बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार – Nepal Press

बिर्तामोड नगरपालिकामा लेखा प्रमुखको आतंक- मेयर र हाकिमलाई हप्कीदप्की, सहकर्मीलाई दुर्व्यवहार

काठमाडौं । जनप्रतिनिधिको दबाब सहन नसकेर स्थानीय तहमा प्रशासकीय प्रमुख बस्न नमान्ने कुरा सामान्य हो । तर, एकजना कर्मचारीका कारण प्रशासकीय प्रमुख र अन्य कर्मचारीमात्र होइन जनप्रतिनिधि समेत पीडित बनेको कुरा भने नयाँ हुनसक्छ ।

झापाको बिर्तामोड नगरपालिकामा केही समयदेखि यस्तै चलिरहेको छ । एकजना लेखापालका कारण प्रशासकीय अधिकृत बिर्तामोडमा आउन मान्दैनन्, मेयर र अन्य जनप्रतिनिधिसमेत पीडित बनेका छन् ।

झापामा कर्मचारीको अधिकतम द्वन्द्व हुने भनेर चिनिएको मेचनीनगर नगरपालिकालाई पनि बिर्तामोड नगरपालिकाका कर्मचारीहरुले उछिनेका छन् । पछिल्लो समय बढ्दै गएको द्वन्द्वका कारण प्रमुख प्रशासकीय अधिकृतहरू पनि बस्न मानिरहेका छैनन् । कर्मचारीहरूको द्वन्द्वमा परेर निजामती क्षेत्रमा राम्रो छवि बनाएका हाकिमहरू बिर्तामोडमा बस्न रुचाउन छोडे । नयाँ आउन पनि चाहेका छैनन् ।

बिर्तामोड नगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन छ । दशैँअघि बिदा लिएका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा जिल्ला समन्वय अधिकारीको रूपमा भक्तपुरमा हाजिर भइसके ।

उनी गएपछि बिर्तामोड आउन विगतमा जस्तो कसैले पनि रहर गरेका छैनन् । खतिवडासम्म बिर्तामोड नगरपालिकामा रहर गरेरै आउने गरेका थिए । खतिवडाभन्दा अगाडिका हाकिम विनोद न्यौपाने पनि कर्मचारीकै कारण सुन्दरहरैँचा सरुवा लिएर गए । पेन्सनका लागि छोटो समयमात्रै बाँकी रहेका उनी बिर्तामोड बस्ने मनसायमा थिए ।

नगरभित्रको कर्मचारी द्वन्द्व विस्फोटमात्र हुन बाँकी रहेको कतिपय कर्मचारीहरु बताउँछन् । कर्मचारीहरूबीचको समस्याले जनतालाई दिने सेवामा समेत समस्या भइरहेको उनीहरू बताउँछन् । समयमै कार्यपालिकाले समाधान खोज्नुपर्ने अधिकांशको माग छ ।

छोटो समय काम गरेर बिदा भएका हाकिम राधाकृष्ण खतिवडा बिर्तामोडका जनप्रतिनिधिहरूबीचमा खासै समस्या नभएको बताउँछन् । जनप्रतिनिधिहरूबीच एकता र सहकार्य पाएको उनको भनाई छ ।

खतिवडा भन्छन्, ‘कर्मचारीभित्र समस्या छ । कर्मचारीभित्रको समस्या समाधान नगर्दा नगरको सेवा प्रवाहमा कठिनाई हुने निश्चित छ, सुधारका लागि जनप्रतिनिधिहरूले सोच्न ढिलाई गर्न हुँदैन । मैले चाहिँ सकिनँ ।’

झापा भद्रपुर घर भएका खतिवडा आफ्नै जिल्लामा सेवा गर्ने उद्देश्यले बिर्तामोड आएका थिए । द्वन्द्वमा नमुछिन आफूलाई टाढै राख्न सरुवा लिएर उनी हिँडेका हुन् ।

बिर्तामोड नगरपालिकामा कर्मचारीभित्र वरीयता र नयाँ-पुरानोबीचको द्वन्द्व बढ्दै गइरहेको छ । कर्मचारीभित्र चर्को द्वन्द्व भइरहे पनि समाधानका लागि कार्यपालिकाले चासो दिएको छैन ।

समस्याका मुख्य कारक नगरभित्रबाट प्राप्त सूचना अनुसार शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारी र लेखा शाखा प्रमुख तेजेन्द्र तामाङ हुन् । दुईजनाले वरिष्ठ कार्यक्रम अधिकृत एवम् योजना शाखा प्रमुख जय तिम्सिनासँग पानी बाराबार गरेका छन् ।

उपसचिव भण्डारीले आफू वरियताका हिसाबले माथि भएको बताउँदै तलका कर्मचारीलाई कर्मचारी नै नमान्ने गरेको गुनासो छ । यतिसम्म कि भण्डारीले प्रमुख प्रशासकीय अधिकृतलाई समेत टेर्दैनन् । ९ तहका कर्मचारी हाकिमका रूपमा आए अस्वीकार गर्ने उनको संकेत छ ।

उपसचिव भएको भन्दै उनले सबैलाई असहयोग गर्ने गरेको यसअघिका एक प्रमुख प्रशासकीय अधिकृतले बताए । उनका अनुसार भण्डारीकै आड भरोसामा लेखा शाखा प्रमुख तेजिन्द्र तामाङले आफ्नै समूह चलाइरहेका छन् ।

नगरमा सबैभन्दा धेरै द्वन्द्वको कारण तामाङ नै भएको एक कर्मचारी बताउँछन् । उनले मेयर पवित्रा महतरादेखि प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरूलाई ठाडै हप्कीदप्की गर्ने गरेका छन् । तामाङले नगरभित्र केही कर्मचारीको समूह बनाएर सिंगो नगरलाई असहयोग अभियान नै चलाइरहेको कर्मचारीहरूकै आरोप छ ।

समयमा भुक्तानी नदिने, भुक्तानी लिन आउनेहरूलाई विभिन्न बहानामा दु:ख दिने, उपभोक्ता समितिको फाइल नै च्यातिदिने, मेयर र हाकिमले पठाएका फाइलहरूमा कोरकार गरेर फिर्ता पठाइदिने जस्ता कामले कार्यपालिका सास्ती भोगिरहेको छ । उपसचिव भण्डारीले पनि तामाङलाई नै साथ दिएको आरोप छ ।

केही महिनाअघि तत्कालीन हाकिम राधाकृष्ण खतिवडाको सामुन्ने एक कर्मचारीलाई अपमानजनक तरिकाले हप्कीदप्की गरेका तामाङविरुद्ध उजुरी नै परेको थियो । पछि तामाङले माफी मागेपछि एक पटकलाई माफी दिइएको थियो । उक्त घटना बाहिर आएको छैन । सो घटनामा तामाङविरुद्ध अधिकांश कर्मचारीहरू आक्रोशित बनेका थिए ।

लेखा हाकिमबाट अधिकांश कर्मचारीहरूले हैरानी व्यहोर्दै आएको भुक्तभोगीहरू बताउँछन् ।

एक कर्मचारी भन्छन्, ‘हामी धेरै कर्मचारीलाई उहाँबाट हैरानी छ । कर्मचारीले भन्न मात्र सकेका छैनन, लेखा हाकिम तामाङबाट हद् पार भइसकेको छ । उहाँले विकल्प खोजेर नगरको कर्मचारी प्रशासनलाई सहज वातावरण प्रदान गर्नुपर्छ । उहाँ रहुँञ्जेल बिर्तामोडमा तनाव भइरहन्छ ।’

नगरपालिकामा जय तिम्सिना प्रशासन प्रमुख भएको कारण मेयर र प्रशासकीय अधिकृतसँग अधिकतम भेट र काम हुने गरेको छ । जिम्मेवारीकै कारण बाक्लो भेट हुँदा उपसचिव भण्डारी, लेखा शाखाका प्रमुख बिच्किएका छन् । भण्डारी र तामाङको मारमा परेका तिम्सिनाले प्रशासनबाट जिम्मेवारी साट्न खोजिरहेको समेत बताइएको छ ।

तामाङले आफूभन्दा माथिको तहमा रहेका तिम्सिनाबाट जाने फाइललाई सिधै इन्कार गर्ने गरेका छन् । पछिल्लो समय लेखा हाकिमले समयमा भुक्तानी नदिँदा नगर अस्पतालको नयाँ भवनको निर्माण समेत अपेक्षितरूपमा प्रगति हासिल गर्न सकेको छैन । विश्व बैंकको लगानीमा निर्माण भइरहेको बुट्टाबारी-प्याकुरेल सडक खण्डमा पनि भुक्तानी समस्याकै कारण काम प्रभावित भइरहेको छ ।

दशैँअघि प्रशासकीय अधिकृतले सकेका कामहरूको पनि भुक्तानी रोकिएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर