माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना – Nepal Press

माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

काठमाडौं । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ ।

अध्यागमन कार्यालयको औपचारिक उद्घाटन भर्खरै भइसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो ।

भर्खरै मात्रै गृहमन्त्री रमेश लेखकले उक्त कार्यालयको स्थापना गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अध्यागमन कार्यालय स्थापना भएपछि भिसा लगाएर नाका वारपार गर्न सकिने भएको छ ।

अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।

प्रशासनका अनुसार कार्यालय सञ्चालनमा आएपछि आवश्यक वस्तु आयात र निर्यात दुवै सहज हुने भएको छ । विशेष गरी भेडा च्याङ्ग्रा आयात निर्यातमा सहज हुनुका साथै नाकामा आवतजावत तथा व्यापारिक कारोबार सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रशासन कार्यालयका अनुसार चिनियाँ भन्सारको आमनेसामने पारेर १० कोठे अध्यागमन तथा सुरक्षा पोष्टको भवन बनाइएको छ ।

आवश्यक पूर्वाधार निर्माण गरी कोरला नाकाबाट एकीकृत सेवा दिने तयारी गरिएको छ । नेचुङ भन्सार कार्यालयलाई पनि अध्यागमन कार्यालयसँगै राख्ने तयारी भएको सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर