साहारा सहकारीबाट गायब ३४ करोड खोज्दै प्रहरी, पूरक मुद्दा दर्ता गरेर रविलाई तान्ने तयारी – Nepal Press

साहारा सहकारीबाट गायब ३४ करोड खोज्दै प्रहरी, पूरक मुद्दा दर्ता गरेर रविलाई तान्ने तयारी

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ३७ करोड ६५ लाखभन्दा बढी रकम हिनामिनाको अभियोगसहित असोज ९ गतेदेखि जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । जीबी राईसहित १७ जनाविरुद्ध किटानी जाहेरीमा दर्ता भएको मुद्दामा रास्वपा सभापति रवि लामिछाने पनि तानिने भएका छन् ।

गोर्खा मिडियासहित पाँच कम्पनीमा सहकारीबाट रकम गएको उक्त संस्थाको वित्तीय अभिलेखमा उल्लेख गरिएको थियो, तर सहकारीको विवरण र गएको रकमको अभिलेख नमिलेपछि सञ्चालक, पदाधिकारीसमेत माथि थप अनुसन्धान भइरहेको छ । सो समयमा गोर्खा मिडियामा लामिछाने पदाधिकारी भएका कारण उनलाई पनि अनुसन्धानमा तान्न लागिएको हो । ती संस्थामा आवद्ध माथिल्लो तहका व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणसहितको अनुसन्धान थालिएको चितवन प्रहरीले बताएको छ ।

जिल्ला अदालतमा दायर अभियोगपत्रअनुसार गोर्खा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपयाँ ०६ पैसा गएको सहकारीको अभिलेखमा उल्लेख भए पनि गोर्खा मिडियाको खातामा ३ करोड ५० लाख रुपैयाँमात्रै गएको भेटिएको छ । बाँकी सात करोड ३० लाखभन्दा बढी रकम कहाँ गयो भनेर प्रहरीले खोजिरहेको छ ।

त्यसैगरी अर्को कम्पनी नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७ रुपैयाँ ४ पैसा गएको वित्तीय अभिलेख सहकारीसँग रहेको छ, तर नेचर हर्ब्सको बैंक खातामा ९६ लाख रुपैयाँमात्र गएको प्रहरीको अनुसन्धानबाट भेटिएको छ । बाँकी रहेको ८ करोड ७७ लाख बढी रकम कहाँ गयो, खुलेको छैन ।

अर्को रकम गएको भनेर उल्लेख गरिएको जीबी ग्रुप अफ कम्पनीमा सहकारीले राखेको अभिलेखअनुसार ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ ७४ पैसा हुनुपर्नेमा कम्पनीमा १ करोड २५ लाख ३२ हजार रुपैयाँमात्रै गएको देखिएको छ । त्यसैगरी नेचर नेस्ट प्रालि भन्ने संस्थामा ६ करोड ५१ लख १० हजार ३२२ रुपैयाँ ८३ पैसा रकम गएको वित्तीय विवरणसहितको अभिलेख प्रहरीले सहकारीबाट बरामद गरे पनि नेचर नेस्टको खातामा उक्त सम्पूर्ण रकम पुगेको देखिँदैन । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार १ करोड २७ लाख रुपैयाँमात्रै उक्त कम्पनीमा गएको छ । बाँकी ५ करोड २४ लाखभन्दा बढी रकम हराएको छ ।

स्प्रिङ उड रियल स्टेट हाउजिङको नाममा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ ८३ पैसा उक्त कम्पनीमा गएको वित्तीय विवरणमा उल्लेख छ, तर बैंकिङ प्रणालीबाट रकम गएको नदेखिने चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल बताउँछन् ।

उनी भन्छन्, ‘हामीले त्यही हराएको रकम खोज्न पुनः अनुसन्धान गर्न प्रहरीलाई भनेका छौं ।’

प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनअनुसार सहकारीको वित्तीय अभिलेखले ४३ करोड १४ लाख ४९ हजार ९२९ रुपैयाँ ५० पैसा रकम सहकारीबाट पाँच वटा कम्पनीमा गएको देखिन्छ, तर बैंकिङ प्रणालीबाट गएको भौचरका आधारमा हेर्दा जम्मा १८ करोड ४१ लाख ३२ हजार रुपैयाँमात्रै ती पाँच कम्पनीमा गएको प्रहरीले भेट्टाएको छ । २४ करोड ७३ लाख १७ हजार ९२९ रुपैयाँ ५० पैसा कहाँ गयो, कुनै अभिलेखमा भेटिएको छैन ।

सोबाहेक चन्द्रागिरी सब-रेमिट प्रालिको नाममा ४१ लाख ३० हजार, नेक्स म्युजिक बार प्रालिको नाममा ७० लाख र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा ९ करोड रुपैयाँ गएको देखिएको छ । ९ करोड रुपैयाँ अन्तरबैंक स्थानान्तरण भएको उल्लेख गरिए पनि सहकारीको डिजिटल वित्तीय कारोबार विवरणमा देखिएको छैन ।

यसरी हेर्दा करिब ३४ करोड बराबरको रकमको बैंकिङ प्रणालीमा कतै पनि अभिलेख नभएको पाइएको छ । पूरा विवरण नआएको अभियोगमा उल्लेख गर्दै प्रहरीलाई जिल्ला सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धानको लागि निर्देशन दिएको थियो ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजाल भन्छन्, ‘जिल्ला न्यायाधिवक्ताको निर्देशनअनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ । हामीले मुद्दाको हदम्याद अनि संवेदनशीलता हेरेर अनुसन्धान गरिरहेका छौं ।’

सरकारी वकिलले उक्त विषय असोज ९ गते दायर गरिएको मुद्दा अभियोगपत्रमा पनि उल्लेख गरेका छन् ।

अभियोगपत्रमा भनिएको छ-

ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार के कसरी को-कोसँग भएको हो, सोको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरुको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समितिलगायतका बारेमा अनुसन्धान गर्नुपर्ने देखिन आयो । प्रस्तुत मुद्दाको अनुसन्धान कार्य सम्पन्न भई अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेको अवस्था र प्रस्तुुत मुद्दाको हदम्यादसमेतलाई विचार गर्दा अहिलेकै अवस्थामा उल्लेखित कम्पनी र पदाधिकारीहरुका सम्बन्धमा निर्णयमा पुग्न सकिने अवस्था नदेखिएको हुँदा थप अनुसन्धान गर्नपर्ने देखिएकोले पुनः अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन प्राप्त भएपश्चात मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम पूरक अभियोग पेस गरिने व्यहोरा सादर अनुरोध गरिन्छ ।

सोही अभियोजन विवरणअनुसार प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अहिले पेश भएको अभियोजनमा पूर्वगृहमन्त्री रवि लामिछानेको नाम किटान छैन, तर तत्कालीन समयमा गोर्खा मिडिया प्रालिको पदाधिकारीसमेत रहेकाले उनीमाथि पनि चितवन अदालतमा मुद्दा चलाउने तयारी छ ।

जिल्ला न्यायाधिवक्ता लुइँटेल पाँच वटा कम्पनीका पदाधिकारी र सञ्चालक समितिका सदस्यहरुको सम्पत्ति विवरण शुद्धीकरणसहित अनुसन्धान गर्न निर्देशन दिइएको बताउँदै भन्छन्, ‘उहाँ (रवि लामिछाने) सो समय पदाधिकारी तहमा हुनुभएको भए अनुसन्धान गर्नुपर्ने हुन्छ ।’

चितवनका एक प्रहरी अधिकारीका अनुसार तत्कालै लामिछानेलाई बयानमा बोलाउने आदेश अदालतले दिन्छ वा दिँदैन भन्न सकिने अवस्था नभए पनि अनुसन्धानमा भने लामिछाने तानिने पक्का छ । प्रहरीलाई अनुसन्धानमा कुनै दबाब नभए पनि यदि उनलाई चितवन ल्याउनुपर्ने अवस्था भएमा कसरी सुरक्षा व्यवस्थापन गर्ने भन्ने चाहिँ टाउको दुखाइ भएको छ ।

‘अनुसन्धान त तोकिएको अनुसन्धान अधिकृतले गरिरहेका छन् । समस्या छैन’, ती प्रहरी अधिकृत भन्छन्, ‘बयानका लागि चितवन ल्याउनुपर्ने अवस्थामा भने सुरक्षा निकै चुनातीपूर्ण रहेको छ ।’


प्रतिक्रिया

3 thoughts on “साहारा सहकारीबाट गायब ३४ करोड खोज्दै प्रहरी, पूरक मुद्दा दर्ता गरेर रविलाई तान्ने तयारी

  1. त्यो सबै पैसा काङ्ग्रेस-एमालेका सहकारी ठग नेताहरुले खाएको हुनुपर्छ ।
    दुख चाहिँ रविलाई दिन्छन् अपराधिहरुले!😡

  2. काँग्रेसका दलाल,ठग, चोरहरूले खाएको सहकारी छानबिन मै आउँदैनन । गोर्खा मिडियामा गएको भनेर सुने मात्र भने पनि यी दलालहरू दौडेर पुग्छन् । तर यी सबै शुन्यमा पुग्छन् । अन्तिममा जित रवि कै हुन्छ र यी दलाल, चोरहरूले एक दिन टेक्ने जमिन पनि पाउँदैनन् ।

  3. नियमन गर्ने बेला सुतेर बस्यो, अहिले आएर गोहीको आंसु निकाल्दै के के न गरे भन्छ यो सरकार। नियमन गर्ने निकायलाइ पनि कारबाही गर्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर