डा. उप्रेतीलाई मन्त्रालय तान्ने पत्र तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आर्थिक लेनदेनको आरोप लगाउँदै मन्त्रालय तानिएका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलाई काम काज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
उनीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रालयमा उजुरी परेको कारण छानबिनका लागि उनलाई मन्त्रालयमा हाजिर हुन शुक्रबार पत्र लेखिएको थियो ।
आफूले कोही व्यक्तिसँग पनि त्यस प्रकारको लेनदेन नगरेको भन्दै उप्रेतीले नियमित कामकाज गर्न पाउनुपर्ने माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार अन्तरिम तथा कारण देखाउ आदेश जारी गरेको छ । उक्त आदेशअनुसार अब उनले नियमित रुपमा बोर्ड सचिवालयको कार्यसम्पादन गर्न पाउने भएका छन् ।