सरकारको आयुबारे प्रश्नविनै प्रधानमन्त्रीले दिइराखेको जवाफ – Nepal Press

सरकारको आयुबारे प्रश्नविनै प्रधानमन्त्रीले दिइराखेको जवाफ

कांग्रेस भन्छ- यो सरकारको विकल्प खोज्न लाग्दैनौं, माओवादी भन्छ- सरकार ढाल्ने खेलमा छैनौं

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले हालै एक भाषण गर्दै प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदैन भनेर स्पष्टीकरण दिनुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

राष्ट्र बैंक कर्मचारीहरूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो प्रसंग यसरी निकालेका थिए:

‘राजनीतिकर्मीहरूले अर्को चुनावको बारेमा सोच्छन्, त्यसैले हामीले २०८४ भनिरहेका छौं, तर राजनेताहरू अर्को जेनेरेसनको बारेमा सोच्छन् । हामीकहाँ त अर्को चुनावको बारेमा सोच्ने पनि सुविधा छैन । प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिन्न भनेर बताइराख्नुपर्ने अवस्था छ । त्यसैले अर्को चुनाव होइन, अर्को सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेका छन् ।’

गगनले भने जस्तै नै छ अवस्था । राजनीतिक अस्थिरता बढेको निष्कर्षसहित प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएको चार महिनामात्र भयो, तर प्रधानमन्त्री केपी शर्मा ओली हरेकजसो भाषणमा ‘सरकार नढल्ने’ अभिव्यक्ति दिइरहेका छन् । सरकार परिवर्तन हुने कुनै ठोस चर्चाविना पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आउनु अर्थपूर्ण मानिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्नको लागि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेसभित्र अहिले असन्तुष्टि चर्किंदो छ । कांग्रेसभित्रको असन्तुष्टि र विपक्षी दलहरुको बढ्दो मोर्चाबन्दीपछि प्रधानमन्त्री ओली आफैंले सरकारको भविष्यबारे विश्वास दिलाउनुपर्ने अवस्था आएको हो ।

ओलीपछि २०८४ को निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाले गराउनेगरी सत्ता हस्तान्तरणको सहमति भएको थियो । दुवै दलले अहिलेसम्म यो सहमतिबाट पछि हट्ने कुनै पनि संकेत दिएका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले त सार्वजनिक रुपमा नै टिप्पणी गरे ।

‘यो सरकारको १०० दिन राम्रो भयो, दुई वर्षपछि म प्रधानमन्त्री बन्ने सहमति छ’, देउवाले एक कार्यक्रममा भनेका थिए ।

प्रधानमन्त्री ओलीले पनि यही कुरा दोहोर्‍याएका छन् । प्रहरी दिवसको अवसर पारेर गत बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले २ वर्षे आफ्नो कार्यकाल पूरा हुनेबित्तिकै देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए ।

ओलीको भनाइ थियो, ‘अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे ! कुन दशैँपछि ? २०८४ सालको दशैँ-तिहारपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु । मेरो एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफैं फेरिन्छ यो सरकार ।’

ओली त्यतिमै रोकिँदैनन् । विपक्षी दलहरुले मोर्चाबन्दी बढाउँदै सडक केन्द्रित आन्दोलन तय गरेपछि उनले सत्ता साझेदार दलहरुको बैठक राखेर संयुक्त वक्तव्यसमेत जारी गराइसकेका छन् ।

माओवादीले शनिबार सरकार असफल भएको निष्कर्षसहित काठमाडौंमा खबरदारी सभा गर्‍यो । चौंथो दल रास्वपा पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै सडक आन्दोलनमा छ । राप्रपाले पनि चाडपर्व सकेलगत्तै वर्तमान व्यवस्थाविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ ।

सत्तारुढ दलभित्रको असन्तुष्टि र विपक्षी दलहरुको मोर्चापछि सत्तापक्षका सात दलको शुक्रबारको बैठकले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको निष्कर्ष निकालेको थियो ।

‘कांग्रेस विकल्प खोज्ने पक्षमा छैन’

गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको दाबी गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हल्लाका पछाडि कुनै तर्क र अर्थ नभएको बताए ।

उनको भनाइ थियो, ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ, आज बदलिन्छ, भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडि बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस अहिलेको गठबन्धनको विकल्प खोज्ने पक्षमा नरहेको दाबी गरे ।

उनले भने, ‘कांग्रेसऔएमालेबीच कुनै खटपट छैन । विपक्षीहरुले सरकार ढल्दैछ भनेर भ्रम चलाएका हुन् । कांग्रेसले यो सरकारलाई साथ दिएसम्म अर्को सरकारको विकल्प हुँदैन ।’

उनले दुई ठूला पार्टीबीच भएको सहमति कार्यान्वयन गरेर सहकार्यलाई २०८४ सम्म लैजाने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सरकारको सय दिन असफल भए पनि तत्काल ढाल्ने पक्षमा नरहेको प्रष्टीकरण दिएका छन् ।

प्रचण्डको भनाइ छ, ‘सरकारले सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनसाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्नेभन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ, तर यो सरकारले राम्रो गरिरहेको छैन ।’

‘भ्रम सिर्जना गरेपछि प्रधानमन्त्रीले जवाफ दिनुभएको हो’

एमालेका मुख्य सचेतक महेश बर्तौला विपक्षीहरुले सरकार ढल्दैछ भन्ने हल्ला चलाएपछि प्रधानमन्त्री ओलीले जवाफ दिएको बताए ।

उनले भने, ‘विपक्षी दलका नेताहरु सरकार बनेदेखि आजसम्म सरकार आजै ढल्छ, भोलि ढल्छ, सरकारमा भएका दलहरुबीच अविश्वास बढ्यो, काम गर्न सकेन भनेर हरेक दिन सरकारको आयु तोकेर जनतामा भ्रम सिर्जना गर्ने, निर्णय प्रक्रियाको सन्दर्भमा अस्थिरता पैदा होस् भन्नेखालको वातावरण सिर्जना गर्ने काम विपक्षीहरुबाट भइरहेको छ । त्यसकारण प्रधानमन्त्रीले बाहिर यस्तो विषय उठेको छ, तर वास्तविकता यो हो भनेर भन्नुभएको हो ।’

सरकार सात बुँदे सहमतिअनुसार चलेको भन्दै उनले यही गठबन्धनले नै आगामी निर्वाचन गराउने दाबी गरे ।

उनले थपे, ‘यो शीर्ष नेताहरु नै सरकार गठनको लागि सहमत भइसकेपछि अरुको इच्छा, आकांक्षा पूरा भए भएन भन्ने कुराको अर्थ हुँदैन । यो सरकारलाई सहमतिअनुसार पूरै कार्यकाल चलाउने सहमति भएपछि बाँकी कुराले केही अर्थ राख्दैन । सत्ता साझेदार दलहरुबीच कुनै पनि असमझदारी छैन । सरकार निर्माण गरेको सय दिनमात्रै भएको छ । ठूलो विपद्को सामना गर्नुपर्‍यो । सरकारले कामको गति लिँदैछ ।’

दल विशेष नेताहरुले उठाएको सुझावलाई अविश्वासको रुपमा बुझ्न नहुने उनले बताए । गठबन्धनको सरकार हुँदा दलगत असन्तुष्टि आउनु स्वाभाविक भएको बर्तौलाको भनाइ छ ।

कांग्रेसमा देखिएको असन्तुष्टिबारे बर्तौलाले भने, ‘आफूले चाहे जस्तो हुँदैन । त्यसो त एमालेलाई पनि अर्को दलले नेतृत्व गरेको मन्त्रालयबाट यस्तो भइदिएको भए हुुन्थ्यो भन्ने लाग्छ । यस्ता सुझावलाई सकारात्मक रुपमा लिनुपर्छ । विविधताको बीचमा शीर्ष तहमा समझदारी गरेर एकताबद्ध भएर अघि बढ्नुपर्छ । संसदको गणित यस्तै छ ।’

‘कांग्रेसलाई थामथुम पार्ने प्रयास हो’

राजनीतिक विश्लेषक चन्द्रकिशोरले प्रधानमन्त्रीले सरकारको आयु तोकेर कांग्रेसलाई थामथुम पार्न खोजेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘उहाँ शक्तिशाली बहुमतको प्रधानमन्त्री बने पनि काम देखाउन सक्नुभएको छैन । यो गठबन्धनको औचित्य पुष्टि गर्न एउटा सैद्धान्तिक आवरण दिन खोजिएको छ । यो सय दिनसम्ममा पनि त्यो देखाउन सक्नुभएको छैन । त्यसैले आफ्नो असफलतालाई ढाकेर म यति दिनसम्मको लागि हो, त्यसपछि अर्को मान्छे आउँछ भन्नुबाहेक अरु विकल्प छैन ।’

उनले कांग्रेसलाई विश्वास दिलाएर प्रधानमन्त्री ओलीले आफ्नो असफलता ढाक्न खोजेको दाबी गरे ।

उनले थपे, ‘विदेशी शक्तिहरुलाई पनि म रहने हो, नभए मेरो समर्थन रहेको व्यक्ति भनेर मुुखर सन्देश दिन खोजेका छन् ।’

‘सडकबाट दबाब बढ्दैछ, कांग्रेसले विकल्प खोज्नसक्छ’

अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि बढ्दै गइरहेको टिप्पणी गरे । दुई ठूला दल मिलेर सरकार गठन गरेको भए पनि जनतामा देखिएको निशारा चिर्न नसकेको उनको बुझाइ छ ।

आचार्यको भनाइ जस्ताको तस्तै

दुई तिहाइको सरकार छ । सबैभन्दा ठूलो पार्टीले समर्थन गरेको हुँदा पनि जनता खुशी छैनन् भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा छ । जनतामा अहिले निराशा र आक्रोश बढ्दै गइरहेको छ । संसदको गणितले होइन, जनताको आक्रोशले सरकार जाला कि भन्ने डर बढेको देखिन्छ । त्यो त सडकबाट हुनसक्छ ।

विभिन्न बहानामा अहिले पनि सडक तातिरहेको छ । चाडपर्वपछि झन् तात्नसक्छ । उहाँले प्राविधिक रुपमा आफ्नो सरकार ठीक छ भनिराख्नुभएको छ, तर जनताले यो सरकारले काम गरेन भनिराखेकै छन् । उहाँको पार्टी र कांग्रेस पनि सरकारले राम्रो काम गर्‍यो भनेर बाहिर आइरहेको छैन । उहाँको पार्टीभित्र पनि आक्रोश बढ्दो छ । त्यसैले उहाँ आफैं सरकार ठीक छ भनेर निस्किनुभएको छ, जब सत्तामा भएकाहरु सरकार ठीक छ भनेर निस्कन्छन्, बुझिहाल्नुपर्छ सरकार बेठीक छ भनेर ।

पहिला पञ्चायत सिद्धिने बेलामा पनि त्यही भन्थे । अहिले कांग्रेस-एमालेले पनि डेलिभरी गर्न सकिरहेका छैनन् । अहिले दशैंतिहार नभएको भए सडकबाट सरकार फालिने अवस्था बनिसकेको थियो । यो चाडपर्वको कारणले रोकिएको छ । भोलि के हुन्छ भन्न सकिँदैन । उहाँले प्राविधिक रुपमा ठिकै भन्नुभएको छ । संसदको गणितको कुरा हो, तर संसदको गणितलाई जनताले पत्याउने अवस्था बनेको छैन ।

कांग्रेसभित्र यो सरकारप्रति व्यापक असन्तुष्टि छ । शेखर समूहले त घोषित रुपमै विरोध जनाइराखेको छ, शेरबहादुरकै समूहभित्र पनि धेरै असन्तुष्ट छन् । कांग्रेसले अब आफ्नो पनि वर्चस्व गुम्न लाग्यो भने विकल्प खोज्नसक्छ ।

एकथरी नेताहरुलाई त्यो लागिसकेको छ । यो चाडपर्वको माहोल सकिएपछि अर्कोथरीलाई पनि लाग्यो भने कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउन अर्को गठबन्धन बनाइहाल्छ ।


प्रतिक्रिया

One thought on “सरकारको आयुबारे प्रश्नविनै प्रधानमन्त्रीले दिइराखेको जवाफ

  1. प्रचण्डले बारम्बार बेईमान गरेर दलहरूप्रति नै वितृष्णा फैलाईरहेकाले त्यसलाई चिर्न भन्नु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *