बाढीपहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी आंशिक सञ्चालनको तयारीमा
चरिकोट । बाढीपहिरोका कारण पूर्ण रुपमा बन्द राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना आंशिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले आयोजनाको बाँधस्थलमा क्षति गरेपछि ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण रुपमा बन्द छ ।
बाढीपहिरोको कारण आयोजनाको बाँधस्थलमा रहेको हेडबक्स कन्ट्रोल भवन पूर्ण रुपमा र बालुवा थिग्राउने पोखरी र पानी बग्ने नहरको करिब २५ प्रतिशत भाग पूर्ण रुपमा क्षतिग्रस्त छ । उक्त घटनामा परी आयोजनामा कार्यरत दुई कर्मचारी र नेपाली सेनाका दुई गरी चार जनाको मृत्यु भएको थियो ।
हेडबक्स कन्ट्रोल भवनमा पूर्ण रुपमा क्षति हुँदा त्यहाँ रहेका सम्पूर्ण विद्युतीय उपकरण तथा मेकानिकल उपकरणहरुमा गेट तथा हाइड्रोलिक सिस्टममा समेत क्षति पुगेको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रणालीसँग जोड्न सञ्चालनमा रहेको गोगर खिम्ती २२० केभी प्रशारण लाइनको चप्लेटीमा पहिरोका कारण टावर नम्बर ४६ मा क्षति गरेको आयोजनाले जनाएको छ ।
आयोजना क्षेत्र जोड्ने गोंगर लामाबगर सडक खण्डको करिब ५० मिटर बाटो पूर्ण रुपमा क्षतिग्रस्त भई पहिरो गई भासिएको तथा विशाल ढुंगाहरु खसेका कारण हटाई यातायात सुचारु गर्न नसक्दा थप कठिनाइ भएको छ ।
पहिरोका कारण अवरुद्ध सञ्चार तथा बिजुली आपूर्ति जडान गरी पहिरोका कारण जम्मा भएको फोहोर हटाउने काम भइरहेको आयोजनाले जनाएको छ । हाललाई दुइटा बालुवा थिग्राउने पोखरीमध्ये आंशिक रुपमा क्षति भएको एउटा पोखरी तथा नहरको सामान्य सिभिल मर्मत कार्य सम्पन्न गरी रन अफ दि रिभर मोडलमा आंशिक रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख प्रवन्धक पूर्णगोपाल रञ्जितले बताए ।
उनका अनुसार ४५६ मेगावाट क्षमताको आयोजनाले सो मोडलमा कार्तिकभित्र ३००, मंसिरमा १७२, पुसमा १२३, माघमा ९२ र चैतमा १०३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । जतिसक्दो चाँडो आंशिक रुपमा भए पनि सञ्चालन गर्न चाडवाड तथा बिदाको समयमा समेत काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार मर्मतको जिम्मा पाएको एसएसईसी हाई हिमाल जेभी निर्माण कम्पनीले सोचेअनुसार कार्य नगर्दा केही दिन ढिलाइ भएको छ ।
बाढीपहिरोका कारण क्षति भएको विद्युत केन्द्रको हेडबक्स कन्ट्रोल भवन तथा बालुवा थिग्राउने पोखरी निर्माण गरी विद्युत केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कार्य सुरु भएको आयोजनाले जनाएको छ । उक्त कार्यको लागि विद्युत प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुुक्त गरिएको छ । आयोजनाले सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी वर्षातअगावै विद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य लिएको बताएको छ ।
बाढीपहिरोकाे कारण आयोजनामा करिब दुई अर्ब बराबरको क्षति पुगेको बताइएको छ । क्षतिबारे आयोजनाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई एक अर्ब ७९ करोड ६ लाख ९६ हजार ७८५ रकम बराबरको दाबी पेश गरेको छ ।
बाढीपहिरोले क्षति भई आयोजना बन्द हुँदा असोजमा करिब २१ करोड ४२ लाख ६९ हजार किलोवाट घण्टा विद्युत ऊर्जा नोक्सान भई ८५ करोड ६ लाख ४७ हजार ९३० रुपैयाँ नोक्सान भएको र कार्तिकमा पनि विद्युत उत्पादन गर्न नसकेमा २१ करोड ६३ लाख ९७ हजार किलोवाट घण्टा विद्युत ऊर्जा नोक्सान भई थप करिब ८५ करोड ९० लाख ९६ हजार रुपैयाँ नोक्सान हुने हुँदा जतिसक्दो चाँडो आयोजना सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रमुख प्रवन्धक रञ्जितले बताए ।
-प्रभु जिरेल