देश-विदेशमा किताब बेच्ने ‘किरो’ – Nepal Press

देश-विदेशमा किताब बेच्ने ‘किरो’

वितरणको क्षेत्र पत्तासाफ, टिकटकबाटै फलिफाप

काठमाडौं । ६३ हजार बढी फलोअर्स भएको टिकटक आइडी- ‘किताब किरो’ । भिडियोहरुमा लाइक, कमेन्ट गर्ने पाठकहरु १२-१३ लाख ! टिकटकमा सेलिब्रेटी आइडीका लागि यो अंकगणित सामान्य हो, तर किताब किरोको यो अंकगणित सीधै गएर साहित्यिक पुस्तकहरुसँग जोडिन्छ । भाषाका शिल्प, बनोट, वाक्यहरुका कलात्मक गठन र काव्यिक अभिव्यक्तिसँग जोडिन्छ यो अंकगणित । चिन्तन, दर्शन र समाजसँग जोडिन्छ यो अंकगणित । त्यसैले यो अंकगणित विशेष छ ।

यसकारणले विशेष कि पछिल्लो समय साहित्यिक पुस्तकका पाठकहरु घट्दै गएको अनुमान गरिन्छ । तुलनात्मक रुपमा हिजोभन्दा घटेको पनि होला । यद्यपि किताब किरोका तारानिधि रेग्मीको अनुभवले भन्छ, ‘लेखक र प्रकाशकहरु डिजिटल दुनियाँमा राम्रोसँग चल्न नजानेकाले बजार साँघुरिएको हो ।’

अहिले पुस्तक पढ्ने ठूलो जमात सामाजिक सञ्जालमा छन् । गाउँहरु रित्ता छन्, बुढा बाआमा र केटाकेटीले गाउँको साख जोगाएका छन् । पुस्तक पढ्ने अधिकांश पुस्ता विदेशमा छन् । राजनीतिक अस्तव्यस्तताले यहाँ गरिखान सक्ने ठाउँ नभएपछि शिक्षित युवाहरुसँगै नेपाली साहित्यिक पुस्तकको बजार पनि विदेश पलायन भयो ।

जिल्ला सदरमुकाम भनेपछि पहिले छुट्टै रौनक हुन्थ्यो, अहिले सुनसान छ । जिल्ला-जिल्लाका पुस्तक पसलहरुमा साहित्यिक किताबहरुको व्यापार राम्रै हुन्थ्यो, अहिले सुनसान छ । कतिपय पुस्तक पसलेहरु त सटर बन्द गरेर विदेश पलायन भएका छन् । जसोतसो पसल चलाइरहेकाहरु पनि स्कुल-कलेजका कोर्सबुक बेचेर पेट पालिरहेका छन् ।

कुनै समय देशभर सयभन्दा बढी पुस्तक पसलहरुमा पुस्तक वितरण गर्ने रेग्मीलाई यो सबै दृश्यले नमीठो महसुस गराउँछ । भन्छन्, ‘तर गर्ने के ? पलायन हुनुको विकल्प छैन ।’

यद्यपि रेग्मी भने अहिले डिजिटल संसारमा पुस्तकको व्यापार फैलाइरहेका छन् । विदेश पुगेका पाठकहरुसँग जोडिइरहेका छन् । उनीहरुलाई किताब बेचिरहेका छन् ।

रेग्मी दिनदिनै टिकटकमा लाइभ बस्छन् । पुस्तकसँग सम्बन्धित भिडियोहरु बनाएर टिकटक, फेसबुक, इन्स्टाग्राममा हालिरहन्छन् । यिनै सक्रियताको परिणाम हो, रेग्मीले गर्ने लाखौंको व्यापार । हजारौं पुस्तकको बिक्री । यो कारोबारले रेग्मीलाई मात्रै खुसी दिएको छैन, प्रकाशक र लेखकलाई पनि खुसी दिएको छ । पाठकलाई पनि ज्ञान दिएको छ ।

अनलाइनबाट रेग्मीलाई दैनिक दर्जनौं पुस्तकको अर्डर आउँछ । देश-विदेशबाट आउने अर्डरहरु सामाजिक सञ्जालकै करामत हो । भिडियो हेरेर रेग्मीको सामाखुसीबाट टोखा जाने बाटोको पुस्तक पसलमा दैनिक दर्जनौं ग्राहक आइपुग्छन् ।

कुराकानीको क्रममा म पुग्दा रेग्मी कारोबारमै व्यस्त थिए । भिडियो हेरेरै आफ्नो बच्चालाई बाल पुस्तक किन्न आएका एक व्यक्ति पुस्तकहरु छानिरहेका थिए । ती ग्राहकको हातमा थिए, गिजुभाइलगायत दिग्गज लेखकका नेपाली अनुवादहरु ।

त्यसैले त रेग्मी कुराकानीको सुरुमै सुनाउँछन्, ‘पुस्तकको व्यवसायिक भविष्य कहिल्यै सकिँदैन ।’

यसको गतिलो उदाहरण हो, सुविन भट्टराईको ‘इजोरिया’ । यो किताब रेग्मीले मात्रै १५-१६ हजार कपी बेचे । यो संख्यामा ५-६ हजार कपी अनलाइनबाट बिक्री भएको हो ।

मन परेको किताब आयो भने पढेर, समीक्षात्मक र जानकारीमूलक भिडियो बनाइहाल्छन् रेग्मी । उनले धेरै बेचेका पुस्तकमध्ये कुमार नगरकोटीको ‘जोगियाना’, ‘जे थर्टी-थ्री’, सुधीर शर्माको ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’, रमेश भुसालको ‘छालबाटो’ आदि छन् । ‘छालबाटो’बारे रेग्मी सुनाउँछन्, ‘यो किताब अरुले बेच्न सकिएन भन्छन् । मबाट त राम्रै गयो । यात्रा वृत्तान्तमा रमेश भुसालले यतिको सामग्री दिनसक्नु भनेको अति नै राम्रो हो ।’

रेग्मीले हरिबोल काफ्लेको ‘यशोधरा’ पनि राम्रै बेचे । कविताको बजार भने कमजोर छ । उनले उपेन्द्र सुब्बा, नवराज पराजुली, रमेश क्षितिज, बुद्धिसागरका कविता संग्रह ठीकठीकै बेचेका छन् । गैरआख्यान र आख्यानहरु बढी बेचेका छन् । डोरबहादुर विष्ट, टोनी हेगन, हर्क गुरुङका सबै किताब राम्रै बेचेका छन् । यस वर्ष मदन पुरस्कार पाएको मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुरस्कार पाउनुअघि नै राम्रो संख्यामा बेचेका थिए ।

मदन पुरस्कार पाएको विवेक ओझाको ‘ऐंठन’ राम्रै बेचे, तर मदन पुरस्कार प्राप्त ‘अग्नि’, ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज’ले राम्रो व्यापार गरेन । रेग्मी सुनाउँछन्, ‘पाठकको अपेक्षा एकातिर हुन्छ, पुरस्कार दिने जुरीको अपेक्षा अर्कोतिर ! चारपाँच जना जुरीले निधो गरेको कुरा लाखौंलाई मन नपर्न सक्छ ।’

किताब किरोमा बसेको किताबको लत

२०६५ सालतिरको कुरा हो ।

रेग्मी शिक्षक मासिक पत्रिकामा मार्केटिङ विभागमा काम गर्थे । पत्रिकाको सम्पादक थिए राजेन्द्र दाहाल । दाहाल र अन्य रिपोर्टरहरुले बोलेको देख्दा रेग्मी सोच्थे, ‘यस्तो गतिलो तर्क कहाँबाट ल्याउँछन् !’

दिनदिनै पत्रकारहरुसँग संगत हुँदा किताबका कुराहरु हुन्थे । पत्रिकामा पनि पेडागोजिकल कुरा त आउँथे नै । साथै शैक्षिक पेशामा नभएकाहरुको पनि ध्यान तान्ने खालका डा. तीर्थबहादुर श्रेष्ठलगायतका लेखहरु आउँथे । मार्केटिङमा हुनु, पत्रिका साथमै हुनुले रेग्मीलाई विस्तारै पुस्तक अध्ययनको लत लाग्दै गयो ।

पढ्दै गएपछि रेग्मीले अनुभूत गरे, ‘तपाईं किताब पढ्नुहुन्छ भन्ने कुरा तपाईंसँग व्यवहार गर्दा देखिन्छ । तपाईंले बोलिरहँदा तपाईंको शब्द छनोटमा विद्वता देखिन्छ । तपाईंको बोलीमा यसअघि कुन किताब पढ्नुभएको छ, त्यसको प्रभाव देखिन्छ । किनभने जसले जे जानेको छ, त्यो सरसती अरुलाई डेलिभरी गरिरहेको हुन्छ । त्यसैले त पढेको मान्छेलाई तपाईंको मुखमा सरस्वतीको बास छ भनिएको होला ।’

मार्केटिङ स्टाफ भएका कारण रेग्मीले मेची-महाकाली गरिरहनुपर्थ्यो । लामो समय यात्रा गर्नुपर्थ्यो । निदाउँदा र खाना खाँदाबाहेक बसको यात्रामा के गर्ने ? किताब पढ्ने ! सुर्खेतबाट कोहलपुर जाँदा उनले बीपी कोइरालाको ‘मोदी आइन्’ पढिभ्याए ।

‘यो किताबले बाल मनोविज्ञानको कुरा गर्छ । किताबले हारेको मान्छेको पनि इतिहास हुन्छ, तर लेखिन्न भनेको छ’, रेग्मी सुनाउँछन्, ‘यो किताबमा बाल मनोविज्ञान, श्रीमतीको श्रीमानसँगको सामिप्यता, धर्म दर्शन भेटाउँछौं । यसले मलाई एकदमै खिचेको थियो ।’

किताबहरु पढ्ने आदतमा परेका रेग्मीकै कारण गिजुभाइको ‘दिवास्वप्न’ किताब शिक्षक मासिकले छाप्यो । शरच्चन्द्र वस्तीको अनुवाद, दाहालको सम्पादन रहेको यो किताब अहिलेसम्म ५०-६० हजार कपी बिक्री भइसकेको छ ।

२०६८ सालमा निस्केको यो किताबको सन्दर्भ रोचक छ ।

एक साँझ दाहाल सम्पादनको काम गरिरहेका थिए । दाहालको टेबलमा एउटा पाण्डुलिपि थियो । रेग्मीको दिनभरिको काम सकिएको थियो । उनलाई हातले लेखेको उक्त पाण्डुलिपिको ह्यान्डराइटिङले खिच्यो । के रहेछ भनेर उनले पाण्डुलिपि पढ्न थाले ।

दाहालले रेग्मीको मन चोरे, ‘ए तारा, कस्तो लाग्यो त्यो ?’

‘यो कसले लेखेको हो, मलाई थाहा छैन । औपन्यासिक विषयवस्तु रहेछ । शिक्षकहरुलाई काम लाग्नसक्छ’, रेग्मीले भने ।

पछि किताब टाइप भएर आयो । एक दिन पत्रिकाका सीईओलाई दाहालले भने, ‘तारा सरलाई देखाउनु ।’ यसपछि पो रेग्मीले थाहा पाए, यो किताब वस्तीले अनुवाद गरेका रहेछन् । जसोतसो गरेर १० हजार कपी किताब छापियो । एक हप्तामै सबै किताब बिक्री भयो ।

बिक्रीको जिम्मा रेग्मीकै थियो । पत्रिका बेच्ने रेग्मी ‘दिवास्वप्न’बाट ‘किताब बेच्ने मान्छे’ भनेर चिनिन थाले । ‘शिक्षक’ मासिकका कारण रेग्मीको देशभरका १६८ जना बिक्रेतासँग सीधा सम्पर्क थियो, त्यही सम्पर्क काम लाग्यो ।

२०६८ सालमै भदौरे भेलले देशभर वितण्डा मच्चायो । पूर्व-पश्चिम राजमार्गका कैयौं ठाउँका पुल बगे । रुकमांगत कटुवालको आत्मकथा आएको थियो । प्रचण्ड र कटुवालको लफडाका कारण किताब चर्चामा थियो ।

बाढीले सामान ढुवानीमा असर गरेपछि बिक्रेताहरुले रेग्मीलाई भने, ‘शिक्षक मासिकसँगै त्यो कटुवालको किताब पनि हालिदिनु न !’ रेग्मीले एक हप्तामा चारपाँच हजार कपी किताब देशभर वितरण गरे । २०-२२ हजार तलबमा काम गरिरहेका उनले एकै सातामा लाख बढी कमाए ।

‘म नजानिँदो पाराले यो क्षेत्रमा प्रवेश गरें’, रेग्मी सुनाउँछन्, ‘योजनाबद्ध थिएन ।’

किताब नपढ्ने मार्केटिङ प्रतिनिधिलाई क्लायन्टले पत्याउँदैन

किताब पढेको र नपढेको मान्छेबीच के फरक हुन्छ ?

‘फरकको प्रमाण त म नै छु । विज्ञापनका लागि क्लायन्टहरुकहाँ जाँदा सजिलो भयो’, रेग्मी भन्छन्, ‘व्यापार गर्ने मान्छेले पढ्नैपर्ने रहेछ । अनि जो मान्छेले मार्केटिङ गर्छु भन्छ, उसले त झनै किताब पढ्नैपर्छ । किनभने मार्केटिङको दुनियाँमा तपाईंले कस्तो मान्छेको सामना गर्नुपर्छ, तपाईंलाई नै थाहा हुँदैन ।’

मानौं, कोही मार्केटर सामान्य तरिकाले क्लायन्टकहाँ गयो, तर क्लायन्ट बौद्धिक वर्गको पर्‍यो भने पनि एक सिटिङमै मार्केटरलाई अस्वीकार गरिदिने रेग्मीको अनुभव छ । रेग्मी सुनाउँछन्, ‘९९ प्रतिशत क्लायन्टले जहिल्यै मार्केटरलाई रिजेक्ट गरिदिन्छु भन्ने मानसिकता राख्दोरहेछ, तर मार्केटरले कतिको कन्भिन्स गर्नसक्छ ? त्यसैका आधारमा उसले व्यापार पाउने हो । त्यो कन्भिन्सिङ क्षमता किताबमा हुनसक्छ ।’

मानौं, कुनै कम्पनीको सीईओबाट व्यापार फुत्काउनु छ । मार्केटरलाई बिजनेस मोडेल थाहा छैन, तर प्रसंगैप्रसंगमा कुनै पुस्तकका कुरा निस्कियो । उक्त पुस्तकमा सीईओको पनि रुचि छ भने अब त्यो सन्दर्भले बिजनेसमा मसलाको काम गर्‍यो ।

रेग्मीको अनुभवले भन्छ, ‘किताब पढ्ने आदत भए मार्केटरले गर्ने कुराकानीमा आत्मविश्वास उच्च भएर जान्छ । वारेन बफेट, एलन मस्क जस्ता अर्बपतिहरुले आफ्ना कर्मचारीलाई फिक्सनको किताब पढ्न यसै हौस्याउने होइनन् ।’

विश्वविद्यालयको किताबले मात्रै एउटा व्यक्तिलाई नपुग्ने रेग्मीको भनाइ छ । किताब पढ्ने कर्मचारीसँग ग्राहकको दुःखसुखसँग खेल्ने क्षमता हुन्छ या क्षमता आख्यानले अलि बढी दिने रेग्मीको अनुभव छ । रेग्मी सुनाउँछन्, ‘मसँग काम गर्ने भाइहरुलाई मैले भन्ने गरेको छु कि किताब पढ्ने काम तिम्रो ड्युटीभित्र पर्छ ।’

रेग्मीले सुरु गरेको वितरकको यात्रा

वितरणकै काम रेग्मीले २०७१ सालबाट सुरु गरे । त्यो पनि सानो कोठाबाट शून्य लगानीमा । त्यसवेला फाइन प्रिन्टले भट्टराईको ‘साया’ निकाल्ने तरखर गर्दै थियो । फाइन प्रिन्टका निरज भारीले भने, ‘तपाईंलाई किताब त दिन्छु, तर जोमसोम पुर्‍याउन सक्नुहुन्छ ?’

‘म सक्छु ।’

‘जिरीमा ?’

‘म सक्छु, तर तपाईंले भनेका ठाउँमा राम्रा पार्टीहरु छैनन् । किताबै पुर्‍याउन त सक्छु । पैसा नै आओस् भन्ने चाहनुहुन्छ भने मलाई दबाब नदिनू । म ७५ जिल्लामध्ये ६० ठाउँमा किताब पुर्‍याउँछु ।’

भारीले भने, ‘त्यसो भए भोलिबाट काम सुरु गर्नुस् ।’

फाइन प्रिन्टले एकै पटकमा १६ लाखको किताब रेग्मीलाई पठाइदियो । उनी धापासीमा दुई कोठामा बस्थे । प्यासेजमा बाइक राख्थे । बाइकलाई बाहिर राख्न सुरु गरे । प्यासेजमा पनि किताब नै राखे । यसैगरी ६ वर्ष चले । यसपछि बाहिर काउन्टर राखेर पसल सुरु गरे ।

किताबसँगको संगतले गर्दा रेग्मीसँग पढ्ने मान्छेहरु ठोक्किन सुरु गरे । ती मान्छेहरु तर्कसंगत कुरा गर्थे । अरुलाई कन्भिन्स गराउन सक्ने क्षमता उनीहरुसँग हुन्थ्यो । यो सबै किताबको पानाले दिएको परिणाम थियो ।

रेग्मीलाई लाग्छ, किताबहरुमा अकाट्य तर्क भेटिन्छन् । किनभने किताब बन्ने क्रममा धेरै पटक परीक्षण भइसकेको हुन्छ । हरेक पानामा भाषिक शुद्धता, खदाइँ, सम्पादनका चरण हुन्छन् । लेखकले ३०० पेजको किताब चारपाँच वर्ष लगाएर लेखेका हुन्छन् । अनि पढ्दै जाँदा कन्भिन्स नहुने भन्ने कुरै हुँदैन । कन्भिन्स भएको कुरा जीवनमा सदुपयोग हुन्छ ।

प्रयोग गर्न जान्दा सञ्जाल अभिशाप होइन

बितेको दुई वर्षदेखि रेग्मीले पूर्व-पश्चिम यात्रा गरेका छैनन् । डिजिटल दुनियाँ र पढ्ने पाठकहरुको विदेश पलायनले उनको काठमाडौं बाहिरको भौतिक बजार ध्वस्त भइदियो । सामान्य पसलले पनि वार्षिक रुपमा दुई लाखको व्यापार गर्थ्यो । अहिले ठूलो कारोबार गर्ने पसलले पनि दुई लाखको व्यापार गर्दैन ।

अरुलाई जस्तै रेग्मीलाई पनि लाग्थ्यो, फेसबुक, टिकटकले मान्छेलाई डाइभर्ट गरिदियो । उनी टिकटक देख्यो कि इरिटेड हुन्थे । चलाउने मान्छे देख्दा वेफ्वाँकमा समय खेर फाले जस्तो लाग्थ्यो ।

‘भाइबहिनीले टिकटक चलाएको देख्दा रिसाउँथे । उनीहरुलाई किताबतिर डाइभर्ट गर्न खोज्थें, तर लगभग निस्काम हुन्थें’, रेग्मी सुनाउँछन् ।

रेग्मीले अर्को कोणबाट सोचे, सबै मान्छे सञ्जालमै झुण्डिएका छन् । यो दुनियाँमा खराब मान्छेमात्रै पक्कै छैनन् । ‘मलाई सबै मान्छे किन चाहियो र ! थोरै मान्छेमा भए पनि पुगें भने भइहाल्यो भनेर किताबको महत्व झल्काउने खालका सकारात्मक भिडियो टिकटकमा हाल्न थालें’, रेग्मी सुनाउँछन् ।

यसपछि त के चाहियो ! दुईतीन भिडियोले नै हजार फलोअर्स कटाइदियो । लाइभ बस्न मिल्ने भइदियो । रेग्मीको लाइभ हेरेरै कतार बस्ने एक पाठक रेग्मीको पसल खोज्दै आइपुगे । अनि पो रेग्मीले महसुस गरे, पढ्ने मान्छेहरु त बाहिर गएका छन् !

विस्तारै देशभित्र बाहिरबाट अनलाइन अर्डर आउन थाल्यो । रेग्मीले पनि किताबहरुको प्रचार गर्न थाले । किताबबारे बोल्दा कसलाई बेफाइदा छ र ! प्रकाशक र लेखकलाई घाटै छैन । पाठकलाई घाटै छैन । एकपछि अर्को भिडियो बनाउन थाले ।

लेखकहरुलाई पनि टिकटक बनाउन प्रोत्साहित गर्न थाले । रेग्मीले दसैँतिहारको वेला सुविन भट्टराईलाई भने, ‘दाजुभाइलाई किताब दिने स्किम बनाएको छु । के बोल्ने, मलाई आएन । तपाईंले लेखिदिनु पर्‍यो ।’

भट्टराईले लेखिदिए र आफैंले पनि टिकटक आइडी बनाए । त्यही वर्ष उनको ‘इजोरिया’ आउँदै थियो । टिकटकले नै ‘इजोरिया’को प्रमोसनमा ठूलो सहयोग गर्‍यो । रेग्मी सुनाउँछन्, ‘सञ्जाललाई प्रयोग गर्न जान्दा यो अभिशाप होइन । हाम्रा लेखकहरु पुरानै ढर्राको हुनुहुन्छ । सञ्जाललाई प्रतिद्वन्द्वीकै रुपमा लिनुहुन्छ, त्यो गलत हो । म पनि त कुनै समय गलत रहेछु नि त !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर