नमुना दीप कप भलिबलमा लिखु तामाकोशी गाउँपालिका च्याम्पियन
रामेछाप । नमुनादीप कप भलिबल प्रतियोगिताको उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ । बुधबार अरुणोदय मावि सैपुमा लिखु तामाकोशी गाउँपालिका ‘ए’ले ओखलढुंगालाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
पहिलो सेट १९-२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५-२१, २५-२१ र २५-२२ अंक ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिए । मंगलबार दुवै टीमले २-२ सेट जितेका थिए, तर बाँकी खेल खेलाउन अँध्यारो भएपछि बुधबार खेलाइएको हो ।
प्रतियोगिताको विजेता लिखु तामाकोशीले १ लाख १ हजार ५०० र उपविजेता ओखलढुंगाले ७५ हजार ५०० रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल पाएको सहसचिव निरज पौडेलले जानकारी दिए ।
उनका अनुसार दशौं संस्करणको नमुनादीप कपमा गोकुलगंगा गाउँपालिका रामेछापले तृतीय स्थान हासिल गरेको छ । मंगलबार लिखु पिके गाउँपालिका सोलुखुम्बुलाई सोझो सेटमा पराजित गर्दै गोकुलगंगा तृतीय भएको हो । तेस्रो हुने टोलीले शिल्डसहित ५० हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
विधागत रुपमा लिखु तामाकोशी गाउँपालिकाका विशाल ढुंगेल बेस्ट स्पाइकर, सागर तामाङ बेस्ट लिब्रो, रोशन मगर सर्वोत्कृष्ट खेलाडी र लिखु ओखलढुंगाका युवराज श्रेष्ठ उत्कृष्ट सेटर तथा गोकुलगंगाका विवेक कार्की बेस्ट ब्लकर बने । उनीहरुले नगद ३ हजारसहित शिल्ड प्राप्त गरे ।
प्रतियोगिताका लागि एमाले नेता रत्न गौतमले सबैभन्दा धेरै दुई लाख रुपैयाँ सहयोग गरेका थिए । पालिकास्तरीय प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सघाउने र लिखु क्षेत्रमा खेल पर्यटन विकास गर्न भलिबल आयोजना गरेको क्लबले जनाएको छ । क्लबले विभिन्न दाताहरुसँग रकम संकलन गरेर प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा रामेछाप, ओखलढुंगा, सोलुखुम्बु र दोलखा जिल्लाका १२ टीम सहभागी थिए । प्रतियोगितामा लिखु गाउँपालिकाबाटै ३ वटा टीम दर्ता भएको थियो ।
यसैबीच क्लबले बुधबार बिहान गरेको टग अफ वार प्रतियोगितामा अरुणोदय मावि विजयी भएको छ । लिखु गाउँपालिकालाई हराउँदै अरुणोदय माविको टीम विजयी भएको हो । टग अफ वारका विजेताले २० हजार र उपविजेता टोलीले १० हजार नगदसहित शिल्ड पाए ।