन्न उपाध्यक्षहरुलाई कुनै भुमिका तोकिएको छैन । उनीहरु दर्शकमै सीमित छन् ।

स्रोतका अनुसार एन्फाका पदाधिकारीले रंगशालाबाट कोरियामा रहेका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरेर सोधे । तर, उनले पनि कुनै निर्णय दिन सकेनन् । रंगशालामा उपलब्धहरुबीच नै छलफल गर्न सुझाव दिए ।

यो प्रतियोगिताको जिम्मेवारी पाएका उपाध्यक्षद्वय दीपक खतिवडा र दावा लामा रंगशालामा उपलब्ध थिए । यस्तै सीइओ इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश साह, टुनार्मेन्ट डाइरेक्टर सन्जिव मिश्र लगायतको उपस्थिति थियो । उनीहरुबीच बारम्बार छलफल भए पनि निस्कर्ष निस्किएको थिएन ।

फुटबल बुझेका केही पदाधिकारीहरुमा चिन्ता बढिरहेको थियो । खेल परित्याग गर्दा भोग्नुपर्ने परिणाम उनीहरुले बुझेका थिए । यसबीचमा एन्फाका प्रवक्ता सञ्जिव मिश्रले समन्वयकारी भूमिका निभाएको स्रोतले बतायो । उनले नेपाली पुरुष फुटबल टीमका कप्तान किरण चेम्जोङ र खेलाडी संघका अध्यक्ष विक्रम लामासँग सहयोग मागे ।

किरण र विक्रम दुवै खेल हेर्न रंगशालामा गएका थिए । मिश्रले सावित्रा भण्डारीलाई बोलाएर उनीहरुसँग भेटाएको स्रोतले बतायो । उनीहरुले धेरै बेरसम्म खेल परित्याग गर्दा उत्पन्न हुन सक्ने अवस्थाबारे साम्बालाई सम्झाएको स्रोतको भनाइ छ । त्यही कुरा सम्बाले टीममा गएर राखेपछि सबैजना खेल खेल्न कन्भिन्स्ड भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर