खोकनामा धान काट्ने चटारो- किसानलाई मलखादको पिरलो (भिडिओ) – Nepal Press

खोकनामा धान काट्ने चटारो- किसानलाई मलखादको पिरलो (भिडिओ)

काठमाडौं । तिहार शुरू हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो छन् ।

मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउन व्यस्त भएका हुन् । गत असार-साउनमा रोपेको धान समयअगावै पाकेकाले खोकनाका किसान तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन् ।

यहाँ खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरिएको छ । ललितपुर महानगरपालिकाभित्र पर्ने खोकनाका अधिकांश मानिस कृषिमा आश्रित छन् । तर, काठमाडौं-निजगढ द्रुतमार्गलगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेती कमी हुँदै आएको उनीहरूको भनाइ छ ।

सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरेपनि समयमा बीउ दिन छाडेको किसानहरूले गुनासो गरेका छन् । विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएको भन्दै भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आउन सक्नेतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।

किसान सद्धीचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताए । विगतमा प्राङ्गरिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको उनी सुनाउँछन् ।

उनले भने,‘विगतमा प्राङ्गरिक मल हुँदा धानका बाला राम्रो लाग्थ्यो । अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न सकेको छैन । पहिला खेतीपती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेती गर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ । विगतको भन्दा मानिसहरुको बस्ती भएकाले धेरै खेतीयोग्य जमिन छैन ।’

बुङमतीका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताए ।

‘अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्न थाल्यो भने के खाएर बस्ने हो ? महंगी बढेको छ । चार रोपनीमा धान फलाएको छु । विगतको तुलनामा धान फल्न सकेको छैन । सरकारले समयमा मल उपलब्ध नगराउँदा उत्पादन बढेको छैन’, उनले भने ।

अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताए । विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी सानु डंगोल बताउँछन् ।

समयअगावै धान पाकेकोले अहिले भक्तपुर, ललितपुर र काठमाडौंका किसानले धानबाली काटिसकेका छन् । दशैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर