साफ च्याम्पियनसिप फाइनल : नेपाललाई खतरा बन्न सक्छन् बंगलादेशका यी दुई खेलाडी – Nepal Press

साफ च्याम्पियनसिप फाइनल : नेपाललाई खतरा बन्न सक्छन् बंगलादेशका यी दुई खेलाडी

काठमाडौं । २५ महिना अगाडि दशरथ रंगशालामै साफ च्याम्पियनसिपको फाइनल भिडेका थिए नेपाल र बंगलादेशको टीमले । त्यो फाइनलअघिका ३ वटै खेलमा जितेको र फिफा वरीयतामा पनि अगाडि रहेकाले नेपालले जित्ने धेरैको अनुमान थियो ।

तर, नेपालले हार्‍यो । बंगलादेश विजयी बन्यो । भारतबाहेकको पहिलो साफ महिला च्याम्पियनसिपको ताज बंगलादेशले पहिरियो ।

साविक विजेता बंगलादेशकी कप्तान सविना खातुनले यसपटक प्रतियोगिताका लागि हिँड्ने बेला उपाधि दोहोरिएला ? त भन्ने प्रश्नमा मिश्रित उत्तर दिएकी थिइन् ।

बङ्गलादेशी मिडिया दि मिरर एसियाका अनुसार गत अक्टोबर १४ सोमबार बंगलादेशको बंगलादेश फुटबल फेडरेसनको भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मलाई हामी उपाधि रक्षा गर्छौँ वा गर्दैनौँ थाहा छैन । तर, यो धेरै चुनौतीपूर्ण काम हुनेछ ।’

सविनाले भनेको चुनौतीको अन्तिम घडी आज हो । त्यो चुनौती नेपाललाई पनि हो । सन् २०२२ को फाइनलमा नेपाललाई तीन गोल गर्ने दुई खेलाडी अहिले पनि टोलीमा छन् । दुई गोल गर्ने कृष्णरानी सरकार र एक गोल गर्ने सामसुन्नाहार जुनियर आजको फाइनलमा पनि समावेश छिन् ।

सामसुन्नाहारले पाकिस्तानविरुद्ध यो संस्करणमा पनि गोल गरेकी छिन् । यस संस्करणका खेलहरू हेर्दा नेपाली टीमको मुख्य चुनौतीको रूपमा बंगलादेशका २ खेलाडीलाई लिन सकिन्छ । उनीहरू हुन्- सविना खातुन र ताहुरा खातुन ।

सविना खातुन

नेपालले सन् २०२२ सेप्टेम्बरको साफ च्याम्पियनसिप घरेलु मैदानमा हार्दा प्रतियोगिताका सबै अवार्ड बंगलादेशको पोल्टामा गयो । उकृत्ट गोलकिपर बंगलादेशकी रुपा चक्मा भइन् । फेयर प्ले अवार्ड बङ्गलादेशी टोलीले पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोलकर्ता सविना खातुन नै थिइन् । सन् २०१५ बाट बंगलादेशको कप्तानी गरेकी सविनाले बंगलादेशी तथा भारतीय क्लबहरूको अनुभव लिएकी छन् । विद्यार्थीकालबाटै खेल क्षेत्रमा जोडिएकी उनी आफ्नो देशको पुरुष तथा महिला दुवैतर्फकी सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन् ।

यो संस्करणको साफ प्रतियोगितामा उनले भुटानसँग सेमिफाइनलमा २६ र ३७ मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिएकी थिइन् ।

ताहुरा खातुन

यो संस्करणमा समूह चरणमा भारतलाई ३-१ ले पराजित गर्दाका दुई गोल ताहुराकै थिए । उनले २९ र ४२ औं मिनेटमा दुई गोल गरेकि थिइन् । यस्तै सेमिफाइनलमा भुटानसँगको ७-१ को जितमा पनि ताहुरा चम्किइन् ।

१५, ३५ र ५८ मिनेटमा गोल गरेर ताहुरा ह्याट्रिक गर्न सफल भइन् । बङ्गलादेशकी धेरै गोल गर्ने खेलाडीमा पर्ने ताहुरालाई आफूले गरेका गोलमा सबैभन्दा धेरै मन परेको गोल सिंगापुर र अष्ट्रेलियाविरुद्धको गोल मान्छिन् ।

बंगलादेशी अखबार ढाका ट्रिव्यूनलाई गत मेमा दिएको एक अन्तर्वार्तामा उनले आफ्नो देशभन्दा धेरै शक्तिशाली फुटबल टोली सिंगापुर र अष्ट्रेलियालाई गोल गर्न पाउनुमा खुशी लागेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *