सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न – Nepal Press

सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतमा काठमाडौंको अमृतभोगस्थान कालिकास्थान, डिल्लीबजारमा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाबाट आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, ८०/८१ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरण पनि स्वीकृत गरिएको बैंकले जनाएको छ ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६/- को ४ प्रतिशतले हुने ५६,८०,३८,९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २,९८,९६,७८७/३८ सहित जम्मा ५९,७९,३५,७४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको बैंकले जनाएको छ ।

सभाका अध्यक्षले शेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालना (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिवद्ध रहेको जानकारी गराए ।

शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षको सहयोगप्रति उनले धन्यवादसँगै आगामी दिनमा सहयोगको निरन्तरताको विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर